१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जिल्लाका ३ कार्यालय प्रमुखविहीन

रुकुम पश्चिम — चौरजहारी उपत्यकामा तीन सरकारी कार्यालय छन् । चौरजहारीमै जिल्लास्तरका मुख्य कार्यालयका रहेका तीनै कार्यालय प्रमुखविहीन छन् । डिभिजन सडक कार्यालय, नयाँ सहर आयोजना कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौरजहारी प्रमुखविहीन बनेका हुन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका आयुर्वेद निरीक्षक देवेन्द्र ठाकुर २० दिनदेखि कार्यालय आएका छैनन् । डिभिजन सडक कार्यालयका प्रमुख आशिष थापा पनि काठमाडौं गएको १० दिन नाघिसक्यो । नयाँ सहर आयोजना प्रमुख रञ्जन दास पनि साता दिनदेखि कार्यालय आएका छैनन् ।


कार्यालयकै काम भनेर काठमाडौं निस्केका तीनैजनाले आधिकारिक निमित्त प्रमुख भने कसैलाई दिएका छैनन् । सडक डिभिजन प्रमुख थापाले लेखा अधिकृत दीपकप्रसाद शर्मालाई मौखिक रूपमा निमित्त प्रमुखको काम गर्नू भनेका छन् ।


आयुर्वेद प्रमुख तथा सहरी आयोजना प्रमुखले भने कसैलाई पनि निमित्त तोकेका छैनन् । कार्यालयको काम पर्‍यो भनेर निस्किएका उनीहरूले के काम हो भनेर पनि खुलाएका छैनन् । आर्थिक वर्ष सकिने समय आउँदै गर्दा कार्यालय प्रमुखहरू नभएपछि सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राहीले चौरजहारीमा रहेका कार्यालय प्रमुखहरू अधिकांश जिल्लाबाहिरै रहने गरेको गुनासो गरे । ‘काम विशेषले बाहिर जानुपर्ने हो तर यहाँका हाकिम सापहरू काम विशेषले जिल्ला आउनुहुन्छ,’ स्थानीय बलबीर बुढाले भने, ‘कार्यालयमा बसेपछि केही न केही काम त भइरहन्छ होला नि ।’


डिभिजन सडक कार्यालयका निमित्त प्रमुख दीपकप्रसाद शर्माले कार्यालय प्रमुख कार्यालयकै कामका लागि काठमाडौं गएको दाबी गरे । ‘कार्यालय प्रमुख केही सडकको अनुमति ल्याउने र केही पास गराउने जस्ता कामका लागि काठमाडौं जानु भएको हो,’ उनले ।


डिभिजन सडक कार्यालय २०७१ र र नयाँ सहर आयोजनाको कार्यालय स्थापना भएको केही वर्ष मात्रै भयो । आयुर्वेद केन्द्र लामो समयदेखि चौरजहारीमै छ । सरकारी कार्यालयको अनुगमन तथा निगरानी गर्ने जिल्ला प्रशासन कार्यालय साबिकको सदरमुकाम खलंगामा रहँदा चौरजहारीमा कार्यालय रहेकाहरू अन्य निकाय तथा जिल्लासँग नै समन्वयमा नआएको गुनासो आउने गरेको थियो ।


स्थानीय तह चुनावपछि पनि कार्यालय प्रमुखको शैली पुरानै छ । चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले यी तीनै कार्यालय नगरपालिकाभन्दा भिन्नै तरिकाले चलिरहेको बताए । कहिलेकाहीं सहरी आयोजनाले छलफल गरे पनि अरूले समन्वय नगेको उनको आरोप छ । ‘डिभिजन सडक कार्यालयको सडक विभाग, सहरी आयोजनाले पनि केन्द्र र आयुर्वेदले पनि केन्द्रमै सम्पर्क हुने हो भन्ने छ,’ प्रमुख शर्माले भने, ‘चौरजहारीमै भएकाले कम्तीमा समन्वय गर्दा राम्रै हुन्थ्यो भन्ने हामीलाई पनि लागेको हो ।’

प्रकाशित : चैत्र ८, २०७४ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?