३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

शैक्षिक सुधार चुनौतीपूर्ण

शिक्षक दरबन्दीको अभाव र भौतिक पूर्वाधारको कमी 
भीमबहादुर सिंह

जाजरकोट — नयाँ शैक्षिक सत्र २०७५ को सुरुवातसँगै जिल्लाभरका विद्यालयमा मंगलबारसम्म २५ प्रतिशत विद्यार्थी मात्र भर्ना भएका छन् । पठनपाठनको सुरुवात भएको छैन । कतिपय विद्यालयमा कुनै पनि विद्यार्थी भर्ना हुन आएका छैनन् ।

शैक्षिक सुधार चुनौतीपूर्ण

विद्यालयमा विद्यार्थी भर्नासँगै छात्रवृत्ति वितरण, पाठ्यपुस्तक वितरणलगायत क्रियाकलाप पनि सञ्चालन भइरहेका छन् । तर जाजरकोटमा शैक्षिक सुधारका चुनौती भने उत्तिकै छन् । शिक्षक दरबन्दीको अभाव, भौतिक पूर्वाधारको कमी, अमर्यादित परीक्षा प्रणाली, पठनपाठनमा नियमितता नहुनुलगायत चुनौतीका कारण शैक्षिक सुधारमा समस्या आउने गरेको छ ।

शिक्षक दरबन्दी अभाव

जिल्लाका ४ सय ४८ विद्यालयमा ६८ हजार विद्यार्थी अध्ययनरत छन् । ती विद्यालयमा शिक्षक–विद्यार्थी अनुपातअनुसार ७ सय २ शिक्षक कम छन् । २७ माध्यमिक विद्यालयसहित १ सय ५० विद्यालय शिक्षक दरबन्दीविहीन छन् । यहाँका १५ हजार विद्यार्थी शिक्षकबिना नै पढ्न बाध्य छन् । छेडागाड नगरपालिकामा मात्र १५ वटा माविमा एकजना पनि शिक्षक छैनन् ।

दरबन्दी अभावमा जिल्लामा विद्यार्थी–शिक्षक अनुपात उच्च छ । जसले गर्दा परिणाम शैक्षिक गुणस्तर वृद्धिमा समस्या आएको छ । शिक्षक–विद्यार्थी अनुपातमा भक्तपुरमा प्रतिशिक्षक ९ विद्यार्थी, ललितपुर र काठमाडौंमा प्रतिशिक्षक ११ विद्यार्थी र मनाङमा १ शिक्षकलाई ७ विद्यार्थी भागमा पर्ने गरेका छन् । तर जाजरकोटमा भने प्रतिशिक्षक ६० विद्यार्थी अनुपात रहेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । यहाँ मावि तहमा प्रतिशिक्षक ८० विद्यार्थी अनुपात छ । ‘यो अनुपात उच्च हो,’ उनले भने । जिल्लामा १ हजार ३ सय ५३ शिक्षक कार्यरत छन् । जिल्लाका प्राविदेखि माविसम्म विद्यालयमा ८ सय २३ दरबन्दी र ५ सय ३० राहत तथा अनुदान शिक्षक रहेको उनले बताए । अधिकांश विद्यालय निजीस्तरका शिक्षकको भरमा सञ्चालन हुने गरेको उनले बताए । निजी शिक्षकलाई तलब खुवाउन अभिभावक आर्थिक भार बोक्न बाध्य रहेको उनले बताए ।

शिक्षा विभागले गत आर्थिक वर्षदेखि प्रतिविद्यार्थी अनुदान रकम (पीसीएफ) कटौती गरेपछि दरबन्दीविहीन विद्यालयका विद्यार्थीको पढाइ अलपत्र परेको छ । पीसीएफ कटौतीले १५ हजार विद्यार्थीको पढाइ प्रभावित बनेको छ ।

प्राथमिकदेखि माध्यमिक तह सञ्चालन गरेका विद्यालयले आर्थिक स्रोत अभाव भन्दै शिक्षक नराखेपछि विद्यार्थी पढाइबाट वञ्चित भएका हुन् । जाजरकोटका २ सय २७ विद्यालयका २ सय ५० शिक्षकका लागि निकासा हुने उक्त रकम आउन बन्द हँुदा पठनपाठन प्रभावित बनेको हो । विभागले २७ माध्यमिक, १ सय ४० प्राथमिक र ६० आधारभूत विद्यालयमा आउने उक्त अनुदान कटौती गरेको छ । स्वीकृत तथा राहत दरबन्दीसमेत नभएका विद्यालयमा आउने प्रतिविद्यार्थी अनुदान रकम कटौती हुँदा विद्यार्थीको पढाइ अलपत्र परेको जिल्ला शिक्षा अधिकारी सिंह बताउँछन् ।

‘विगत शैक्षिक सत्रमा पीसीएफ शीर्षकमा निकासा हुने रकमबाटै पारिश्रमिक खाने गरी विभिन्न तहमा शिक्षकहरू नियुक्त भएका थिए । उनीहरूकै भरमा विद्यालयको पठनपाठन सञ्चालन हुने गरेको थियो,’ जिल्ला शिक्षा अधिकारी सिंहले भने, ‘पीसीएफ अनुदान नै कटौती भएपछि बिनापारिश्रमिक शिक्षकले पढाउने कुरा भएन । जसका कारण विद्यार्थीहरू पढाइबाट वञ्चित भएका हुन् ।’ कतिपय विद्यालय शिक्षकविहीन बन्न पुगेको उनले बताए । जिल्लाका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी अभाव छ । निजी शिक्षकको भरमा मात्र विद्यालयमा गुणस्तरीय पठनपाठन असम्भव रहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ६, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?