सुत्केरीलाई खर्च

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाका १४ मध्ये कुनै पनि वडामा गएर बच्चाको जन्मदर्ता गराउने आमाले सुत्केरी खर्च पाउन थालेका छन् । नगरपालिकाले नगरभित्रका सुत्केरीको सुत्केरी खर्च व्यहोर्ने निर्णय सोमबारदेखि कार्यान्वयनमा ल्याएको छ ।

सुत्केरीलाई खर्च

स्वास्थ्य संस्थामा सुत्केरी भएर बच्चाको जन्मदर्ता गरिसकेपछि हरेक सुत्केरी आमालाई नगरपालिकाले स्थानीय चामल ५ केजी, स्थानीय तोरीको तेल २.५ लिटर, स्थानीय दाल ३ केजीे, स्थानीय जिरा, ज्वानो र सिजनअनुसारका तरकारीको बीउसहितको झोला प्रदान गर्न थालेको छ । २०७४ मंसिरयता सुत्केरी भएकाहरूले पनि यो सेवा पाउनेछन् ।

नगरप्रमुख गोर्खबहादुर केसीले आमा र बच्चाको स्वास्थ्यका लागि सुत्केरी खर्चबापत पोषिलो खानेकुरा प्रदान गर्न सुरु गरिएको बताए । ‘मातृ तथा नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर यो कार्यक्रम सुरु गरिएको छ,’ नगरप्रमुख केसीले भने, ‘यसबाट आमा तन्दुरुस्त रहने तथा नवजात शिशु कुपोषणबाट जोगिने विश्वास नगरपालिकाको छ ।’ वडा कार्यालयमा गएर बच्चाको जन्म दर्ताको प्रमाणपत्रसहित आमाले सुत्केरी खर्च पनि सँगसँगै पाउनेछन् ।

सुत्केरी खर्चका लागि बच्चाको जन्मदर्तालाई नगरपालिकाले अनिवार्य सर्त बनाएको छ । स्वास्थ्य संस्थामै बच्चा जन्माएका तथा घरमै जन्माएकालाई पनि यो सेवा दिइनेछ । स्वास्थ्य संस्थामै बच्चा जन्माउनुपर्ने अनिवार्य सर्त भए पनि केही समयका लागि त्यसलाई अनिवार्य नबनाइएको नगरपालिकाले जनाएको छ ।

नगरका सबै ठाउँमा प्रसूतिगृह बनिनसकेकाले हाललाई स्वास्थ्य संस्था तथा घरमै सुत्केरी भएकाले पनि सुत्केरी खर्च पाउनेछन् । नगरपालिकाले दिने सुत्केरी खर्च पर्याप्त नभए पनि सुत्केरी अवस्थामा आमा र बच्चाका लागि पोषिला खानेकुरा जरुरी रहेछ भन्ने सिकाउन पनि यो कार्यक्रम सुरु गरिएको नगरप्रमुख केसीले बताए । ‘नगरपालिकाले एकजना सुत्केरीका लागि दुई हजार मूल्य बराबरका स्वास्थ्यका लागि अनिवार्य तथा पोषिला स्थानीय खानेकुरा दिनेछ, त्यसले सुत्केरीलाई पर्याप्त त हुँदैन तर कम्तीमा सुत्केरी र शिशुका लागि कस्ता खानेकुरा र किन खाने भन्ने सन्देश भने फैलिने उद्देश्य राखिएको छ,’ नगरप्रमुख केसीले भनेका छन् । गत मंसिर महिनायता सुत्केरी भएका तथा स्वास्थ्य संस्थाको तथ्यांकअनुसार यो आर्थिक वर्षभरि करिब ४ सय सुत्केरी हुने अनुमान गरिएको छ ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सुत्केरी आमाहरूलाई सोमबार सुत्केरी खर्चसहितको झोला प्रदान गरेर यो कार्यक्रमको सुरुवात गरे । शर्माले नगरपालिकाले थालेको कार्यक्रमले भावी पुस्ता र आमाको स्वास्थ्यमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे । आधारभूत स्वास्थ्य त्यसमाथि पनि आमा र नवजात शिशुको स्वास्थ्यको सुधारमा यो कार्यक्रमको महत्त्वपूर्ण भूमिका हुने उनले उल्लेख गरे । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपायका रूपमा यो कार्यक्रम आएको र यसको फाइदा लिनका लागि सहयोग गर्न उनले सबै नगरवासीलाई आह्वान पनि गरेका छन् ।

प्रकाशित : वैशाख ४, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?