२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अस्पताल सरसफाइमा विद्यार्थी

जुम्ला — कर्णाली मावि अनामनगरका विद्यार्थीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सरसफाइ अभियान सुरु गरेका छन् ।

अस्पताल सरसफाइमा विद्यार्थी

विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीले शिक्षण अस्पताल क्षेत्रलाई सफा बनाउन मासिक रूपमा सरसफाइ गर्नेगरी अभियान सुरु गरेका हुन् ।

अस्पताल फोहोर भए त्यसको असर बिरामी र आसपास बासिन्दालाई पर्ने भन्दै विद्यार्थीहरूले सरसफाइ अभियान सुरु गरिएको जनाएका छन् । अस्पतालका शय्या र शौचालय सफा हुनसमेत जरुरी रहेको विद्यार्थीहरूको भनाइ छ । अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्न नसकिए अस्पताललाई मात्रै नभई जुम्लालाई नै समस्या पर्ने भएकाले विद्यार्थीलाई सरसफाइमा समावेश गराइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष जीवन बुढथापाले अस्पतालको सरसफाइमा सबैले ध्यान दिनुपर्ने सन्देश दिन विद्यार्थीले मासिक रूपमा सरसफाइ गर्ने गरेको जनाए । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले तीन सय शय्याको अस्पताल सञ्चालन गरिए पनि सरसफाइ व्यवस्थापनमा चुनौती रहेको बताए ।

प्रदेश सरकारले पनि सफा र स्वच्छ प्रदेश निर्माणका लागि महिनामा दुईपटक सरसफाइ अभियान सञ्चालन गरिरहेको छ । प्रदेश सरकारले सुरु गरेको अभियानलाई निरन्तर सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । उनले जुम्लाको वातावरणलाई सफा राख्न प्लास्टिकमुक्त जिल्ला बनाउनुपर्ने बताए । उनले अस्पतालको फोहोर व्यवस्थापनमा सबै क्षेत्रले निगरानी गर्नुपर्ने बताए ।

नगरपालिकाले बजारबाट निस्कने फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइट निर्माण गरिरहेको छ । तत्कालका लागि अस्थायी रूपमा फोहोर व्यवस्थापन भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : चैत्र ३, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?