कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बालविकास केन्द्र अलपत्र

जिल्ला शिक्षा कार्यालयले दिने न्यून बजेटका कारण बालविकास केन्द्रमा व्यवस्थापनको अभाव देखिएको हो ।
विप्लब महर्जन

सल्यान — शारदा नगरपालिका १० जलुकेको जनकल्याण आधारभूत विद्यालयमा २०५९ सालदेखि शारदा बालविकास केन्द्र सञ्चालनमा आयो । केन्द्रमा सहयोगी कार्यकर्ताका रूपमा तेजकुमारी योगी बालविकास शिक्षिका नियुक्त गरिइन् ।

बालविकास केन्द्र अलपत्र

सुरुमा गाउँका बालबालिकाहरू नियमित रूपमा केन्द्रमा आउने गरेका थिए । व्यवस्थापनको समस्याले यस वर्ष पाँच जना मात्र अध्ययनरत थिए भने शिक्षिका दुई वर्षदेखि अनुपस्थित छिन् ।

त्यस्तै दुई वर्षअघि खड्गदेवी आधारभूत विद्यालयमा समायोजन भएको सिरुवारस्थित सरस्वती बालविकास केन्द्र २०६३ सालदेखि सञ्चालनमा आएको हो । सुरुका वर्ष ११ जना बालबालिका अध्ययनरत रहेको केन्द्रमा यो वर्ष दुई बालबालिका मात्र भर्ना भएका थिए । यी दुई मात्र होइन व्यवस्थापन समस्याले यहाँ सञ्चालित बालविकास केन्द्रहरू अलपत्र पर्न थालेका छन् ।

जिल्लाका १० स्थानीय तहमा ३ सय ४९ बालविकास केन्द्र सञ्चालनमा छन् । त्यसमध्ये विद्यालयमा आधारित ३ सय १९ र समुदायमा आधारित ३० हुन । सहयोगी कार्यकर्ताहरू केन्द्रमा आउन छाडेका छन् भने बालबालिका अध्ययनबाट वञ्चित छन् । दुई वर्षअघि खड्गदेवी प्राथमिक विद्यालयमा समायोजन भएको द्वारिका प्राथमिक विद्यालयको बालविकास केन्द्रको अवस्था बेहाल रहेको अभिभावकको गुनासो छ । केन्द्रमा पाँच बालबालिका भर्ना भएको तथ्यांक भए पनि यो वर्ष कोही पनि बालविकास केन्द्रमा आएनन् । एक वर्षअघि नै सहयोगी कार्यकर्ता केन्द्रमा आउन छाडेको विद्यालयले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लाभरि करिब दुई दर्जन बालविकास केन्द्र मात्र प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् । ३ देखि ५ वर्षसम्मको उमेर समूहका बालबालिकालाई अध्ययनप्रति प्रोत्साहित गर्न प्रयोगात्मक विधिबाट शिक्षण गराउने गरी केन्द्र स्थापना गरिएका हुन् । कतिपय केन्द्रका सहयोगी कार्यकर्ताले विद्यालयमा नगएरै तलब लिने गरेका छन् । कतिपयले बालबालिका नहुँदा माथिल्ला कक्षामा अध्यापन गराइरहेका छन् । जिल्ला शिक्षा कार्यालयले दिने न्यून बजेटका कारण बालविकास केन्द्रमा व्यवस्थापनको अभाव देखिएको हो ।

पर्याप्त मात्रामा अनुदान नपाउँदा र विद्यालयले बेवास्ता गर्दा केन्द्रहरू अलपत्र पर्न थालेको शारदा नगरपालिकाका शिक्षा शाखा प्रमुख वीरबहादुर सेजवालले बताए । सुरुमा जिल्ला शिक्षा कार्यालयले बालविकास केन्द्रलाई भुइँखाट, कार्पेट, खेलकुदका सामग्रीसहित सुरुका वर्षमा अन्य सामग्रीहरू दिइए पनि पछिका वर्षमा केन्द्र आफंैले व्यवस्थापन गर्ने जनाइएको थियो । सहयोगी कार्यकर्ताको पारिश्रमिक भने सरकारले व्यहोर्दै आएको छ । आगामी शैक्षिक सत्रदेखि नगरपालिकाभित्रका बालविकास केन्द्रलाई व्यवस्थित गर्ने योजना रहेको उनको भनाइ छ ।

जिल्लाका अधिकांश ठाउँमा सञ्चालित बालविकास केन्द्र पूर्वाधार अभावले समस्यामा रहेको शिक्षक महासंघका अध्यक्ष मधुसूदन गिरीले बताए । ‘अधिकांश विद्यालयमा बालविकास केन्द्र सञ्चालनमा रहे पनि विद्यालय व्यवस्थापनले चासो दिएको पाइँदैन,’ उनले भने, ‘अभिभावकको समेत सक्रियता नभएकाले अधिकांश अलपत्र परेका छन् ।’

जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले बालविकास केन्द्रको अनुगमनको जिम्मा स्रोतव्यक्तिलाई दिए पनि अनुगमन प्रभावकारी नहुँदा समस्या भएको बताए । अनुमगन गर्ने र समस्याबारे कार्यालयलाई जानकारी गराए व्यवस्थापनमा सहयोग गर्न सजिलो हुने उनको भनाइ छ । बालबालिकाको पढाइको जग नै बालविकास केन्द्र भएकाले यसबारे गम्भीर बन्नुपर्ने उनको भनाइ छ । जिल्ला शिक्षाले व्यवस्थापनका लागि बारम्बार सहयोग गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २९, २०७४ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?