मेहनत गरेर पढेकालाई रोजगारीको चिन्ता छैन : मन्त्री बस्नेत
जाजरकोट — वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बालबालिकालाई विद्यालयमा भर्ना गरेर विद्यार्थी भर्ना अभियानको सुरुआत गरेका छन् ।
मन्त्री बस्नेतले बुधबार शिव माध्यमिक विद्यालय कालेगाउँमा एक बालक र एक बालिकालाई भर्ना गरेर अभियानको सुरुआत गरेका हुन् । मन्त्री बस्नेतले भेरी नगरपालिका-१ का प्रमोद रावतलाई १ कक्षा र शर्मिला विकलाई ७ कक्षामा भर्ना गरेर अभियानको सुरुआत गरेका हुन् । उनले भर्नासँगै ती बालबालिकालाई पाठ्यपुस्तक र शैक्षिक सामाग्री समेत उपलब्ध गराएका छन् ।
विद्यार्थी भर्ना अभियान कार्यक्रममा मन्त्री बस्नेतले प्रत्येक ब्यक्तिले १ विद्यार्थीलाई अनिवार्य भर्ना गर्नुपर्ने सामाजिक दायित्व भएको बताएका छन् । गुणस्तरीय शिक्षाका लागि शिक्षक तथा विद्यार्थीमा मेहेनेत तथा इच्छाशक्तिको खाँचो भएको बताउँदै उनले हरेक दिन विद्यार्थीले एउटा नयाँ कुरा अनिवार्य सिक्नु पर्ने बताए ।
उनले एक/दुई जना विद्यार्थी भर्ना गर्नमा मात्र यो अभियान सीमित नभई गुणस्तरी शिक्षा प्राप्तिका लागि कुनै पनि बालबालिका वन्चित नहुने अवस्थाको निश्चित हुनु पर्नेमा जोड दिए । उनले पढेर रोजगारी पाइदैन भन्ने चिन्ता नलिन विद्यार्थीहरुलाई सुझाए । ‘मेहनत गरेर पढ्नुहोस् रोजगारीको चिन्ता छैन,’ उनले भने 'पढ्न नपाएकालाई पढाउने र रोजगारीको ग्यारेन्टी गर्ने काम सरकारको हो ।’
देशैभरि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको बेला जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटले पनि जिल्लाका ४ सय ४८ विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । इकाईले ‘हामी सबै ईच्छा अनिवार्य नि:शुल्क आधारभूत शिक्षा, विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गरौं, बालबालिकाको शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न जिम्मेवार बनौं’ भन्ने मूल नाराका साथ जिल्लावासीमा विद्यार्थी भर्नाको लागि सार्वजनिक सूचना समेत गरेको छ ।
विद्यालय जाने उमेर समूहका ८० हजार बालबालिकामध्ये ४ हजार ५ सय विद्यालयभन्दा बाहिर रहेको जिल्ला शिक्षा अधिकारी ललीतविक्रम सिंहले बताए । यस्ता बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकारको सुनिश्चिचताका लागि सरोकारवाला सबैले प्रचारप्रसार गरेर सहयोग गरीदिन सम्पूर्णमा अनुरोध गरेको सिंहले बताए । जिल्लाभरका विद्यालयमा बुधबारसम्म २५ प्रतिशत विद्यार्थी मात्र भर्ना भएको उनले बताए ।
शिक्षक दरबन्दीको अभाव, भौतिक पूर्वाधारको कमी, अमर्यादित परीक्षा प्रणाली, पठनपाठनमा नियमितता नहुनुलगायत चुनौतीका कारण शैक्षिक गुणस्तर वृद्धिमा समस्या आएको सिंहले बताए । जिल्लामा ७ सय २ शिक्षक कम भएको र १ सय ५० विद्यालय शिक्षक दरबन्दीविहीन रहेको उनले बताए ।
प्रकाशित : वैशाख ५, २०७५ १८:३९