कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कर्णाली–रारा पर्यटन वर्ष घोषणा

रारा (मुगु) — प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ‘कर्णाली–रारा पर्यटन वर्ष अभियान’ घोषणा गरेका छन् । कर्णाली प्रदेश सरकारले २०७५ लाई अभियानका रूपमा मनाउने निर्णय गरेअनुरूप उनले रारा किनारमा आयोजित समारोहमा घोषणा गरेका हुन् ।

कर्णाली–रारा पर्यटन वर्ष घोषणा

अभियान उद्घाटनमा उनले कर्णालीका पर्यटकीय गन्तव्यलाई पहिचान गरी विकास गर्ने बताए । राराको प्राकृतिक सौन्दर्यलाई जगेर्ना गरी नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास गर्ने उनको भनाइ छ । ‘कर्णालीमा पर्यटक आगमनलाई सहज बनाउन हवाई सेवा भरपर्दाे बनाउनुका साथै सडकलाई स्तरोन्नति गरिनेछ,’ उनले भने, ‘त्यसो भयो भनेमात्र यहाँ पर्यटकीय विकास सही रूपमा अघि बढ्नेछ ।’

राराको आँगनमा पर्यटन वर्ष अभियान घोषणा गर्दै प्रधानमन्त्रीले रारालाई ‘स्वर्गकी रानी’ को संज्ञा दिए । मुगुको छायानाथ उत्कृष्ट तीर्थस्थल भएकाले त्यहाँसम्म पुग्न पर्यटकीय मार्ग बनाइने बताए । उनले प्रदेश सरकारलाई योजनासहित आउन आग्रह गरे । ‘तपाईंहरू योजना लिएर आउनुहोस्, पैसाको चिन्ता नलिनुहोस्,’ उनले भने, ‘आर्थिक स्रोत जुटाउने जिम्मा केन्द्र सरकारले लिन्छ ।’ उनले युवाहरूलाई पर्यटन विकासमा लाग्न सुझाव दिए ।

प्रधानमन्त्री ओलीले कर्णाली करिडोर समृद्ध गर्न र जाजरकोट–डोल्पा सडक निर्माणमा तीव्रता दिइने बताए । पूर्वाधार विकास नभएसम्म पर्यटन विकास असम्भव भएकाले सरकार पूर्वाधार विकासमा लाग्ने उनको भनाइ छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश पर्यटनको प्रचुर सम्भावना भएको प्रदेश भएकाले पर्यटकीय क्षेत्रको पहिचान गरी समृद्धि भित्र्याउन २०७५ लाई अभियानकै रूपमा पर्यटन वर्ष घोषणा गरिएको बताए । उनले सबैको सहयोगमा मात्र यो अभियान सफल हुने बताए । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन वर्ष सफल बनाउन केन्द्र र प्रदेश सरकार संयुक्त रूपमा अघि बढ्ने बताए ।

कर्णाली प्रदेशका विमानस्थलको विस्तार र स्तरोन्नति गरिने उनको भनाइ छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कर्णालीमा रहेको कर्णाली प्राविधिक शिक्षालयलाई भौतिक पूर्वाधारसम्पन्न बनाइने बताए । उनले पाँच वर्षसम्म सबै नागरिक साक्षर हुने लक्ष्य पनि सुनाए । पर्यटन वर्ष घोषणा अभियानको अवसरमा स्थानीयले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । रारामा पहिलोपटक प्याराग्लाइडिङसमेत सुरु भएको छ ।

हिल्सा भ्रमण
प्रधानमन्त्री ओलीसहितको टोली शनिबारै उत्तरी नाका हिल्सा पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्रीका साथै रक्षामन्त्री ईश्वर पोख्रेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलगायत सहभागी थिए ।

भ्रमणबाट फर्केपछि आयोजित पर्यटन वर्ष घोषणा समारोहमा प्रधानमन्त्री ओलीले हुम्लाको हिल्सा, मुगुको नाग्चेनाङ्ला, डोल्पाको मोरुम नाका खोल्न पहल थालिने बताए । यी नाका खुलेमा कर्णाली प्रदेशको समृद्धिको ढोका खुल्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख २, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?