१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

एक महिनामै रोकिए ५ बालविवाह

कान्तिपुर संवाददाता

रुकुम (पश्चिम) — सानीभेरी गाउँपालिका–८, का १६ वर्षीय एक किशोर र सोही गाउँपालिका–२, की १५ वर्षीया एक बालिकाबीच फागुन २६ गते बिहे भयो । भोजभतेरसहित गरिएको उक्त बिहे एक दिनभन्दा बढी टिकेन ।

भोजभतेरसहित बाल विवाह भएको जानकारी स्थानीय जनजागरण बाल क्लबका सदस्यहरूले थाहा पाएपछि उक्त बिहे रद्द भयो । बाल क्लबका सदस्यहरूले प्रहरी चौकी सिम्लीमा बाल विवाह भएको जानकारी गराएपछि प्रहरी र बाल अधिकारकर्मीको रोहबरमा भएको छलफलपछि दुवैको २० वर्ष उमेर नपुगेसम्म बिहे नगर्न तयार भए । बालबालिका तथा बाल क्लबका सदस्यको कारण बालविवाह रोकिएको यो पहिलो र एक मात्रै बाल विवाह भने होइन । फागुन महिनाभित्रै यो सहित ५ वटा बाल विवाह बालबालिकाको सक्रियताको कारण रद्द भएका छन् ।

फाुगन २१ गते सोही गाउँपालिकाका विभिन्न २ ठाउँमा भएका २ वटा बाल विवाह रद्द भए । त्यसैगरी फागुन १३ एउटा र १४ गते अर्को बाल विवाह पनि बालबालिकाकै कारण रोकिएको छ । सानीभेरी गाउँपालिकामा गठित विभिन्न बाल क्लबमा आबद्ध बालबालिकाले नै बाल विवाह भएको थाहा पाएपछि अभिभावक र प्रहरीलाई खबर गर्ने गरेका छन् । प्रहरी चौकी सिम्लीका प्रहरी सहायक निरीक्षक गगनसिङ ठकुरीले पछिल्लो समय बालबालिकामा बाल विवाह गर्नुहुन्न भन्ने सिकाइ बढ्दै गएको बताए ।

उनले फागुन महिनाभित्रै ५ वटा बाल विवाहमा सरिक भएका तथा हुन लागेका १० जना बालबालिकालाई आमाबुवाको जिम्मा लगाइएको बताए । ‘२० वर्षमुनि बिहे गर्नु कानुनविपरीत हुन्छ,’ प्रसनि ठकुरीले भने, ‘हामीले पनि बाल बिहे गर्ने र गराउनेलाई कानुनी परामर्शको साथै स्वास्थ्य परामर्श पनि दिएर कन्भेन्स गर्ने गरेका छौं ।’ उनले बाल बिहे भएको थाहा पाउने बालबालिकाले नै प्रहरी चौकीमा खबर गर्ने गरेको बताए । ‘अभिभावकले सकेसम्म लुकाउन प्रयास गरिरहनुभएको हुन्छ, तर कतिपय बालबालिका धेरै तगडा छन्, थाहा पाउनेबित्तिकै हामीकहाँ खबर पुर्‍याउँछन्,’ ठकुरीले भने ।

सानीभेरी गाउँपालिकामा गठित बाल क्लव तथा वडा बाल संरक्षण समितिको सक्रियताका कारण पछिल्लो समय बाल बिहे घट्दै गएको छ । कतै बाल बिहे भैहाले पनि त्यसलाई रोक्न बाल क्लब सक्रिय रहेका छन् । रुकुमेली समाज विकास केन्द्रको सहजीकरणमा गठित बाल क्लबका सदस्यहरू बाल बिहे न्यूनीकरणमा सक्रिय भएर लागेका छन् । ९ नम्बर वडाको बाल क्लबका अध्यक्ष हिमान्सु विकले बाल विवाह गरेपछि हुने बेफाइदाका बारेमा जानकारी पाएपछि बाल विवाह रोक्ने अभियान नै चलाएको बताए । उनले बेलाबेलामा लिइएको तालिमले यस्तो अभियानमा लाग्ने हौसला मिलेको बताए ।

केन्द्रका बाल संरक्षण अधिकृत रामप्रसाद केसीले बालबालिकाको सक्रियताको कारण बाल विवाह गर्दा अप्ठयारो पर्छ भन्ने सन्देश फैलिरहेको बताए । अन्यत्रको तुलानामा सानीभेरी गाउँपालिकामा बाल बिहे घट्दै गएको उनको भनाइ छ । ‘अन्यत्र भएका घटना बाहिर नआएका हुन सक्छन्,’ केसीले भने, ‘यहाँ सबै घटना बाहिर ल्याउन बालबालिका नै सक्रिय भएकाले यहाँ धेरै बाल विवाह भएको देखिए पनि सारमा बाल विवाह न्यूनीकरण हुँदै गएको छ ।’ बच्चाले नै बच्चा जन्माउनुपर्ने बाध्यताबाट टाढा रहन अभिभावक तथा अन्य सरोकारवाला निकाय जागरुक नभए बाल विवाह न्यूनीकरण हुन असम्भव रहेको उनको भनाइ छ । जिल्ला कल्याण समितिका बाल अधिकार अधिकृत मानवीर ओलीले जिल्लामा ५७ प्रतिशत बाल विवाह रहेको बताए । उनले चेतना अभाव र गलत मान्यताको आधारमा बाल बिहे भैरहेको बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?