बिहेको आश्वासन दिई गर्भवतीको हत्या

कान्तिपुर संवाददाता

सुर्खेत — पञ्चपुरी नगरपालिका–२ सालकोटकी गीता चपार्इं र बराहताल–८ कुनाथरीका सुभाष बोहराबीच एक वर्षअघि साथी (परिवर्तित नाम लक्ष्मी) मार्फत चिनजान हुन पुग्यो । पहिलो भेटमै उनीहरूले मोबाइल नम्बर आदानप्रदान गरे । त्यसपछि बारम्बार फोन सम्पर्क हुन थाल्यो ।

फोनबाटै उनीहरूबीच प्रेम झांगिँदै गयो । अन्तत: एकले अर्कालाई छुट्नै नसक्ने माया बस्यो । दुवैजनाले असार ६ गते सालकोटको पलैटेबजारमा भेट गरे । भेटपछिको फोनमा विवाह गर्ने निष्कर्षमा पुगे, गीता र सुभाष ।

फोन कुराकानी, दुईपटकको भेट तेस्रो पटकसम्म आउँदा शारीरिक सम्पर्कमा परिणत भयो । असारदेखि पुस ४ गतेसम्म पटक–पटकका भेटमा यौनसम्पर्क भयो । बिहेअघि नै गीता गर्भवती हुन पुगिन् । बिहे गर्न सुभाषलाई आग्रह गरिरहिन् । गीताको आग्रहलाई सुभाषले स्वीकार गरेनन् । यदि बिहे नगरे घरमा गएर आत्महत्या गर्ने गीताको धम्कीपछि सुभाष भेट्न बाध्य भए । अन्तिम भेट अर्थात् पुस ४ को राति ९ बजे उनीहरूबीच बिहेकै विषयमा विवाद भयो । विवादपछि बिहे गर्छु भनी आश्वासन दिएर जामुने जंगलमा लगेर गीतालाई भीरबाटै धकेलिदिए । गीताको घटनास्थलमै मृत्यु भयो । गीताको हत्यापछि फरार १९ वर्षीय सुभाषलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यही चैत २८ गते पक्राउ गर्‍यो । जामुनेमा माघ ९ गते टाउको (कंकाल) फेला पारेको प्रहरीले लामो अनुसन्धानपश्चात अभियुक्तलाई भुम्ती गाउँपालिका–४ काभ्रेबाट पक्राउ गर्‍यो । झन्डै चार महिनापछि पक्राउ परेका सुभाषले गीताको हत्या गरेको स्वीकारे । उनी काभ्रेमा लुकीछिपी मजुदरी गर्दै आएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले मानसिक दबाबमा परी सुभाषले गीताको योजनाबद्ध तरिकाले हत्या गरेको जनाएको छ । ‘दुलही स्वीकारेर घर लैजान हिँडाएका’ उनले योजनाबद्ध रूपमा भीरबाट धकेलेको बताए । जिल्ला प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले ग्रिनपार्क एकेडेमी, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय हुँदै जामुने जंगल पुगेका सुभाषले घाँटी थिचिथिची खोल्सामा फालेको बयानबाट खुल्न आएको बताए । ‘गीताको चप्पल र कपालमा लगाउने काँटा भीरमै भेटियो,’ एसपी चतुर्वेदीले भने, ‘टाउको कंकाल मात्रै भेटिएकाले कसरी हत्या भयो ? विस्तृत अनुसन्धान हुनै बाँकी छ ।

गीताको सामसुङ मोबाइलसहित सुभाष भोलिपल्ट पुस ५ गते घर हुँदै वीरेन्द्रनगर आएका थिए । सुरक्षित स्थानको खोजीमा उनी त्यसै दिन वीरेन्द्रनगरबाट काठमाडौं गएको प्रहरी अनुसन्धानले जनायो । कल डिटेलअनुसार फोन र फेसबुक म्यासेन्जरमा भएका कुराकानीको अनुसन्धान गर्दै जाँदा उनी पक्राउ परेका हुन् । ‘कल डिटेल हेर्दा नयाँ नम्बरबाट ३७ सेकेन्ड फोन गरेको पाइयो,’ एसपी चतुर्वेदीले भने, ‘फेसबुक ह्याक गर्दा भेटौंन, केही गर्दिनँ जस्ता कुराकानी भएको छ, हत्या उसैले (सुभाष) नै गरेको पाइयो ।’ प्रहरीले सुभाषमाथि कर्तव्य ज्यान अभियोगमा मुद्दा दर्ता चलाइसकेको छ । प्रहरीले बेवारिसे अवस्थामा टाउकाको कंकाल भेटिएपछि अनुसन्धान थालेको थियो ।

प्रकाशित : वैशाख ४, २०७५ १०:२३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जग्गा सस्तिने डरले बाँझो

उद्योग व्यवसाय, जागिर र वैदेशिक रोजगारीलाई प्राथमिकता दिँदा धान फल्ने खेत खेर गए
कान्तिपुर संवाददाता

