३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गाउँपालिका बिजुलीविहीन

केन्द्रबाट कम बजेट आउने गरेकाले लाइन विस्तारका काम अलपत्र

सल्यान — शारदा नगरपालिका–१० जलुकेमा मधनाबाट लाइन तान्न पोल गाडेको सात वर्ष भयो । शारदा नगरपालिकाले २० वटा पोल वितरण गरेको समेत दुई वर्ष पुग्यो तर, विद्युतीकरणको काम भने रोकिएको छ ।

गाउँपालिका बिजुलीविहीन

शारदा नगरपालिका ७ कजेरीको बयालबजार आसपासका क्षेत्रमा पोल गाडेको झन्डै पाँच वर्ष भयो । लाइन विस्तारका लागि स्थानीयले तारहरू खरिद गरेर राखेको भए पनि विद्युत् प्राधिकरणको लापरबाहीले विद्युत् सेवा उपभोगबाट वञ्चित भएको स्थानीयको गुनासो छ । यी दुई गाउँमात्र होइन अधिकांश स्थानमा विद्युत् विस्तार अलपत्र छ । यहाँका ३५ हजार २ सय परिवार विद्युत् सुविधाबाट वञ्चित छन् ।

दस स्थानीय तहमध्ये दार्मा र कुमाख गाउँपालिकाका कुनै पनि घरधुरीमा विद्युत् सुविधा छैन । कालिमाटी गाउँपालिकाको वडा नंं. १ लक्ष्मीपुरबाहेक अन्य ६ वडाका स्थानीय बिजुलीबाट वञ्चित भएका छन् । तीन नगरपालिका र सात गाउँपालिका रहेको सल्यानमा ४६ हजार घरधुरी छन् । अहिलेसम्म १० हजार ८ सय परिवारले मात्र बत्तीको सुविधा पाएका छन् ।

विद्युत् प्राधिकरणलाई पोल गाड्न बारम्बार अनुरोध गरे पनि चासो नदेखाएको जलुकेका जितबहादुर कुँवरले बताए । उनका अनुसार प्राधिकरणले बेवास्ता गरेपछि नगरपालिकाले दिएको पोल गाड्न नसक्दा ८० घरधुरी रहेको गाउँमा बत्ती बाल्ने योजना पूरा हुन सकेको छैन ।

बन्गाड कुपिण्डे नगरपालिका–११ गराका शिवजन शाहले विद्युत् पोल गाडेर लाइन ताने पनि बत्ती बाल्न नपाएको गुनासो गरे । ‘घरघरमा वाइरिङ गरिएको छ तर, कसैले बत्ती बाल्न पाएका छैनन्,’ उनले भने ।

विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख रामशरण तिमिल्सिनाले बताए । उनका अनुसार शारदा नगरपालिकाको कजेरीस्थित बयालबजार, हिवल्चाको जलुके, बुँचे, बाग्चौर नगरपालिकाको बाफुखोला, सिमखोली, रातपहरा, लस्तम, पेदीखोला, कोटबारालगायतका क्षेत्रमा विद्युत् सुविधा पुग्न सकेको छैन । त्यस्तै बन्गाड कुपिण्डे नपाको सल्लीबजार, जयतपानी र स्वाँराबाहेक अन्य स्थानमा विद्युत् सेवा पुगेको छैन ।

केन्द्रबाट कम बजेट आउने गरेकाले लाइन विस्तारका काम अलपत्र परेको उनको भनाइ छ । प्राधिकरणको कार्यालय २०४१ सालमा स्थापना गरिएदेखि विद्युत् विस्तारको काम सुरु गरिएको थियो । ‘यो वर्ष जम्मा ३ करोड बजेट आएको छ । सबै स्थानीय तहमा विनियोजन गर्दा एक पालिकामा करिब ३० लाख पर्छ,’ उनले भने, ‘उक्त रकमले एक गाउँमा पनि बत्ती बाल्न सकिँदैन ।’ उनले साबिकका गाविस र जिविसले दिएको रकममा स्थानीयले केही थप र श्रमदान गरेर केही स्थानमा विद्युत् विस्तार गरिएको जनाए ।

यो वर्ष थारमारे–चोरपानी–बडागाउँ, बगाले–कालिमाटी लेकगाउँ, कुपिण्डे दह, मौलाहाल्ने–फारुलाचौरलगायत ११ योजनाको लाइन विस्तारको काम भइरहेको वितरण केन्द्रले जनाएको छ । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले नगरको बजेटबाट जलुके, कजेरीको बयालबजार र बुचेमा यो वर्ष लाइन विस्तारको काम सुरु हुने बताए । उनले अलपत्र परेको स्थानमा तत्काल काम सञ्चालन गर्न प्राधिकरणलाई अनुरोध गरिने जनाए ।

नगरपालिकाले यो वर्ष विद्युत् विस्तारका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । त्यस्तै, बन्गाड कुपिण्डे नगरपालिकाले विद्युत्का लागि ८० लाख बजेट विनियोजन गरेको प्रमुख गोविन्द पुनले बताए ।

प्रकाशित : चैत्र ३, २०७४ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?