पर्यटकलाई बाधा

सुर्खेत–जुम्ला सडक
तुलाराम पाण्डे

कालिकोट — कर्णाली प्रदेश सरकारले नयाँ वर्षमा सुरु गर्न लागेको रारा कर्णाली पर्यटन महोत्सवका लागि जीर्ण बन्दै गएको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक बाधक हुने देखिएको छ ।

पर्यटकलाई बाधा

साँघुरो र जीर्ण सडक, खोलाका अधुरा पुल र अत्यधिक मोड भएको कर्णाली राजमार्गबाट रारामा १० लाख पर्यटक पु्र्‍याउन कठिन छ । कर्णालीको पर्यटन, जलविद्युत् र जडीबुटी मुख्य स्रोत भए पनि अन्य क्षेत्रमा बढी लगानी जुटाउनपर्ने अवस्थाका कारण सहज मानिएको पर्यटन क्षेत्रलाई पहिलो आधार मान्दै प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेर काम थालेको छ । पर्यटन क्षेत्रमा पनि न्यूनतम पूर्वाधारको कमी छ ।

एक दशकअघि सेनाले चट्टान फुटाएर ‘ट्रयाक ओपन’ गरेको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकको विस्तार नगरेरै विश्व बैंकको सहयोगमा ओटासिल कालोपत्रे गरिएको पनि अधिकांश उप्किसकेको छ । ‘सडकको बेहाल छ,’ स्थानीय नन्दबहादुर शाहीले शुक्रबार मान्म पुगेको प्रदेश मन्त्रीहरूको तयारी टोलीसँग भने, ‘१० लाख पर्यटक कसरी ल्याउने ?’ उनले तत्काल सडकको मर्मत सम्भारसहित स्तरोन्नति, वर्षौंदेखिका अधुरा पुलको निर्माण र सडक विभागको सक्रियतामा जोड दिए ।

ट्रयाक खुलेर सञ्चालनमा आएयता पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिडिज्युला ०६६ मा ओटासिल कालोपत्रे सकिएको र खिडिज्युलादेखि जुम्लासम्म ०७० मा कालोपत्रे सकिए पनि अचेल ९० प्रतिशत कालोपत्रे उप्किएर घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । सुर्खेतदेखि जुम्लासम्म कालोपत्रे गर्न मात्र डेढ अर्ब खर्च भइसकेको भए पनि गुणस्तर कमजोर हुँदा अत्यधिक दुर्घटना पनि यहींकै सडकमा हुने गरेको स्थानीयको गुनासो छ । यही जीर्ण सडकबाट कर्णाली राजमार्ग हुँदै १० लाख आन्तरिक र बाह्य पर्यटक रारा पुर्‍याउने प्रदेश सरकारको योजना पुरा असम्भव नभएपनि चुनौती भने पक्कै छ ।

पर्यटकलाई आकर्षित गर्न खाने बस्ने होटल, सडक पहुँच भएका केही गाउँमा होमस्टेको व्यवस्थापन, जुम्ला र मुगुको ताल्चा विमानस्थलबाट हुने उडानमा वृद्धि गर्नुपर्ने, पर्यटकमैत्री व्यवहार र वातवरण तथा सुरक्षा व्यवस्थाको सुनिश्चिततालगायतका काम गर्नुपर्ने कर्णाली पर्यटन बोर्डका पूर्वसदस्य चित्रसिंह गाउँलेले बताए । ‘पर्यटक रारा पुर्‍याउन मुख्य कर्णाली राजमार्ग नै हो,’ उनले भने । सडकको स्तरोन्नतिसँगै राजमार्गका दर्जनभन्दा बढी अधुरा पुल निर्माण हुनुपर्ने बताए ।

