कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सुरु भयो यार्सा यात्रा

जाडो कटाउन औलतिर झरेका स्थानीय यार्सा टिप्ने समय हुन थालेपछि धमाधम गाउँतिर उक्लिन थालेका छन्
राजबहादुर शाही

मुगु — माग्रीगाउँका ४७ वर्षीय उर्गिन दोर्जे तामाङ हरेक वर्ष यार्सा टिप्न पाटन उक्लिन्छन् । यो वर्ष पनि उनी सातु–सामल जुटाउन सुरसार गर्दैछन् । यार्सा उनको जीवन निर्वाहको प्रमुख आयस्रोत बनेको छ ।

सुरु भयो यार्सा यात्रा

छायानाथरारा नगरपालिका २ का सोनाम तामाङ समय नजिकिँदै गर्दा यार्सा यात्राको तयारीमा जुटेका छन् । उर्गेन र सोनामजस्तै मुगुमकार्मारोङ गाउँपालिकाको माग्री, पुलु, रिउस, ताखा, खारी, किम्री, डोल्फु, मुगु, दाउरालगायत गाउँका स्थानीय यार्सा टिप्न पाटनतर्फ उक्लिने तयारीमा लागेका हुन् । ‘यार्सा टिप्ने सिजन सुरु हुन थाल्यो, अब पाटनतिर जानुपर्‍यो,’ उनले भने ।

सोरु र खत्याड गाउँपालिकाका स्थानीय पनि यार्सा टिप्ने मौसम नजिकिँदै गर्दा सातु सामलको पोको पन्तरो बनाउनतिर लागेका छन् । गाउँबाट गमगढी बजार आएर चामल, नुन, चाउचाउ, बिस्कुट, मैदा, तेल किनेर लैजान थालेका छन् । पाटन उक्लिनुभन्दा एक महिनाअघि नै स्थानीय तयारीमा लाग्ने गरेका छन । मुगुमकार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँके, हयाजिङथान, हाङदाङ खोला, डोल्फुलेक, दाउरालेकलगायत स्थानमा पाइने यार्सा टिप्न जिल्ला भित्र र बाहिरबाट स्थानीयको ताँती लाग्ने गरेको छ । यार्सा प्रतिकेजी १८ देखि २५ लाख मूल्य पर्ने र प्रतिगोटा यार्साको ५ देखि ८ सयमा खरिद–बिक्री हुने भएकाले यार्साप्रति स्थानीयदेखि व्यापारीको आकर्षण बढेको छ ।

उक्लिँदै गाउँतिर

जाडो कटाउन औलतिर झरेका मुगु, डोल्फु, दाउरा, किम्री, चितै गाउँका स्थानीय यार्सा टिप्ने समय हुन थालेपछि धमाधम गाउँतिर उक्लिन थालेका छन् । जाडो मौसममा रित्तिएका मुगुमकार्मारोङ गाउँपालिकाका गाउँबस्तीहरू हिजोआज भरिन थालेका छन् । मुगु र तिब्बत सीमा क्षेत्रमा रहेको मुगु गाउँमा चहलपहल बढेको छ । जाडो कटाउन चौपायासहित औलतिर झरेका स्थानीय यतिबेला गाउँ फर्किनेको लहर चल्न थालेको छ ।

हिउँदको समयमा ज्यालादारी कामको सिलसिलामा भारतरि गएका स्थानीय यार्साको लोभले गाउँतिर फर्किन थालेका छन् यार्सा टिप्न पाटनतिर जानका लागि काठमाडौंबाट आएको खारी गाउँका पासाङ गुरु तामाङले बताए । यार्सा टिप्ने समय नजिकिँदै गर्दा औलतिर झरेका स्थानीय गाउँ फर्किन थालेको वडा १ का अध्यक्ष कार्मा तामाङले जानकारी दिए ।

चाडपर्व आए जस्तै यार्साको लोभले स्थानीय गाउँ फर्किने गरेको उनको भनाइ छ । जाडो समयमा पुलु प्रहरी चौकीतिर झरेको मुगु गाउँको प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई मुगु गाउँमा पठाउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यार्सा टिप्ने समय सुरु हुन थालेपछि केही दिनमै मुगु प्रहरी चौकीमा सुरक्षा खटाउन तयारी गर्न लागिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए

राजस्व संकलन

जिल्लामा पूर्वी पाटन क्षेत्रमा पाइने यार्साको राजस्व यसपालिदेखि मुगुमकार्मारोङ गाउँपालिकाले उठाउने भएको छ । विगत वर्षमा जिल्ला विकास समिति र मुगु गाविसले उठाउँदै आएको थियो ।

यार्सा टिप्ने समय सुरु हुन थालेपछि गाउँपालिकाले राजस्व उठाउन पूर्वतयारी गर्न लागेको छ ।

जिल्ला बाहिरका स्थानीयलाई दुई हजार र जिल्लाभित्रका स्थानीयलाई १५ सयका दरले प्रवेश शुल्क उठाउने निर्णय गरिएको गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले जानकारी दिए । जेठ १ देखि ५ गतेसम्म यार्सा संकलकबाट प्रवेश शुल्क उठाउने र ६ गते वन प्रवेशमा अनुमति दिने उनको भनाइ छ । राजस्वबाट उठेको रकम विकास निर्माणमा खर्च गरिनेछ ।

विगतमा जिविसले उठाएको यार्साको राजस्वको कुल रकममध्ये ४० प्रतिशत सम्बन्धित गाविस, १५ प्रतिशत जिविस, १० प्रतिशत वडा तहका युवा क्लब र बाँकी रकम राजस्व उठाउन जानेलाई खर्च गर्ने गरिएको थियो । अहिले यार्साको राजस्व संकलनमा कडाइ गरिने भएको छ । संकलकबाट हरेक वर्ष ५६ लाखदेखि ७२ लाख रुपैयाँसम्म राजस्व उठ्ने गरेको छ ।

प्रकाशित : वैशाख ९, २०७५ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?