१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मदिरा रोक्दा हिंसामा कमी

तुलाराम पाण्डे

थिर्पु (कालिकोट) — मदिराले दिनहुँजसो झैझगडा हुने पलाता गाउँपालिकामा अहिले झगडा हुन छाडेको छ । चरम गरिबी, खाद्यान्न अभाव, स्वास्थ्य सेवाको पहुँचको कमी, खानेपानीको अभाव रहेको पलातामा मदिरा निषेध गरिएपछि यो प्रभाव परेको हो । पलातालाई गत साउन १ देखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । 

मदिरा रोक्दा हिंसामा कमी

अहिले गाउँमा रक्सी खाएर होहल्ला गर्ने र महिलामाथि हिंसा गर्नेको संख्यामा कमी आएको नागरिक समाजकी अगुवा तारा आचार्य बमले बताइन् । ‘गाउँमा मदिरा निषेध भएपछि घरमा झगडा हुन छाडेको छ,’ आचार्यले भनिन्, ‘सबैभन्दा बढी फाइदा त महिला दिदीबहिनीलाई भएको छ । मदिरा खाएर दिनहुँ घरमा कुटपिट गर्ने पुरुषहरू समेत शान्त छन् ।’

कालिकोटको सबैभन्दा विकट पलातामा पर्ने थिर्पु, धौलागोह र खिनका गाउँमा मदिरा उत्पादन, बिक्रीवितरण र ओसारपसार पूर्णरूपले बन्द गरिएको छ । गत असारसम्म मदिरा खाएर हल्ला गर्ने पुरुषहरू गाउँटोलमा देखिन छाडेको स्थानीय अगुवा जानकी बमले बताइन् । उनले मदिरा खाएर होहल्ला गर्ने, झैझगडा गर्नेहरूको मनोबल घटेको सुनाइन् । ‘लुकीछिपी खानेहरू बाहिर देखिँदैनन्,’ बमले भनिन्, ‘पैसा पनि बचत भएको छ ।’

लेनदेनलगायतका अन्य विवादले झगडा भएर उजुरी गर्न यहाँको थिर्पुस्थित प्रहरी चौकीमा केही घटना आए पनि मदिराका कारण कुनै उजुरी नआएको प्रहरी चौकी थिर्पुका इन्चार्ज विजयराज शर्माले बताए ।

उनले सानोतिनो निहुँमा पनि मदिरा सेवन गरेर घरमा श्रीमती कुट्ने, छरछिमेकसँग झगडा गरेको विषयमा दिनहुँ चौकीमा छलफल चल्ने भए पनि अचेल पूरै रोकिएको सुनाए । उनका अनुसार पहिलेको थिर्पु ४ अहिलेको पलाता ९ नं. वडामा बढी मदिराका कारण झगडा हुने गथ्र्यो । चौकी धाउनेहरू पनि त्यही गाउँका बढी हुन्थे । उनले खाद्य असुरक्षा भएको पलातामा खाद्यान्न कुहाएर रक्सी बनाउने, बिक्रीवितरण गर्ने र सेवन गर्ने गर्दा गाउँमा अशान्ति फैलिने गरेको अनुभव सुनाए ।

यहाँको विकट पताला गाउँपालिकाले महिला हिंसाको प्रमुख कारण मदिरा ठहर गर्दै असार ३० गते पहिलो पलाता गाउँपरिषद्को बैठकले मदिरा निषेधित गरेपछि गाउँमा शान्ति भएको स्थानीय महिला कलसा विकले बताइन् । ‘रक्सी खाइकन दिनदनै झगडा गर्न्या (गर्ने) को त दोहोलै (उपचार) भयो,’ विकले स्थानीय लवजमा भनिन्, ‘गाउँमा रक्सी खाइकन ओहोलो हाल्न्या (हल्ला गर्ने) छैनन् ।’ गाउँपालिकालाई मदिरा निषेधित घोषणा गरेपछि झैझगडा हुन छाडेको छ ।

गाउँपरिषद्ले मदिरालाई पलाता क्षेत्रको प्रमुख विकासको बाधक ठहर गर्दै निषेधित घोषणा गरेपछि सकारात्मक परिवर्तन आएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । मदिरा निषेध गर्दा ९८ प्रतिशत पलातावासी खुसी भएको अध्यक्ष बमको दाबी छ । उनले मदिरा बेचेर पैसा कमाउने र सेवन गरेर होहल्ला गर्नेलाई मात्र केही असजिलो भएको सुनाए । ‘सुरुमा त मदिरा निषेध भनेपछि चारैतिरबाट घेराबन्दीजस्तै गरे ।’ २७ वर्षीय युवा बमले भने, ‘असम्भव काममा किन हात हालेको भनेर दबाब पनि आयो,’ उनले थपे, ‘मदिराले समाज पूरै बिग्रिएकाले सुधार गर्न कडा निर्णय गरेका हौं ।’

गाउँपरिषद्ले निर्णय गरिसकेपछि कात्तिकमा १२ वटा खच्चडमा लोड गरी ल्याएको ५ लाख मूल्यको मदिरा गाउँपालिकाको सिमानाबाटै फिर्ता पठाइएको थियो । मदिरा रोक्दा सबैभन्दा बढी महिलाहरू खुसी भएको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताइन् । ‘सबै दिदीबहिनीहरू खुसी छन्,’ उपाध्यक्ष न्यौपानेले भनिन्, ‘घरमा झगडा हुन र लोग्नेले कुटपिट गर्न पनि छाडेका छन् ।’ यसले महिला हिंसाका घटनामा पनि कमी आएको छ ।

कुनै पनि पालिकाले गर्न नसकेको काम विकटको पलाताले सुरु गरेपछि यतिबेलाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्ला प्रशासन र प्रहरीले पनि चुनावी हिंसा कम गर्न मदिरालाई प्रतिबन्ध गरिएको जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहराले बताए । पलातामा ड्राइ एरिया (मदिरा सुक्खा क्षेत्र) घोषणा भएपछि रक्सीकै कारण कुनै पनि झगडाका उजुरी जिल्लामा नआएको डीएसपी बोहराले बताए ।

उनले सदरमुकाम मान्म बजारलगायतका आसपासका बजारबाट ५ हजार लिटर बढी घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको र १० लाखको दर्ता नगरी बिक्रीवितरणका लागि राखिएको पक्की मदिरा नियन्त्रणमा लिएको सुनाए ।

प्रकाशित : वैशाख ९, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?