कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

२० केन्द्रबाट स्वास्थ्य सेवा

रुकुम पश्चिम — आठबिसकोट नगरपालिकाले २० केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरेको छ ।

साबिकका आठबिसकोट, स्यालाखदी, गोतामकोट, आठबिस डाँडागाउँ, घेत्मा गाविस र मग्मा गाविसका २ वटा वडा मिसाएर बनाइएको उक्त नगरपालिकामा ५ वटा स्वास्थ्य चौकी र १५ वटा सहरी स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान भइरहेको हो ।

स्वास्थ्य चौकी भएका ५ वडामा पनि सहरी स्वास्थ्य केन्द्र स्थापना गरेर स्वास्थ्य सेवा प्रवाह भएको छ । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनलगत्तै नगरपालिकाले असोजदेखि स्वास्थ्य चौकीका साथै नगरका सबै वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको थियो । हाल २, ४, ९, ११ र १३ नम्बर वडामा स्वास्थ्य चौकी र एक/एक वटा सहरी स्वास्थ्य केन्द्र पनि सञ्चालनमा ल्याइएको छ । १, ३, ५, ६, ७, ८, १२ र १४ वडामा एक/एक सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । १० नम्बर वडामा भने २ वटा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ ।

भौगोलिक र जनसंख्याका आधारमा ठूलो रहेको १० नम्बर वडामा २ वटा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । सबै सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी खटाइएको नगर प्रमुख केसीले जानकारी दिए । ‘अनमी र अहेब नियुक्त गरेर आवश्यक आधारभूत औषधिसहित सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन्,’ नगर प्रमुख केसीले भने, ‘स–साना औषधि र प्राथमिक उपचारका लागि टाढा जान नपरोस् भनेर वडामै स्वास्थ्य सेवा सुरु गरिएको हो ।’

उनले हरेक सहरी स्वास्थ्य केन्द्रमा २७ भन्दा बढी थरीका औषधि नि:शुल्क वितरण भइरहेको पनि जानकारी दिएका छन् । ‘अब स्वास्थ्य केन्द्र खोज्दै बिरामीभन्दा बिरामी खोज्दै स्वास्थ्यकर्मी हिँड्ने अवधारणाबाट काम भइरहेको छ,’ नगर प्रमुख केसीले भने, ‘सहरी स्वास्थ्य केन्द्रमा खटेका स्वास्थ्यकर्मीहरू बिरामी आएनन् भनेर मात्रै बस्दैनन्, सन्चो/बिसन्चो सोध्दै हिँड्ने पनि गरेका छन् ।’ साधारण रोग, घटना/दुर्घटनाको उपचारका लागि टाढा हिँड्नु नपरोस् भनेर हरेक वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको भनाइ उनको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्यतर्फ एक करोड १५ लाख २० हजार बजेट विनियोजन गरेको छ, जसमध्ये २८ लाख ३० हजार बजेट औषधि खरिदका लागि मात्रै विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा १२ लाख मूल्य बराबरको औषधि खरिद भइसकेको आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । नगरका लागि एम्बुलेन्स खरिद, सहरी स्वास्थ्य केन्द्रको व्यवस्थापनका लागि फर्निचर निर्माण, ९ नम्बर वडाको राडीमा प्रसूति गृह निर्माण लगायतमा बजेट विनियोजन गरिएको र कतिपय काम भइसकेको अधिकृत केसीले बताए । एम्बुलेन्स केही समयमा आइपुग्ने र प्रसूति गृह निर्माणको काम पनि लगत्तै सुरु हुने उनको भनाइ छ ।

प्रकाशित : चैत्र २, २०७४ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?