कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वर्षदिनमा मुसीकोटले बनायो २४ कानुन

हरि गौतम

रुकुम (पश्चिम) — मुसीकोट नगरपालिकाले एक वर्षको अवधिमा २४ वटा कानुन निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएको एक वर्षको अवधिमा भएका दुई वटा नगर सभाबाट २४ वटा कानुन पारित भएको नगर कार्यपालिकाले जनाएको छ ।

वर्षदिनमा मुसीकोटले बनायो २४ कानुन

असार ३२ मा भएको पहिलो नगर सभाबाट ७ र गत चैत्र ३० गते भएको दोस्रो नगर सभाबाट १६ वटा कानुन पारित भएका छन् । काम गर्दै जाँदा आवश्यक परेका खण्डमा कानुन बनाएर अघि बढ्ने गरेको नगर प्रमुख देवीलाल गौतमले बताए । उनले पहिलो सभाबाट पारित ऐन, नियम, नियमावली र कार्यविधिको आधारमा हालसम्म कामकाज चलाइए पनि थप कानुनको जरुरी परेपछि दोस्रो नगर सभाबाट थप कानुन सर्वसम्मत पारित गरिएको जानकारी दिए । कामकाज अघि बढाउन समस्या परेपछि नगर सभा आह्वान गरेर कानुन पारित गरेको उनले बताए । ‘हामी अघि बढ्न समेत समस्या भइसकेको थियो, कानुन नभएपछि हामी ठप्प थियौं, त्यसैले तत्काल आवश्यक थप कानुन बनाइएको हो,’ प्रमुख गौतमले भने ।

पहिलो र दोस्रो नगरसभाबाट पारित कानुनलाई अब राजपत्रमा प्रकाशनको तयारी गरिएको छ ।



पहिलो नगर सभाले कार्यपालिकाका पदाधिकारीको आचारसंहित, नगर सभा सञ्चालन कार्यविधि, नगरपालिकाको आर्थिक ऐन, नगर कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि, नगर कार्यपालिकाको कार्य विभाजन, कार्य सम्पादन नियमावली र विनियोजन ऐन पारित गरेको थियो । दोस्रो नगर सभाले ६ वटा विधेयक, ९ वटा कार्यविधि, नियम र दिग्दर्शन तथा एउटा नियमावली पारित गरेको छ । दोस्रो नगर सभाबाट न्यायिक समतिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, स्थानीय कृषि व्यवसाय प्रवर्द्धन विधेयक, प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक, शिक्षा विधेयक र सहकारी विधेयक पारित भएको छ ।


यसैगरी उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, 'घ' वर्गको निर्माण व्यवसायीको इजाजत पत्रसम्बन्धी कार्यविधि, नगरपालिकाको राजपत्र, बजार अनुगमन निर्देशिका, एफ.एम.रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, करारमा जनशक्ति व्यवस्थापन गर्नेसम्बन्धी नमुना कार्यविधि, एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, टोल विकास समिति गठन तथा परिचालन कार्यविधि र शिक्षा नियमावली पनि दोस्रो नगर सभाले पारित गरेको छ ।


पहिलो र दोस्रो नगरसभाबाट पारित कानुनलाई अब राजपत्रमा प्रकाशनको तयारी गरिएको छ । नगरपालिकाको दोस्रो नगर सभामार्फत नगरपालिकाको राजपत्रसम्बन्धीको नियम बनाएकाले अबको हप्तादिन भित्र नगर सभाबाट पारित सबै ऐन, नियम, कानुन, नियमावली, कार्यविधिलाई राजपत्रमा प्रकाशनको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले बताए । नगर सभाबाट पारित कानुन राजपत्रमा प्रकाशन गर्नुपर्ने हुन्छ । नगर कार्यपालिका बैठकका निर्णय तथा नगर सभाबाट पारित कानुन राजपत्रमा नछापेर कामकाज चलाउन सकिने भए पनि राजपत्रमा छाप्दा त्यो थप परिपक्क हुने शर्माले बताए ।


प्रकाशित : वैशाख २, २०७५ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?