वैशाख १ गते आरम्भ हुने रारा कर्णाली पर्यटन वर्षको तयारीका लागि कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, उद्योग वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था कृर्षि तथा सहकारीमन्त्री विमला केसीसहितको टिम तयारीका लागि कर्णाली राजमार्ग हुँदै कालिकोट जुम्ला र मुगु पुगे । मन्त्री बनेपछि पहिलो पटक कर्णाली आएका मन्त्रीहरूसँग स्थानीयले सडकको स्तरोन्नतिकै माग प्रमुख रूपले राखेका छन् । कर्णालीको समृद्धिका लागि पर्यटक प्रमुख सम्भावना ठहर गर्दै प्रदेश सरकारले वैशाख १ गते मुगुको रारा, कालिकोटको पचालझरना, हुम्लाको हिल्सा र डोल्पाको शेफोक्सुन्डोमा एकैसाथ पर्यटक वर्ष सुधारम्भ गर्ने योजना अघि सारेको प्रदेश पर्यटनमन्त्री नन्दसिंह बुढाले बताए ।

रारा कर्णाली पर्यटन महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिंदै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दुई दशकभित्र कर्णालीलाई गरिब,, अभावग्रस्त, रोगी बस्ने क्षेत्रको परिभाषा बदलेर समृद्ध क्षेत्रको अध्ययन गर्न आउने प्रदेश बनाउने बाचा गरे । उनले कर्णालीको कठिन भूगोलजस्तै यहाँका नागरिकको पनि रुखो बोली व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले स्थानीयले उठाएका सडक, पुल, सुरक्षालगायतका सवालमा प्रदेश सरकार सक्रिय भइसकेको जनाउँदै ४० बुदे सुरक्षा योना लागू भइसकेको जानकारी दिए ।

मुगुको रारा, जुम्लाको चन्दननाथ, कनकासुन्दरी, सिंजा क्षेत्र, पाण्डव गुफा, कालिकोटको पचाल झरना, तिलागुफा, चुलिकालिका, पुगमालिका, रुरुबन्चु पाटन, हुम्लाको कैलाश मानसरोवर, डोल्पाको फोक्सुन्डो लगायतका पर्यटकीयस्थल पुग्न सडक मार्ग नै सहज माध्यम भए पनि कर्णालीका हुम्ला र डोल्पामा अझै सडक पुगेका छैन भने कालिकोट, जुम्ला र मुगु पुगेको सडक पनि भरपर्दो र सुरक्षित छैन । दुई दशक लगाएर बनेको कर्णाली राजमार्ग ट्याग ओपन भएको १० वर्ष नपुग्दै जीर्ण भएको छ ।

कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकको अधिकांश पिच उप्किएको छ भने दुर्घटना रोक्न लगाइएका सेफ्टी बार पनि भत्किएको छ । केही ठाउँमा लगाइएका ढुंगाका पर्खाल पनि भत्किएका छन् ।

कर्णाली राजमार्गको दैलेख, कालिकोट र जुम्लाखण्डको सयौं ठाउँमा कालोपत्रे गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको छ । कतिपय ठाउँमा पहिरोले पिच भत्काएको छ भने अधिकांश ठाउँमा वर्षाको पानीले बगाएको छ । राजमार्गको राचुली, खल्लागाड, पिली भीर, मान्मको सुनार खोला, सेरिघाट, दैखोलालगायतका ठाउँमा त पिच नै नगरिएको नागरिक समाज कालिकोटका अगुवा मायाराम महताराले बताए । उनले कर्णाली आउने पर्यटकलाई अर्गानिक रातो चामल, रातो सिमी, फापर, कोदो उपहार दिने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे ।

सुर्खेतको बाङ्गेसिमलबाट सुरु भएर जुम्ला खलङ्गासम्म २ सय ३२ किमि लम्बाइ रहेको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्ड दुई चरणमा ओटासिल कालोपत्रे गरिएको हो । विश्व बैंकको सहयोगमा नेपाल सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्ट मार्फत पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिडिज्युला १ सय ३० किलोमिटरसम्म र दोस्रो चरणमा खिडिज्युलादेखि जुम्लासम्म विभिन्न ७ वटा निर्माण कम्पनी मार्फत ओटासिल कालोपत्रेको काम भएको हो । कालोपत्रे गरेको दुई वर्ष नबित्दै अधिकांश ठाउँमा पिच गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको गुनासो गर्दै खाडाचक्र १ का धर्मराज ताम्राकारले भने, ‘सडक पिच भयो भनेर प्रचार मात्र भयो, दिगो भएन ।’

प्रकाशित : चैत्र १९, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?