२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

९ हजारभन्दा बढी घरधुरी खानेपानी सुविधाबाट वञ्चित

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका १५ ढारखानीकी देवकली घर्तीलाई एक गाग्री पानी ल्याउन दुई घण्टा खर्चिनुपर्ने बाध्यता छ । कालिमाटी गाउँपालिकाको लक्ष्मीपुर बयालेकी डिल्ली भण्डारीलाई पनि खानेपानीको जोहो गर्न शारदा नदीको किनारसम्मै पुग्नुपर्ने बाध्यता छ ।

९ हजारभन्दा बढी घरधुरी खानेपानी सुविधाबाट वञ्चित

उनलाई नदीमा गई पानी भरेर घरसम्म पुर्‍याउन तीन घण्टाभन्दा बढी समय लाग्छ । उनीहरू मात्र होइन यहाँका अधिकांश स्थानीयवासी खानेपानी समस्याका कारण लामो समयदेखि सास्ती भोग्न बाध्य छन् । जिल्लामा करिब ९ हजारभन्दा बढी घरधुरी खानेपानी समस्याबाट प्रभावित रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

बन्गाड कुपिण्डे नगरपालिकास्थित मैदुकी आइती बोहराले साविकको जिविसले निर्माण सुरु गरेको खानेपानी योजना अलपत्र परेपछि आफूहरू डेढ दशकदेखि एक घण्टा टाढाको मुहानबाट खानेपानीको जोहो गर्नुपर्ने बाध्यतामा रहेको बताइन् । उनका अनुसार टाढाको मुहानबाट ल्याएको पानी अडलेर खानुपर्ने बाध्यता छ । जिल्लाका ४६ हजार ३ सय ४२ घरधुरीमध्ये ३७ हजार १४ परिवारलाई मात्र आधारभूत खानेपानी सुविधा पुगेको छ । ९ हजार ३ सय २८ परिवारलाई खानेपानीको समस्या रहेको कार्यालयले जनाएको छ । खानेपानी समस्याका कारण अधिकांश स्थानीयहरू खोलाको दूषित पानी उपभोग गर्न बाध्य छन् । विगतमा सञ्चालित योजनाहरू सबै जीर्ण भए पनि मर्मत गर्नेबारे सरकारी निकाय मौन रहेको स्थानीयको गुनासो छ । यहाँका दुई दर्जनभन्दा बढी बस्ती नजिकैका पानीका मुहानहरू सुकेका छन् ।

तीन नगरपालिका र सात गाउँपालिका रहेको सल्यानका अधिकांश बस्ती डाँडामा भएकाले अधिकांशमा खानेपानी समस्या छ । जिल्लामा अहिलेसम्म ३५ वटा आयोजना र सात सयभन्दा बढी योजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । डिभिजन प्रमुख गुणनिधि पोख्रेलका अनुसार तीमध्ये धेरै जीर्ण भएका छन् । मर्मतमा कम बजेट विनियोजन हुँदा खानेपानीको समस्या भएको उनको भनाइ छ । जिल्लामा आर्थिक वर्ष २०४३/४४ सालमा विश्व बैंकको आर्थिक सहयोगमा ठूला योजना सञ्चालन भएका थिए । ती सबै मर्मतको अभावमा जीर्ण भएका उनले बताए । उनका अनुसार जिल्लाभर तीन सयभन्दा बढी योजना जीर्ण छन् । यो वर्ष कार्यालयले २४ वटा योजना सञ्चालनमा ल्याएको जनाएको छ । त्यसमध्ये पाँच योजना लिफ्ट सिस्टमका छन् ।

जिल्लाका अधिकांश ठाउँमा जथाभाबी सडक निर्माण गर्ने गरिएकाले समेत खानेपानीका मुहानमा असर परेको कर्मचारीको भनाइ छ । केन्द्रबाट खानेपानी योजनाका लागि आएको ३ करोड बजेट यो वर्ष स्थानीय तहमा गएको कार्यालयले जनाएको छ । शारदा नगरपालिकाभित्र खानेपानी योजनाका लागि एक करोडभन्दा बढी बजेट विनियोजन गरेको नगरप्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार धेरै ठाउँमा योजना सम्पन्न हुने तयारीमा छन् । बन्गाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुनका अनुसार नगरमा खानेपानी योजना सञ्चालनका लागि यस वर्ष १ करोड ५५ लाख रकम छुटयाइएको छ । त्यस्तै ढोडचौर गाउँपालिकाले १ करोड ७५ लाख, कुमाख गाउँपालिकाले १ करोड ८६ लाख, कालिमाटी गाउँपालिकाले १ करोड रकम खानेपानी योजनाका लागि विनियोजन गरेका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?