कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पम्पमार्फत सिँचाइ सुविधा

सल्यान — वर्षौंदेखि सिँचाइको समस्याको बाग्चौर २ जिउलीमा ‘हाइड–याम पम्प’ मार्फत सिँचाइको व्यवस्था गरिएको छ । खेतीयोग्य जमिन माथि र खोला तल भएपछि पम्प विधि अपनाइएको हो ।

पम्पमार्फत सिँचाइ सुविधा

पम्प जडान गरेपछि किसानले खोलादेखि दुई सय मिटर माथिको जग्गामा सिँचाइ गर्न पाएका छन् । सिँचाइ सुविधा नहुँदा स्थानीयले वर्षमा एक बालीमात्र लगाउँदै आएका थिए । नयाँ प्रविधि जडान भएपछि किसानले बाह्रै महिना सिँचाइ सुविधा पाएका छन् ।

स्थानीयले आयआर्जनका लागि तरकारीसमेत लगाउन थालेका छन् । ताजा तरकारी बाली विकास समूहका अध्यक्ष धर्मराज डीसीले सिँचाइ सुविधा पुगेपछि तीन बालीसम्म लगाउन पाएको बताए । उनका अनुसार नजिकै बजार भएकाले खाद्यबाली लगाउन छोडी किसानले तरकारी खेतीमा जोड दिएका छन् । सिँचाइ कुलो निर्माण गर्न विभिन्न निकायमा आग्रह गर्दै आए पनि बेवास्ता भएपछि स्थानीयले आफ्नै लगानीमा पम्प जडान गरेका हुन् । स्थानीय किसान देवीलाल डाँगीका अनुसार अहिले एक मिनेटमा १५ लिटरसम्म पानी खेतमा जान्छ । यसअघि सुक्खा र बाँझो हुने जग्गामा बाह्रै महिना तरकारी फल्न थालेको उनले जनाए । खाद्यबाली भन्दा तरकारीबाट राम्रै आम्दानी भएको उनको भनाइ छ ।

नयाँ प्रविधिले तरकारीलगायत खाद्यबाली लगाउन सजिलो भएको देविका खड्काले बताइन् । ‘तरकारीमा सिँचाइ गर्न भाँडा माझेको र हातमुख धोएको पानी जम्मा गर्नुपथ्र्यो । तर अहिले धेरै सुविधा भएको छ,’ उनले भनिन्, ‘सिँचाइले खानेपानीको समस्यासमेत समाधान गरेको छ ।’

कम खर्चमा धेरै फाइदा लिन सकिने भएकाले यो विधि सजिलो भएको वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले बताए । सिँचाइको समस्या भएका ठाउँमा किसानलाई पम्प जडानमा जिल्ला कृषि विकास कार्यालयले सघाएको उनले जनाए । उनका अनुसार पम्पमार्फत तरकारी र खाद्यबालीको उत्पादन बढाउन मद्दत पुगेको छ ।

प्रकाशित : वैशाख २, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?