पर्यटकीय महत्त्वका गुफा ओझेलमा

विप्लब महर्जन

सल्यान — करिब ५० वर्षअघि शारदा नगरपालिकाको माल्नेटामा साततले गुफा पत्ता लाग्यो । गुफाभित्र थरीथरीका आकृति छन् ।

पर्यटकीय महत्त्वका गुफा ओझेलमा

पर्यटकीय महत्त्वको गुफाको संरक्षण हुन नसकेपछि गुफा जंगली जनावरको बासस्थानमा सीमित भएको छ ।

त्यस्तै, ४० वर्षअघि पत्ता लागेको दमाचौरको चमेरे गुफा पनि महत्त्वविहीन भएको छ । यी दुईमात्र होइन यहाँको छत्रेश्वरी गाउँपालिकास्थित चाँदनी, सिद्धकुमाखको सिद्धगुफा, बाग्चौर नगरपालिकाको शिव गुफा, शारदा नगरपालिका ६ कजेरीको शिव गुफालगायतका गुफाहरू प्रचारप्रसार र संरक्षण अभावमा अलपत्र परेका छन् ।

सरकारी निकायबाट गुफाको संरक्षणका लागि कुनै पहल नभएको स्थानीयको गुनासो छ । सरकारी सहयोग पाइए आफूहरू गुफाको संरक्षण गर्न तयार रहेको स्थानीय अगुवाको भनाइ छ । ५० वर्षअघि पत्ता लागेको साततले गुफा जाने गतिलो बाटो नहुँदा आन्तरिक पर्यटकलाई समेत आउजाउमा समस्या भएको माल्नेटाका ज्ञानदेव घर्तीले बताए । गुफा पर्यटक भित्र्याउने राम्रो माध्यम बन्न सक्ने भए पनि कसैले चासो देखाएका छैनन् ।

पर्यटक भित्र्याउन स्थानीयको चन्दा संकलनबाट फलामको भर्‍याङ, पक्की सिँढी, गेट र सोलार जडान गरे पनि चाडपर्वको बेलामात्र भक्तजन आउने गरेको सिद्ध गुफा संरक्षण समितिका अध्यक्ष कर्णबहादुर चलाउनेले बताए । दुई सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको गुफाको संरक्षणका लागि समिति सक्रिय भए पनि आर्थिक समस्याले आफूहरूले केही गर्न नसकेको उनको भनाइ छ ।

विभिन्न निकायसँग बारम्बार आग्रह गर्दासमेत बेवास्ता भइरहेको उनले जनाए । उनका अनुसार दुईतला तल झरेपछि मात्र गुफामा प्रवेश गर्न सकिन्छ । राप्ती लोकमार्गबाट सिधै गुफासम्म पुर्‍याउन सडक खन्न थालेको ५/६ वर्ष भइसके पनि कम बजेटका कारण पूरा हुन सकेको छैन ।

छत्रेश्वरी गाउँपालिकास्थित लेखपोखराको चाँदनी (मलेवा) गुफा पनि संरक्षणविहीन बनेको स्थानीय टेकबहादुर पुनले बताए । उनका अनुसार ६० मिटर लम्बाइ, ५ मिटर चौडाइ र ४ मिटर उचाइ रहेको उक्त गुफाका समेत सात तला छन् । जिल्लामा रहेका दर्जन बढी गुफालाई व्यवस्थित गर्नसके पर्यटक भित्र्याएर ठूलो रकम आम्दानी गर्न सकिने स्थानीयको भनाइ छ । स्थानीय सरोकारवालाले गुफालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न माग गरेपछि यहाँका जनप्रतिनिधिले चासो देखाएका छन् ।

प्रकाशित : चैत्र ११, २०७४ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?