बादी समुदायको घर निर्माण अलपत्र

हालसम्म १० वटामात्रै घर निर्माण हुन सकेका छन्

रुकुम पश्चिम — घरजग्गाविहीन बादी परिवारका लागि निर्माण थालिएको घरले अझै पूर्णता पाउन सकेका छैनन् ।

बादी समुदायको घर निर्माण अलपत्र

आठबिसकोट नगरपालिका–९, राडीस्थित नगरपालिकाको जग्गामा घरटहरा बनाएर बसेका बादी परिवारका लागि भवन डिभिजन कार्यालय रोल्पाले जनता आवास कार्यक्रममार्फत १५ घरको निर्माण सुरु गरेको थियो । तर निर्माणको काम सुरु भएको साढे तीन वर्षसम्म बादी समुदायका लागि पाँच घर अझै निर्माण हुन सकेका छैनन् ।

आफ्नो नाममा घरजग्गा नभएका कारण नगरपालिकाको जग्गामा बसेका उनीहरूलाई साबिकको आठबिसकोट गाविस कार्यालयले घरटहरा छाडेर जान बारम्बार ताकेता गरेको थियो । साबिकको गाविस कार्यालयले आफ्नो जग्गा छाड्न भनेपछि १५ घर बादी परिवार समस्यामा परेका थिए । उनीहरूको समस्या समाधानका लागि भन्दै दस लाख रुपैयाँमा १२ सय वर्गमिटर जग्गा किनेर १५ घर बादी परिवारलाई लालपुर्जा प्रदान गरिएको थियो । आर्थिक वर्ष २०७०/०७१ मा तत्कालीन संविधान सभा सदस्य दलजित श्रीपालीको संसद विकास कोषको दस लाख रुपैयाँबाट सुकुम्बासी बादीका लागि घर निर्माण गर्न जग्गा खरिद गरिएको थियो ।

बादी परिवारकै नाममा जग्गा भएपछि भवन डिभिजन कार्यालय रोल्पाले जनता आवास कार्यक्रममार्फत १५ परिवारका लागि १५ वटा घर निर्माण थालेको थियो । आर्थिक वर्ष २०७१/०७२ को सुरुमै घर निर्माण थालिएको थियो । हालसम्म १० वटामात्रै घर निर्माण हुन सकेका छन् । ५ वटा घर निर्माण थालिएको छ तर उक्त कामले निरन्तरता पाउन सकेको छैन । जनता आवास कार्यक्रमका अध्यक्ष कलिभान बादीले १५ मध्ये १० घर निर्माण भए पनि ५ वटा घर निर्माण कार्य भने लामो समयदेखि रोकिएको बताए ।

‘भवन डिभिजन कार्यालयले यो बस्तीमा घर निर्माणको काम सुरु गरेको हो,’ बादीले भने, ‘हाल रुकुममा पनि यसको कार्यालय छ । घर कसले बनाउने भन्ने विवादका कारण पनि समस्या भएको हो कि जस्तो लागेको छ ।’ १५ वटै घर नबन्दा पाँच घरपरिवार समस्यामा छन् । नगरपालिकाले आफ्नो जग्गाबाट उठाइसकेपछि पाँच घरपरिवालाई बास बस्न समस्या भइरहेको छ । बनेका दस घरमै मुस्किलले उनीहरू बसिरहेका छन् ।

निर्माणाधीन ५ वटा घर कहिले निर्माण पूरा हुन्छन् भन्ने विषयमा जनता आवास उपभोक्ता समिति अन्योलमा छ । लामो समयदेखि भवन डिभिजन कार्यालयका प्रतिनिधिहरू उक्त बस्तीमा पुगेका छैनन् । घर कति बने, कहिले सकिन्छ भन्ने कामको अनुगमन नभएको स्थानीय तारा बादीले बताइन् । ‘पाँच घरको जग त हालिएको छ, तर कहिले बनिसक्ने हुन् र हामी उक्त घरमा कहिले सर्ने हो केही थाहा छैन,’ उनले भनिन् । भवन डिभिजन कार्यालय रोल्पाका प्रमुख ईश्वरराज जोशीले जनता आवास निर्माणको काम भइरहेको बताए । उनले उपभोक्ताकै कारण घर निर्माण कार्य अघि बढ्न नसकेको बताएका छन् ।

‘हाम्रो तर्फबाट सबै काम भइरहेको छ । प्राविधिकहरू पनि राडी गएकै छन्, उपभोक्ताबाटै काम हुन नसकिरहेको हो,’ प्रमुख जोशीले भने । जोशीले घर निर्माणको थोरै मात्रै काम बाँकी रहेको दाबी गरेका छन् ।

भवन डिभिजन कार्यालयले दुई कोठाको घर बनाउन एक लाख ९५ हजार रकम निकासा गर्ने भनेको थियो । सो रकमले भवन निर्माण गर्न अपुग भएको अध्यक्ष बादीले बताएका छन् । शौचालयविहीनका १० घर बनाउन १९ लाख ५० हजार रुपैयाँ भवन डिभिजन कार्यालयले दिने भनेकामा २३ लाखमा उक्त घर निर्माण भएका छन् । भवन डिभिजन कार्यालयले दिने भनेको १९ लाख ५० हजारमध्येको पनि सबै रकम निकासा दिएको छैन । भवन डिभिजन कार्यालयले १७ लाख ५० हजार मात्रै भुक्तानी दिएको र अरू २ लाख भुक्तानी नभएको कलिभानले बताए । घर निर्माणमा लागेको ऋणका कारण समस्या व्यहोर्नुपरेको उनको गुनासो छ ।

हाल बनिरहेका भनिएका ५ वटा घर निर्माणका लागि भने प्रतिघर २ लाख ३३ हजार ७ सय बजेट विनियोजन गरिएको भवन डिभिजन कार्यालय रोल्पाले बताएको छ । ‘यसअघि निर्माण सम्पन्न भएका १० घरले शौचालय नबनाएका कारण अन्तिम भुक्तानी रोकिएको हो,’ कार्यालय प्रमुख जोशीले भने, ‘हाम्रो कार्यविधिले शौचालय नभई सबै रकम भुक्तानी गर्न मिल्दैन ।’

प्रकाशित : चैत्र ३, २०७४ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?