कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अझै सुरु भएन भर्ना अभियान

सुर्खेत र काठमाडौंका बोर्डिङ छाडेर गाउँको सरकारी विद्यालयमा ५ जना भर्ना
तुलाराम पाण्डे

कालिकोट — सरकारले वैशाख १ गते नै देशभर भर्ना अभियान सुरु भएको घोषणा गरे पनि यहाँका अधिकांश विद्यालयमा यसले छोएको छैन । अधिकांश विद्यालयले नतिजा प्रकाशन गरेका छैनन् । केही खुलेका विद्यालयमा पनि एक शिक्षक वा लेखापाल बसेर नाम लेख्न आउनेको भर्ना गरेका छन् ।

अझै सुरु भएन भर्ना अभियान

विद्यार्थी पनि फाट्टफुट्ट मात्र विद्यालयमा देखिएका छन् । वार्षिक परीक्षा सकेर जिल्ला बाहिरका अधिकांश शिक्षक घरतिर गएका छन् । यहाँको खाडाचक्र ७ पिलीस्थित कालिका माविले वार्षिक परीक्षाको नतिजा प्रकाशन पनि गरेको छैन ।

त्यस्तै, यहाँको रास्कोट नगरपालिका १ मा पर्ने सुन्दर निमावि रामपुर, सालडाँडा निमावि बद्रीगाउँलगायतका १९ वटा विद्यालयले वार्षिक परीक्षाको नतिजा नै सार्वजनिक गरेका छैनन् । ‘५ गते नतिजा प्रकाशन गरेर ७ गतेदेखि भर्ना अभियान चलाउँछौं ।’ कालिका मावि पिलीका प्रधानाध्यापक हंसबहादुर शाहीले भने, ‘१० गतेपछि कोही छुटे भने घरदैलो गर्ने सोच छ ।’ उनले सेवा क्षेत्रका सबै घरधुरीका बालबालिकाबारे विद्यालयलाई जानकारी भएकाले भर्नामा कोही नछुट्ने बताए । प्रावि दरबन्दी मात्र भएको कालिका माविमा निजी स्रोतका शिक्षकले मावि सञ्चालन गरिरहेका छन् ।

वैशाख १ गतेदेखि पचालझरना पर्यटन तथा सांस्कृतिक महोत्सवको आयोजना गरेको पचालझरना गाउँपालिकाअन्तर्गतका प्राय: सबैजसो विद्यालयले भर्ना अभियान सुरु गरेका छैनन् । सबैजसो विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक महोत्सवको रमझममा छन् । यहाँका बदालकोटका सरस्वती मावि सिकु, कालिका निमावि खयरकोट, जनता मावि खार्दु, ज्ञानोदय मावि राम्नाकोट, सरस्वती मावि नानीकोट, पञ्चकालिका मावि बाझकोटलगायतका २७ वटै विद्यालय परिवार महोत्सवमा छन् । महोत्सव सकिएपछि भर्ना अभियान सुरु गरिने गाउँपालिका अध्यक्ष खडराज सेजुवालले बताए । ‘विद्यार्थी भर्ना अभियान महोत्सवपछि गर्ने तयारी छ ।’ सेजुवालले भने, ‘यसअघि भर्ना नभएका विशेष अवस्थाका बालबालिकालाई भर्ना गर्ने गाउँपालिकासँग व्यवस्थित योजना नभए पनि पहल गर्छौं ।’

चैत ३० गते नतिजा प्रकाशन गरेको सदरमुकाम मान्मस्थित महादेव निमावि बालमन्दिरमा वैशाख ३ गते शिक्षक विद्यालय गए पनि विद्यार्थी भर्ना हुन कोही नआएको प्रधानाध्यापक नन्दा शाहीले बताइन् । ‘नयाँ विद्यार्थी आउने सम्भावना छैन,’ शाहीले भनिन्, ‘पुरानैको नाम सार्ने काम गर्ने हो, टाइम लाग्दैन ।’

त्यस्तै, यहाँको मस्टा सरस्वती मावि बुठिगेले पनि चैत ३० गते नतिजा प्रकाशन गरेर २ गतेबाट भर्ना सुरु गरेको प्रधानाध्यापक टेकबहादुर बटालाले बताए । उनका अनुसार सुर्खेत, काठमाडौंका बोर्डिङ छाडेर गाउँको सरकारी विद्यालयमा ५ जना भर्ना हुन आएका छन् । उनको विद्यालय गत वर्ष शिक्षा दिवसमा मध्यपश्चिमबाट उत्कृष्ट भएको थियो । कर्णालीको रारा पुगेर वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले विद्यालय भर्ना अभियान सुरु गरे पनि छिमेकी जिल्ला कालिकोटमा त्यसको प्रभाव नपर्नु सरोकारवालाको गैरजिम्मेवारीपना भएको नागरिक समाजका संयोजक दमनराज बमले बताए । वर्षे बिदा हुने यहाँका अधिकांश विद्यालयले हालसम्म वार्षिक परीक्षाको नतिजासमेत सार्वजनिक नगर्नु पनि स्थानीय तह जिम्मेवार नहुनुको प्रमाण भएको उनले सुनाए । उनका अनुसार नतिजा प्रकाशित गरेका विद्यालयमा पनि भर्नाका लागि शिक्षक, अभिभावक र विद्यार्थी उत्साहित देखिएका छैनन् ।

