कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रहरीको अफिम ‘अप्रेसन’

हरि गौतम

रुकुम पश्चिम — प्रहरी अफिम ‘अप्रेसन’ मा लागेको छ । बिहीबारदेखि जिल्ला प्रहरी कार्यालयले ५० बढी प्रहरीलाई अफिम ‘अप्रेसन’ का लागि खटाएको छ ।

प्रहरीको अफिम ‘अप्रेसन’

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय आठबीसकोट र बाँफिकोट, प्रहरी चौकी पीपल, मग्मा, नदुवा, स्यालाखदी, गोतामकोट र सिम्लीबाट प्रहरीहरू अफिमको ‘अप्रेसन’ का लागि विभिन्न बस्तीमा निस्केका छन् ।

यस अवधिमा प्रहरीले मुसिकोट र आठबीसकोट नगरपालिका, बाँफिकोट र सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँको अप्रेसन गर्नेछ । अवैध लागूऔषध अफिमको खेती गरिएको सूचनाको आधारमा प्रहरीले अफिमको अप्रेसन गर्न लागेको हो । प्रहरीले सूचना आएको ठाउँको अफिम नष्ट गर्नेछ भने थप अफिम खेतीबारे खोजी पनि गर्नेछ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले विभिन्न ठाउँमा गरी ७ बिघा क्षेत्रफलमा अफिम खेती भएको सूचना आएको बताए ।

सूचना आएको ठाउँको अफिम नष्ट गर्न ५ दिन लाग्ने अनुमानसहित प्रहरीहरूलाई अफिम नष्टको लागि विभिन्न ठाउँमा खटाइएको डीएसपी धमलाले बताए । यसपटक अफिम खेती गर्ने मान्छे भेटिएसम्म पक्राउ गर्ने र कानुनी कारबाही अघि बढाउने तयारी प्रहरीले गरेको छ । यसअघिका वर्षमा प्रहरीले अफिम खेती भेटाए पनि खेती गर्ने मान्छे भेटाउन सकेको थिएन । ‘यसअघिका वर्षमा अफिम खेती गरिएको बारी कसको हो भन्ने पत्ता लाग्न नसकेका कारण मान्छे पक्राउ पर्न सकेनन्,’ डीएसपी धमलाले भने, ‘अफिम खेती गरिएको जग्गा कसको हो भनेर सोध्दा पनि स्थानीयले नबताउँदा अफिम खेतीवाला पक्राउ पर्न नसकेको हो ।’

हरेक वर्ष गरिने अफिम नष्टको कारण अफिम खेती गर्ने मान्छे र क्षेत्रफल घटेको दाबी प्रहरीको छ तर तथ्यांकमा भने त्यस्तो देखिन्न । पहिल्यैदेखि जिल्लाका विभिन्न ठाउँमा अफिम खेती गरिने भए पनि २०७१ सालदेखि प्रहरीले अफिम खेती नष्ट गर्ने अभियान चलाएको थियो । प्रहरीले अप्रेसनमार्फत नै अफिम नष्ट गर्न थालेको सुरुको वर्ष २०७१ सालमा ७७ बिघा क्षेत्रफलको अफिम नष्ट गरेको थियो । अफिम नष्ट गर्न लागेको दोस्रो अर्थात् २०७२ मा ५२ बिघा क्षेत्रफलको अफिम प्रहरीले नष्ट गरेको थियो । अफिम खेती गैरकानुनी हो भन्ने चेतना फैलँदै गएकाले अफिम खेती गर्नेहरू घटेको देखिए पनि तथ्यांकले भने त्यस्तो देखाउँदैन ।

प्रहरीले अफिम नष्ट गरेको तेस्रो वर्ष अर्थात २०७३ सालमा सबैभन्दा बढी झन्डै ८२ बिघाको अफिम नष्ट गरिएको थियो । २०७३ मा प्रहरीले दोहोर्‍याएर अप्रेसन गरेको थियो । यो वर्ष अन्दाजी सात बिघा क्षेत्रफलमा अफिम खेती रहेको सूचना आएको भए पनि अप्रेसनका क्रममा अरू पनि भेटिन सक्ने सम्भावना रहेको प्रहरीले अनुमान गरेको छ । यो वर्ष अफिम अप्रेसन विगतको भन्दा बढी प्रभावकारी हुने डीएसपी धमलाको दाबी छ । विगतमा जनप्रतिनिधि नभएको यस वर्ष जनप्रतिनिधिले पनि यो अभियानमा सहयोग गर्ने वचन दिएकाले अभियान प्रभावकारी हुने धमलाले बताए ।

अफिम नष्ट गरिएको पहिलो वर्ष २०७१ सालमा घर नजिकै अफिम खेती गरिएको पाइएको थियो । प्रहरीले त्यो खेती नष्ट गरिदिएपछि अफिम खेती गर्नेहरू लेकतिर सरेका छन् । लेकमा रहेका बारीहरू कसैको नाममा नहुने भएकाले पक्राउ नपर्ने चलाखीसहित अफिम खेती भइरहेको पाइएको प्रहरीले जनाएको छ । धेरै क्षेत्रफलमा गरिएको अफिम नष्ट गर्दा र ४/४ वर्षसम्म पनि एकजना मान्छे पक्राउ नपर्नु भने विडम्बना नै भएको जिल्लावासी बताउँछन् ।

प्रहरी भने बारीमा मात्रै अफिम भेटिने तथा बारी कसको हो भन्ने जानकारी नपाउँदा कोही पक्राउ पर्न नसकेको तर्क गर्दै आएको छ । सुरुका वर्ष अफिम खेती कानुनविपरीत हो भनेर थाहा नपाईकनै गरिएको तर्क गरेको प्रहरीले पछिल्लो समय भने अफिम खेती गरिएको बारी पत्ता लाउन नसकेको सजिलो कुरा गर्दै आएको छ । ‘यसअघिका तीन वर्ष औपचारिकतामै बित्यो, यस वर्ष प्रहरीले कसरी एक्सन लिन्छ हेर्न बाँकी छ,’ आठबीसकोट नगरपालिकाका एक शिक्षकले भने ।

प्रकाशित : वैशाख २, २०७५ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?