३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सामुदायिकमा नपढाए सेवाबाट वञ्चित

ज्योति कटुवाल

दैलेख — नारायण नगरपालिका २ को जाहारकोटमा बाजागाजासहित घरदैलो गरी भर्ना अभियान सुरु गरिएको छ । नयाँ विद्यार्थी खोज्दै विद्यालयले भर्ना अभियान सुरु गरेको हो ।

सामुदायिकमा नपढाए सेवाबाट वञ्चित

वडा नं २ मा तीन सामुदायिक विद्यालय छन् । त्यहाँका अभिभावकले छोराछोरी सरकारी विद्यालयमा नपढाए नगर र वडाबाट दिइने सेवा सुविधामा रोक लगाउने निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।


वडा नं २ का ३ वटा विद्यालयमा नयाँ विद्यार्थी भर्ना हुन आए एक हजार रकम दिने व्यवस्था गरिएको छ । त्यस्तै विद्यालयको गुणस्तर सुधार्न अभिभावकलाई तालिम दिन लागिएको छ ।

‘हामीलाई बालबच्चा दिनुस्, हामी विकास दिन्छौं’ भन्ने नारासहित भर्ना अभियान सुरु गरिएको वडा नं. २ का अध्यक्ष रेशम थापाले बताए । उनले आफ्नै नेतृत्वमा सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु गरिएको जनाए । उनले निजी विद्यालयमा बालबालिका पढाउने कार्यलाई निरुत्साहित गर्न विभिन्न योजनाहरू अगाडि सारिएको बताए । उनका अनुसार सरकारी विद्यालयमा बालबालिका भर्ना गरे वर्षभरिको तिरो (शुल्क) नि:शुल्क गर्ने तयारी भएको छ ।


अभियान सञ्चालन भएपछि एकै दिनमा ५१ नयाँ विद्यार्थी भर्ना गरिएको जनता मावि कोटथाप्लाले जनाएको छ । विद्यालयले अन्य विद्यालयबाट पास भएका विद्यार्थीको भर्ना गर्ने क्रम जारी राखेको जनाएको छ । पढाइलाई प्रभावकारी र शिक्षकको नियमित उपस्थितिका लागि योजना बनाएर विद्यालयलाई नमुना बनाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश थापाले बताए ।


५५ वर्षीयाको पढाइ मोह
नारायण नगरपालिका २ जारकोटका ५५ वर्षीया जयबहादर सुनार नयाँ शैक्षिक सत्र सुरु भएसँगै कक्षा १ मा भर्ना भएका छन् । उनले आफूसँगै नातिनी सरस्वतीको पनि भर्ना गराए । ६ छोराछोरी र १३ नातिनातिका हजुरबुबा सुनारले नियमित विद्यालय आउने जनाएका छन् । उनी खड आधारभूत विद्यालयमा कोलटाकुरामा कक्षा १ मा भर्ना भएका हुन् । उमेर हुँदा पढ्नुपर्छ भन्ने हेक्का नभएको र अहिले पढ्न पाए केही गर्न सक्छु भन्ने जाँगरले आफू विद्यालयमा भर्ना भएको उनको भनाइ छ । उनी एक हप्ता अगाडि बिरामी भएर नेपालगन्ज पुगेका थिए तर उनी हराए । त्यहाँ हराएपछि नपढेकै कारण यस्तो भएको भन्ने लागेर कक्षा १ मा भर्ना भएको उनको भनाइ छ । ‘त्यसपछि मलाई मन भित्रैबाट पढ्नुपर्छ भन्ने जाँगर आयो,’ उनले भने, ‘त्यसैले यहाँ आएर कक्षा १ मा भर्ना भएको हुँ ।’ उनले शरीरले धानुन्जेल आफूले अध्ययनलाई निरन्तरता दिने जनाए ।


उनी भर्ना भएको देखेर अन्य स्थानीयसमेत उत्साहित भएको नारायण नगरपालिका २ का वडाअध्यक्ष रेशम थापाले बताए । उनलाई एक हजार पोसाक खर्च प्रदान गरिएको वडा अध्यक्ष थापाले बताए ।

प्रकाशित : वैशाख ३, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?