१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चिकित्सक नहुँदा बिरामी प्रभावित

जाजरकोट — साताअघि दल्ली प्राथमिक स्वास्थ्य केन्द्र छाडेका डा.सञ्जय यादव काममा फर्केका छैनन् । उनी नफर्केपछि बिरामी उपचारबाट वञ्चित छन् ।

अस्पतालमा डाक्टर नभेट्दा उपचार नपाएरै फर्केको स्थानीय टोपबहादुर पन्तले बताए । अस्पतालमा झाडापखाला, ज्वरो, पेट दुख्ने, निमोनियालगायत रोगका बिरामीको भीड लाग्ने गरेको स्वास्थ्य सहायक तप्तबहादुर चनाराले बताए । डाक्टर नहुँदा दर्जनौं बिरामी रित्तै फर्कने गरेको उनको भनाइ छ ।


‘प्लास्टर, सुत्केरी, भिडियो एक्सरेलगायत सेवा बन्द भएको छ,’ उनले भने, ‘बिहीबार मात्र ४५ बिरामीको सामान्य जाँच मात्र गरियो ।’ डाक्टर नआउँदा अस्पतालमा भर्ना भएका ५ जना बिरामीको उपचार गर्न कठिन भएको उनको भनाइ छ । डा. यादव प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले धम्काएको बहानामा अस्पताल आउनै छाडेका छन् । प्रजिअलाई कारबाही नभएसम्म कार्यस्थलमा नफर्कने यादवले बताए । उनी अन्यत्रै सरुवा गराउन स्वास्थ्य मन्त्रालय धाउन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयबाट बिदा स्वीकृत नगराएरै अस्पताल छाडेका हुन् ।


तर प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका प्रमुखलाई सम्बोधन गरेर क्याबी लेखेका छन् । उनी आफंै केन्द्र प्रमुख हुन् । उनले गत फागुन २५ देखि चैत १ गतेसम्मको लागि आफंैलाई सम्बोधन गरेर ७ दिनको क्याबी लेखेर छाडेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले गत बुधबार डा. यादवलाई बारेकोट गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा शव परीक्षणका लागि खटाउँदा उनले अटेरी गरेका थिए । शारीरिक अस्वस्थता र दल्लीमा बिरामीको चापलगायत कार्यबोझका कारण माथिल्लो निकायको निर्देशन उल्लंघन हुन गएको उनले बताए ।


तर उक्त दिन प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको अभिलेखमा बिरामी चाप देखिएको छैन । डा. यादव अस्वस्थ पनि नभएको पाइएको छ । जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले कार्यबोझका कारण नभई व्यक्तिगत घमण्डका कारण यादवले आदेशको उल्लंघन गरेको बताए । ‘उनले चिकित्सको भूमिका निर्वाह गर्न नसकी कार्यालयबाट भागेको देखिन्छ,’ उनले भने ।


यथार्थ नबुझेरै सरकारी चिकित्सक संघ नेपालले डा. यादवको भनाइमा लागेर निकालेको विज्ञप्तिको कुनै पनि तुक नभएको उनले बताए । यादवले बिनासूचना कार्यालय छाडेको र माथिल्लो निकायको आदेश उल्लंघन गरेकोबारे आवश्यक अनुसन्धान प्रक्रिया थालिएको नेपालीको भनाइ छ ।


यस्तै जाजरकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा र गर्खाकोटमा पनि चिकित्सक नहुँदा त्यस क्षेत्रका बिरामी पनि उपचारबाट वञ्चित छन् । ती संस्थामा कार्यरत मेडिकल अधिकृत एमडीको परीक्षा दिन काठमाडांै गएपछि बिरामी उपचारबाट वञ्चित भएका हुन् ।

प्रकाशित : चैत्र ४, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?