विदेशबाट फर्केर बंगुरपालन

हरि गौतम

रुकुम — बाँफिकोट गाउँपालिका–१, का २८ वर्षीय रामबहादुर केसी ४ वर्ष मलेसिया बसे । कमाइ चित्तबुझ्दो थियो । काम र काम गर्ने समय पनि उनलाई मन परेकै थियो । चार वर्षसम्म उनको कमाइ राम्रै भयो ।

विदेशबाट फर्केर बंगुरपालन

फेरि फर्कने सुरमा घर आएका उनी अब नफर्कने मनसायमा पुगेका छन् । मिहिनेत र लगानी गर्ने हो भने स्वदेशमै केही गर्न सकिन्छ भन्ने उद्देश्यसहित उनले बंगुरपालन थालेका छन् ।

घरमा रहेका दुईवटा बंगुरलाई व्यावसायिक रूपमा पाल्ने योजना बनाएका उनी छुट्टीमा आएर उनी फेरि मलेसिया गएनन् । ‘मिहिनेत गर्न सक्ने र धैर्यता जोगाउने हो भने यही धेरै गर्न सकिन्छ भन्ने लाग्छ,’ उनले भने, ‘हेरौं धेरै गर्ने आशासहित काम थालेको छु ।’ उनले परम्परागत खोरमा उत्पादन गरेका पहिलो लटका २२ वटा बंगुर बिक्री गरी सकेका छन् । त्यसबाट राम्रै आम्दानी गरेका उनले बंगुरपालनलाई थप व्यवस्थित बनाउन १० वटा माउ बंगुर पाल्ने गरी आधुनिक खोर पनि निर्माण गरेका छन् ।

‘मैले व्यावसायिक बंगुरपालनका लागि आधुनिक खोर निर्माण गरेको छु, त्यसबाट परम्परागत खोरबाट भन्दा बढी आम्दानी हुने अपेक्षा गरेको छु,’ उनले आÏनो योजना सुनाए । आँगनमै रहेको आत्मनिर्भरताको बाटो बिर्सेर विदेशिएको भन्दै उनले अब बंगुरपालनलाई पूर्ण व्यावसायिक बनाउने योजना रहेको सुनाए । यसअघि उनले परम्परागत खोरमा बंगुर पालेका थिए । हाल उनीसँग १८ वटा बंगुर छन् । यसअघिको बंगुरपालनको अनुभवको आधारमा आधुनिक खोर निर्माण र व्यावसायिकतामा जाने योजना उनले बनाएका हुन् । ‘यसअघि परम्परागत तरिकाले बंगुर पाल्दा पनि वर्षमा सवा लाख कमाइ भयो, यसलाई व्यवस्थित गराउन सके थप कमाइ हुने भएकाले म यतापट्टि लागेको हुँ,’ उनले भने ।

उनले उत्पादित सबै बंगुर दाङ पठाएका थिए । घरै पुगेर व्यापारीले १ लाख १५ हजार रुपैयाँमा बंगुर लिइदिएपछि रामबहादुर थप हौसिएका हुन् । उनले बंगुर सँगसँगै माछा र कुखुरापालनलाई पनि अघि बढाउने योजना बनाएका छन् । आधुनिक खोरबाट बंगुरको पहिलो उत्पादन लिइसकेपछि माछा र त्यसपछि कुखुराको व्यावसायिक पालन थाल्ने बृहत् योजना रहेको उनले सुनाए । दाङको बजारलाई आधार मानेर बंगुर, माछा र कुखुरा एकीकृत रूपमा पाल्ने योजना रहेको उनले बताए । माछा र कुखुरापालनका लागि जग्गाको व्यवस्थापन गर्न आवश्यक तयारी गरिरहेका छन् ।

प्रकाशित : वैशाख ७, २०७५ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?