यहाँको नरहरिनाथ गाउँपालिकाले जनप्रतिनिधिका बालबालिका सरकारीमा पढाउने निर्णय गरेअनुसार वडा नं. १ का सदस्य पंखबहादुर विष्टले दुई छोराछोरी आइतबार नन्दादेवी मावि कोटवाडामा भर्ना गरेको सहयात्रा परियोजना सहजकर्ता झुपा विकले बताइन् । सरकारले स्थानीय तहलाई शिक्षासम्बन्धी अधिकार र जिम्मेवारी दिएको भए पनि आवश्यक पहल भएको देखिएको छैन । सबै तहले आ–आफ्नो पालिकामा विद्यार्थी भर्नाका लागि तयारी बैठक गर्नुपर्नेमा नरहरिनाथबाहेक अरूले गरेका छैनन् । शिक्षासम्बन्धी अन्तक्र्रियामा शिक्षकको सेवा सुविधामै छलफल बढी केन्द्रित भएको एक नगरपालिकाका प्रशासकीय अधिकृतले कान्तिपुरलाई बताए । ‘शिक्षामा पहँुच वृद्धि, गुणस्तर सुधारभन्दा पनि स्थानीय तहले गरेका अन्तक्र्रियामा शिक्षकहरू सेवा सुविधामा बढी केन्द्रित देखिए ।’ ती अधिकृतले भने, ‘जनप्रतिनिधिलाई पनि शिक्षासम्बन्धी धेरै जानकारी नभएकाले शिक्षकले आफूअनुकूल निर्णय गराउन थाले ।’

यहाँको जिल्ला शिक्षा कार्यालय नयाँ संरचनामा जिल्ला प्रशासनको मातहतमा रहने गरी शिक्षा विकास तथा समन्वय इकाइ नामकरण गरे पनि सक्रिय भएको छैन । कर्मचारीमा पनि उत्साह छैन । ‘हाजिर गर्ने नै ठेगान छैन ।’ निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका विद्यालय निरीक्षक जसीप्रसाद चौलागाईंले भने, ‘खाडाचक्र नगरपालिकाले कहिले कार्यालय खाली होला र आफू बसौंलाझैं गरेर पत्राचार गरेको छ ।’ उनका अनुसार जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारी अचेल पोखरामा छन् । यहाँका कर्मचारी दुईजना प्रास र एकजना विद्यालय निरीक्षक कालिकोटबाटै तलबभत्ता खाने गरी घरपायक सरुवामा गएका छन् । बर्दिया घर भएका विनि दलबहादुर चौधरी राजापुर बर्दिया, प्रास ज्योति गैरे सिम्ता गाउँपालिका सुर्खेत र अर्का प्रास राजेशकुमार यादव विष्णुपुर गाउँपालिका सप्तरीका छन् ।

पाठ्यपुस्तक गाउँ पुगेनन्
यहाँका विक्रेताले नेपालगन्जबाट पाठ्यपुस्तक सदरमुकाम मान्म पुर्‍याए पनि अधिकांश विद्यालय लिन आएका छैनन् । यहाँका हिउँदे बिदा भएर फागुनमा शैक्षिक सत्र सुरु भएका फोइमहादेव, राचुली, चिल्खाया र ओदानकुमा विद्यालयले पाठ्यपुस्तक लगेका भए पनि वर्षे बिदा हुने २ नगरपालिका र ५ गाउँपालिकामा पर्ने २ सय बढी विद्यालयले पाठ्यपुस्तक लगेका छैनन् । ‘केहीले अडर गरेका छन् ।’

पाठ्यपुस्तक ढुवानीको जिम्मा पाएको हाम्रो स्टेसनरीका राजकुमार शाहीले भने, ‘अधिकांश विद्यालय अझै सम्पर्कमा आएका छैनन् ।’ उनले सरकारले नि:शुल्क वितरण गर्ने पाठ्यपुस्तकको रकम विद्यालयको खातामा जाने भएकाले शिक्षकले समयमै पुस्तक नलगेर रकम अन्यत्र खर्च गर्ने प्रवृत्ति रहेको सुनाए । केही विद्यालयका शिक्षक त बिल माग्न मात्र आउने उनले सुनाए । ‘केही विद्यालयले पुरानै पुस्तक प्रयोग गर्छन् ।’ एक दशकदेखि पुस्तक आपूर्ति गर्दै आएका शाहीको अनुभव छ, ‘केहीले विद्यार्थी बढाएका हुन्छन्, थोरै किताब लगे पनि हुन्छ ।’

२ सय ९४ वटा विद्यालय रहेको कालिकोटमा ५४ हजार विद्यार्थी छन् । अझै पनि जिल्लाभर करिब ३ हजार विद्यार्थी विद्यालय बाहिर छन् ।

प्रकाशित : वैशाख ४, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?