१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

एक घर, एक पोखरी

ज्योति कटुवाल

दैलेख — गुराँस गाउँपालिका ६ को पिलाडीका घर–घरमा सिंचाइ पोखरी निर्माण गरिएको छ । पिलाडीका ४० घरधुरीमा सिंचाइ पोखरी निर्माण गरिएपछि स्थानीयलाई तरकारी र अन्नबाली खेतीमा सहज भएको छ ।

एक घर, एक पोखरी

खेतीयोग्य जमिन धेरै भएको र कृषि उत्पादनबाट आत्मनिर्भर बन्ने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेको गुराँस गाउँपालिकाले जनाएको छ । यसअघि किसानलाई सिंचाइ अभावमा तरकारी र अन्नबाली खेती गर्न समस्या भएको थियो । पोखरीमार्फत सिंचाइ सुविधा पुगेपछि अन्नबाली र तरकारी उत्पादनमार्फत किसानलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सजिलो भएको छ ।

गाउँपालिकालाई कृषि हबका रूपमा विकास गर्न योजना बनाइएको गाउँपालिकाले जनाएको छ । गुराँस तरकारी उत्पादनका लागि जिल्लाको नमुना गाउँपालिका मानिएको छ । यहाँका किसानले तरकारी उत्पादनबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् । पोखरी बनाउने काममा किसानले ६० प्रतिशत श्रमदान गरेको वडा अध्यक्ष हिमबहादुर ओलीले बताए । उनका अनुसार ४० वटै सिंचाइ पोखरीमा १२ लाख लिटर पानी संकलन हुन्छ ।

सिंचाइका लागि पोखरी निर्माण भएपछि आफूहरूलाई तरकारी खेती गरेर आम्दानी बढाउन सजिलो हुने स्थानीय किसान गगनबहादुर खत्रीले बताए । सिंचाइ नहुँदा धाराको पानी र आकासे पानीको भरमा तरकारी खेती गर्नुपर्ने बाध्यता थियो । उनले सिंचाइ पोखरी निर्माण भएपछि किसानहरूलाई उत्साहपूर्वक तरकारी खेतीमा लाग्न सहज भएको बताए ।

गाउँपालिका ६ को बगौराचौर रेगमा पनि ४० वटा पोखरी निर्माण गरिएको जनाएको छ । साबिकका ६ गाविसलाई पकेट क्षेत्र मानी १ सय ७५ हेक्टरमा आलु खेती गरिएको छ । पकेट क्षेत्र बनाएपछि किसानलाई तरकारी उत्पादन गर्न ऊर्जा मिलेको कृषि विकास कार्यालयका प्रमुख राजु भुजलले बताए ।

गाउँपालिकाका १, ३, ५ र ८ नं वडामा ६० वटा सिंचाइ पोखरी निर्माणाधीन अवस्थामा छन् । ४० वटा पोखरी प्लास्टिकबाट बनाइए पनि थप पोखरीलाई पक्की बनाउने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । उनका अनुसार सिंचाइको समस्या भए पनि चालु आर्थिक वर्षमा किसानले ९ करोड बढीको तरकारी बिक्री गरेका छन् । उनले पोखरी निर्माणपछि तरकारी उत्पादनमा वृद्धि हुने र स्थानीयको आयआर्जन बढ्ने जानकारी दिए ।

प्रकाशित : चैत्र १०, २०७४ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?