कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खडेरीग्रस्त पलातामा एक घर, एक धारा

‘स्वच्छ पिउने पानी पलातावासीको पहिलो माग हो’
३ वर्षभित्र २७ सय घरधुरीलाई खानेपानी
तुलाराम पाण्डे

थिर्पु (कालिकोट) — पिउने पानीको अभावमा रातभरि खानेपानीको धारामा लाइन बस्नुपर्ने बाध्यता रहेको कालिकोटको खडेरीग्रस्त पलातामा एक घर, एक धारा सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

खडेरीग्रस्त पलातामा एक घर, एक धारा

पलाताका खिन, धौलागोह र थिर्पुका गाउँमा खानेपानी पुर्‍याउन गाउँपालिकाले वार्षिक पुँजीगत बजेटको २० प्रतिशत रकम विनियोजन गर्दै घरघरमा धारा पुर्‍याउन खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको हो ।

‘स्वच्छ पिउने पानी पलातावासीको पहिलो माग हो,’ आइतबार थिर्पुृमा आयोजित जलकचहरीमा समुदायको गुनासो सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले भने, ‘दुई वर्षमा मूलको पानी गाउँसम्म पुर्‍याउँछौं । तेस्रो वर्षमा घरघरमा धारा जडान गर्छौं ।’

उनले गाउँपालिकाका २ हजार ७ सय घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउन खानेपानी तथा सरसफाइ क्षेत्रको त्रिवर्षीय योजना निर्माण गरिने वाचा गरे । गाउँपालिकाका जनप्रतिनिधि, खोपानी तथा सरसफाइ क्षेत्रका सरोकारवाला, स्थानीय उपभोक्ताको सहभागितामा सम्पन्न जलकचहरीमा गाउँपालिकाले विभिन्न ७ बुँदे प्रतिबद्धता गरेको छ ।

खानेपानी तथा सरसफाइ प्रवद्र्धनका सवालमा समुदायस्तरबाट समस्या पत्ता लगाई समाधानका उपायको खोजी गर्न वडा तथा गाउँपालिकाले ६/६ महिनामा जलकचहरीको आयोजना गर्ने, गाउँपालिकाको एकीकृत उत्थानशील खानेपानी सरसफाइ तथा स्वच्छता रणनीतिक योजना निर्माण गर्ने भएको छ । त्यस्तै, पुँजीगत बजेटको न्यूनतम २० प्रतिशत विनियोजन गरी दिगो खानेपानी तथा सरसफाइ, विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनका नीति तथा कार्यक्रम तर्जुमा गर्ने जनाएको छ ।

उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनमा टेवा पुर्‍याउन खानेपानी उपभोक्ता समितिहरू समावेशी बनाउने, महिला कम्तीमा ३३ प्रतिशत र अपांगता भएका व्यक्तिहरूको अर्थ पूर्ण सहभागिता सुनिश्चित गर्ने घोषणा गरेको छ । गाउँपालिकामा सञ्चालन भइरहेका खानेपानी आयोजनाको लागत संकलन गरी सूचीकृत गर्ने र अनिवार्य मर्मत सम्भार कोष, हेरालो तथा मर्मत सम्भार कार्यकर्ता उत्पादन गर्ने, विद्यालयको अगुवाईमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्ने जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लेकबहादुर क्षत्रीले चालु आर्थिक वर्षमा गाउँपालिकाले ५ करोड रकम खानेपानीको क्षेत्रमा विनियोजन गरेर काम गरिरहेको बताए । पानीको मूल टाढा रहेको पलातामा खानेपानी पुर्‍याउन निकै कठिन भए पनि गाउँपालिकाले धौलागोह, खिन, थिर्पु, पारौटीलगायतका सुक्खा क्षेत्रमा पाइप प्रणालीको पानी पुर्‍याउन सर्भे गरिसकेको प्राविधिक विअराज बमले बताए । उनले १८ किमि टाढाको मूलबाट पानी ल्याउनुपर्ने भएकाले खानेपानी विभागका केन्द्रीय योजना आवश्यक रहेको बताए ।

प्रकाशित : चैत्र ७, २०७४ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?