अघि बढेन चौकुने सिमेन्ट

सुर्खेत — सरकारबाट इजाजत पाएको ८ वर्ष बितिसक्दासमेत चौकुने सिमेन्ट आयोजनाले गति लिन सकेको छैन ।

अघि बढेन चौकुने सिमेन्ट

चौकुने क्षेत्रका चुनढुंगा उत्खनन गरी पश्चिम सुर्खेतको गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले इजाजत पाएको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले करिब १ वर्षदेखि काम ठप्प पारेको छ । गत वर्षको माघदेखि मुक्तिश्रीका कर्मचारीहरू आयोजनास्थलमा छैनन् ।


गुटुदेखि चौकुने डाँडासम्म सडक निर्माण गरी कम्पनीले २०७३ पुस अन्तिम साता चुनढुंगा उत्खनन सुरु गरेको थियो । तर, उत्खनन कार्यले लामो समय लिएन । उसले जग्गा पनि खरिद गर्न सकेको छैन ।


पटक–पटक म्याद थप्दै आएको कम्पनीले काम अघि नबढाएको भन्दै स्थानीयस्तरमा चर्को आलोचना खेप्नुपरेको छ । सुर्खेतका व्यवसायी, दलका नेताहरूले मुक्तिश्रीले चौकुने खानी क्षेत्र कब्जा गरेको भन्दै तत्काल काम नबढाए इजाजत रद्द गर्न माग गरेका छन् ।


छनोट गरिसकेको जग्गा अधिग्रहण नगर्दा प्रभावित क्षेत्रका बासिन्दा आक्रोशित बनेका छन् । चौकुने खानी क्षेत्र सरोकार समितिका संयोजक रामलाल बयकले कम्पनीकै वचनबद्धताका कारण आफूहरूले जग्गा खरिद–बिक्री रोकिएको गुनासो पोखे । ‘अधिग्रहण हुने भएपछि किनबेच रोकेका छौं,’ उनले भने, छनोट गरेको दुई वर्ष बितिसक्यो । केही अत्तोपत्तो पाइएन ।’


कम्पनीले विद्युत् पहुँच अभावका कारण उत्खनन अघि बढाउन नसकेको जनाएको छ । सम्झौतामा कम्पनीका लागि आवश्यक सुरक्षा, खानी क्षेत्रसम्म सडकको पहुँच र विद्युत् सरकारले उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

प्रकाशित : वैशाख ९, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?