परासी — स्थानीय तहले बढ्दो प्लटिङ रोक्न भूमि नीति ल्याउने र कढाइ गर्ने भने पनि जिल्लामा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दो छ ।

ग्रामीण क्षेत्र र पहाडबाट बसाइँ सर्ने क्रम बढेपछि तराईको खेतीयोग्य जमिन बाँझिँदै गएको हो । धमाधम बाटो खोल्ने र प्लटिङ गर्ने क्रम बढेपछि उर्वरभूमि प्रयोगविहीन बनेको छ । जिल्लाका मुख्य व्यापारिक केन्द्र बर्दघाट, सुनवल, परासी र आसपासमा धमाधम प्लटिङ हुन थालेको छ । बजारमा बस्तीका लागि घडेरी सकिएको भन्दै घरजग्गा कारोबारीले अहिले गाउँगाउँ पुगेर बिजुलीको पोल गाड्ने र बाटो खन्ने गरिरहेका छन् । हकुहीका भुवन यादवका अनुसार बढ्दो औद्योगिकीकरण, बस्ती विकास र काम गर्ने युवा विदेशिएकाले खेती गर्न छाडिएको छ ।

‘सर्वसाधारणले समेत खेती गर्‍यो भने जग्गाको मूल्य सस्तो हुने भन्दै बाँझै राखेर ग्राहक खोज्न थाले,’ उनले भने, ‘मेहनत नगरी छिट्टै पैसा कमाउन चाहनेका कारण जग्गाको मूल्यसमेत अस्वाभाविक रूपमा बढेको छ ।’ सडकलाई छोएको जग्गा उद्योग र घडेरीका लागि भन्दै बाँझो राख्दा छिट्टै बिक्री हुने भएकाले खेती नगर्ने क्रम बढेको उनले बताए । कृषिले परिश्रम पनि नउठ्ने, बजार नपाउने तथा मजदुरसमेत पाउन छाडेपछि यस क्षेत्रका अधिकांशले व्यवसाय, जागिर र वैदेशिक रोजगारीलाई प्राथमिकता दिएकाले जग्गा बाँझो रहेको हो । रामग्राम नगरपालिकाले बढ्दो प्लटिङ तथा अव्यविस्थत बसोबास रोक्न नगरभित्र विभिन्न खेतीको ब्लक छुट्टाउने तथा बसोबासका लागि पनि दीर्घकालीन योजना बनाएको छ ।

नगर प्रमुख नरेन्द्र गुप्ताका अनुसार कृषिमा पनि आलु, मकै, धान, माछापालन, बदामजस्ता खेतीलाई प्रोत्साहन गरेर किसानले कृषिबाटै आम्दानी गर्न सकिन्छ भन्ने विश्वास दिलाउने गरी काम भइरहेको उनले बताए । ‘हामीले भूउपयोग नीतिबारे औद्योगिक, कृषि क्षेत्र, बसोबास र व्यावसायिक क्षेत्र गरेर दीर्घकालीन योजना बनाउँदैछौं,’ उनले भने, ‘कृषि बजार सुनिश्चितता र अनुदान वृद्धि गरेर बाँझो राख्नेलाई खबरदारी गर्न सकियो भने धमाधम खेती सुरु हुन्छ ।’

खेतीयोग्य जमिन त्यसै छाडेर सुविधाका लागि बजार आउनेले प्राय: प्लटिङ जग्गा किन्ने गर्छन् । जसले गर्दा पहाडी क्षेत्रमा खाली रहने तथा बजारमा खेतीयोग्य सकिँदै गएको छ । ग्रामीण क्षेत्रमा अधियाँ कमाउने, अर्मपर्म गर्ने प्रचलन हट्नु, सिँचाइ प्रबन्ध नहुनु तथा युवा जनशक्ति विदेश पलाएन हुनुले पनि स्थानीयले खेती गर्न छाडेका हुन् । खेती गर्न छाडेपछि जमिनको उर्वराशक्ति घट्दै गएको र बाँझो बढेको कृषि कार्यालयले बताएको छ ।

मालपोत परासीमा मात्र दिनकै ५० भन्दा बढी जग्गा पासका लागि आउने गर्छन् । पश्चिम नवलपरासीको मुख्य राजमार्ग आसपासमा अहिले जग्गा निकै महँगो भएको छ । कृषिमा भन्दा पढेलेखेका युवा विदेश पलायन वा स्वदेशमै भए पनि जागिर र व्यवसायमा लागेपछि सयौं हेक्टर जमिन प्रयोगविहीन भएको हो । कृषि विकास कार्यालयका अनुसार ७९ हजार १ सय ४९ हेक्टर खेतीयोग्य जमिनमध्ये ७० हजार १ सय ४९ मा खेती गरिन्छ ।

प्रकाशित : वैशाख ४, २०७५ १०:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT