कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन बर्षमा पनि पूरा भएन आयोजना

हाम्रो खानेपानी
१८ महिनामा पूरा गर्ने गरी सम्झौता भएको थियो
हरि गौतम

रुकुम (पश्चिम) — सम्झौताअनुसार काम भएको १८ महिनाअघि नै मुसिकोट तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भैसक्नुपर्ने थियो । १८ महिनामा पूरा गर्ने गरी सम्झौता भएको उक्त आयोजना तीन वर्ष पुगिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

तीन बर्षमा पनि पूरा भएन आयोजना

२०७३ भदौ महिनामै आयोजनाको सम्पूर्ण काम सक्ने गरी २०७१ फागुनमा कन्काई इन्टरनेसनल विल्डर्स प्रालि सुरुंगा झापाले निर्माणको सम्झौता गरेको थियो । खानेपानी मन्त्रालयको सहयोगमा निर्माण भैरहेको उक्त आयोजना हालसम्म ९० प्रतिशत काम सकिएको आयोजनाको स्थानीय संयोजन गर्ने जिम्मा लिएको मुसिकोट–खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बताएको छ ।

संस्थाका अध्यक्ष महेन्द्र केसीका अनुसार आयोजनाका कुल ६ ओटा ड्याममध्येमा ६ ओटै निर्माण भैसकेका छन् । मुख्य लाइन तथा घर घरमा पाइप विस्तार कार्य पनि अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गतका मुहानमा इन्टेक निर्माण, तारबार, २ ठाउँमा फिल्टर मिडियाको काम बाँकी रहेको अध्यक्ष केसीले बताए ।

निर्माण कम्पनीको ढिलासुस्तीको कारण भनेकै समयमा योजना सम्पन्न हुन नसकेको आरोप उपभोक्ताको छ । स्थानीय व्यवसायी धनबहादुर खड्काले निर्माण कम्पनीको लापरबाहीका कारण मुसिकोटवासीले खानेपानी पाउन ढिलाइ भइरहेको बताए । उपभोक्तको तर्फबाट गर्नुपर्ने लगानी पहिला नै उठाइसकिएकाले निर्माण कम्पनी र खानेपानी संस्थाको कारण आयोजना सम्पन्न हुन नसकेको उनको भनाइ छ । निर्माण कम्पनीले भने आयोजनाको म्याद थपेर काम गरिरहेको छ । भारतले गरेको नाकाबन्दी र २०७२ वैशाखमा गएको भूकम्पको कारण आयोजना निर्माणमा ढिलाइ भएको दाबी निर्माण कम्पनीको छ ।

ठेकेदार कम्पनी कन्काई इन्टरनेसनल विल्डर्स प्रालिका अथोराइज्ड डाइरेक्टर यामवहादुर केसीले १८ महिनामै घरघरमा खानेपानी पुर्‍याउने गरी काम भैरहेका बेला आवश्यक सामग्री अभावले आयोजना सम्पन्न हुन ढिला भएको बताए । ‘भारतको नाकाबन्दीका कारण भनेकै समयमा निर्माण सामग्री पाइएन र भूकम्पका कारण पनि केही असर परेको हो,’ केसीले भने, ‘यसमा निर्माण कम्पनीको लापरबाही छैन ।’ मुहानबाट पानी ल्याउने विषयमा मुहानका स्थानीयले असहमति जनाएको र उक्त विवाद मिलाउन पनि केही समय लागेको केसीको भनाइ छ ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजना सम्पन्न गर्न सुरुमा तीन महिनाको समय थपिएको थियो । त्यो समयमा पनि काम सम्पन्न नभएपछि पछिल्लो पटक थपिएको दुई महिनाको म्याद पनि गत वर्षको माघ १८ गते नै सकिएको थियो । त्यसपछि फेरि पाँच महिनाको समय थप्दा पनि काम सम्पन्न हुन सकेन । उक्त ५ महिनाको समय पनि गत चैत मसान्तमा सकिएको थियो भने त्यसपछि हालसम्म पटकपटक म्याद थपिएको छ । पछिल्लो पटक थप गरिएको २ महिनाको म्याद पनि गत माघ मसान्तमै सकिसकेको छ ।

१४ करोड लागतमा १८ महिनामै काम सक्ने सम्झौता गरेको कम्पनीले सम्झौताअुनसार काम नगरेपछि हाल जरिवानामा काम गरिरहेको छ । पटकपटक म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नकेपछि कम्पनीले हाल जरिवानामा काम गरिरहेको हो । समयमै काम सम्पन्न नगरेबापत निर्माण कम्पनीले करिब एक करोड ३० लाख रुपैयाँ जरिवाना सरकारलाई तिर्नुपर्नेछ । एक घर, एक धाराको अवधारणासहितको यो आयोजनामा खानेपानी मन्त्रालयले कुल १४ करोडको ७० प्रतिशत खर्च ब्यहोरिरहेको छ ।

२५ प्रतिशत उपभोक्ताले ऋण लगानी गरेका छन् भने पाँच प्रतिशत उपभोक्ताले अनुदान सहयोग गरेका छन् । आयोजना मार्फत हाललाई जिल्ला सदरमुकामका करिब १४ सय घरधुरीलाई नेपाल गुणस्तर मापदण्डको पानी २४ सै घण्टा उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । यो आयोजनाबाट मुसिकोट १, २ र ६ नम्बर वडाका सबै तथा चार नम्बर वडाका केही स्थानीय लाभान्वित हुनेछन् । उक्त आयोजनाका ६ ओटा ड्यामको भण्डारण क्षमता ७ लाख लिटर छ ।

प्रकाशित : चैत्र ७, २०७४ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?