विद्यालय बदल्नुको व्यहोरा

जितबहादुर शाह

सुर्खेत — नयाँ शैक्षिक सत्र आरम्भसागै आफ्नो सन्ततिलाई कुन विद्यालयमा भर्ना गर्ने भन्ने विषयमा अभिभावकको दौडधूप जारी छ । यस्तैमा रोल्पामा सरकारी जागिर गर्ने कल्पना म्याडम पनि नयाँ शैक्षिक सत्रमा आफूलाई पायक पर्ने गरी आफ्नी छोरी दर्शनाको विद्यालय परिवर्तन गर्ने ध्याउन्नमा देखिन्छिन् ।

छोरीको अगाडि यो प्रस्ताव तेस्र्याएपछि छोरीले ममीलाई भन्छिन्, ‘ममी मैले पढिरहेको स्कुल म छोड्दिनँ, यदि मैले मेरो स्कुल छोड्नु नै पर्ने हो भने मलाई माया गर्ने त्यो स्कुलको सुशीला म्याडमलाई पनि मलाई भर्ना गर्ने स्कुलमा लैजानुुपर्छ ।’

Yamaha

दर्शना अझै अगाडि थप्छिन्, ‘तपाईंलाई के थाहा छ र मामु ? सुशीला म्याडमले मलाई कति माया गर्नुहुन्छ ∕ साँच्ची तपाईंले भन्दा पनि धेरै माया गर्नुहुन्छ । मलाई त तपाईंको भन्दा पनि सुशीला म्याडमको धेरै माया लाग्छ ।’ छोरीको कुरा सुनेर कल्पना म्याडम भने अवाक भएर टोल्लाइरहन्छिन् । यतिबेला कल्पना म्याडमलाई मात्र होइन, सन्ततिका लागि विद्यालय परिवर्तन गर्ने अधिकांश अभिभावकलाई चटारो छ ।

यतिबेला एकछिन बसेर निकामीठा कुरा गरौं न त भनेर प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रसाद ढकालसँग अनुरोध गर्दा हतारिंदै ‘सरी’ भनेर जवाफ दिन्छन् । ‘यो समय अर्थात हरेक पुरानो शैक्षिक सत्र सकिँदा र नयाँ शैक्षिक सत्र आरम्भ हुँदाको समय भनेको हाम्रा संस्थागत विद्यालयहरूका निम्ति मरेर पुनर्जन्म हुने समय हो,’ उनले भने । कुरोको चुरो बुझ्दा उनले भनेको मनासिव हो । साँच्ची विद्यार्थी भर्नाको बेला संस्थागत विद्यालयका सञ्चालक र शिक्षकहरू कानमा तेल हालेर चुपचाप बसे भने उनीहरूको विद्यालय मर्न पनि बेर लाग्दैन । साथै यतिबेला सञ्चालक र शिक्षकहरू खटेर विद्यालयको पक्षमा दौडधूप गर्न सके भने विद्यालयको रातारात स्तरोन्नति हुन पनि बेर लाग्दैन । व्यवस्थापक र शिक्षकहरू गम्भीर नभएर मात्रै हो, सामुदायिक विद्यालयहरूका निम्ति पनि परिवेश समान हो । यसको कारण प्रस्टै छ, अभिभावकहरूले हरेक शैक्षिक सत्रको सुरुमा आफ्ना बालबालिकालाई विकल्प भएसम्म फरक विद्यालयमा भर्ना गर्न चाहन्छन् भने विद्यार्थी घट्नु र बढ्नुले त्यो विद्यालयको हरेक क्षेत्रमा प्रत्यक्ष असर पार्छ ।

परीक्षा नियन्त्रण कार्यालयले लामो समयदेखि विद्यार्थीहरूले कक्षा ९ बाट कक्षा १० मा अध्ययन गर्दा विद्यालय परिवर्तन गर्ने कारणमध्ये तीनवटा कारणहरूलाई स्वीकार गरेको छ– (१) विद्यार्थीको विवाह (२) अभिभावकको बसाइँसराइ र (३) अभिभावक जागिरे भएको अवस्थामा निजको सरुवा । यसबाहेक विद्यार्थीका निम्ति विद्यालय परिवर्तन गर्नुपर्ने अन्य कारणहरूमा कतिपयले हालको विद्यालयले राम्रो शिक्षा दिन नसक्नु र हालको विद्यालयमा चर्को शुल्क हुनुको कारणले पनि अर्को विद्यालय खोज्छन् । कतिपयले हालको विद्यालयलाई आफ्नो बालबालिकाले मन नपराएर पनि अर्को विद्यालय खोज्छन् । हालको विद्यालयको बााकी बक्यौता नतिरेर उम्कन खोज्नु, विद्यालयको प्रअलगायत अन्य पदाधिकारीसाग राम्रो सम्बन्ध नहुनु, हालको विद्यालयले आफूले चाहेको सम्मान दिन नसक्नु, आफ्नो बालबालिकाले चाहेको विषय हालको विद्यालयमा पठनपाठन नहुनु, हालको विद्यालयभन्दा अझ नजिकमा अर्को विद्यालय सञ्चालन हुनु, समाज सहर उन्मुख हुनुजस्ता कारणले गर्दा पनि विद्यालय परिवर्तन गर्ने स्थिति सिर्जना हुन्छ ।

आफूले रोजेको विद्यालयमा सन्ततिलाई भर्ना गर्न पाउनु अभिभावकको अधिकार हो भने आफूले रोजेको विद्यालयमा अध्ययन गर्न पाउनु पनि विद्यार्थीको अधिकार हो । हाम्रो परिवेशमा विद्यार्थीले रोजेको विद्यालयभन्दा अभिभावकले रोजेको विद्यालयले प्राथमिकता पाउने गरेको छ र त्यसरी नै विद्यालय परिवर्तन गरेर बालबालिकाहरू भर्ना गर्ने प्रचलन हावी छ । हाम्रो यो प्रचलन भनेको विवाह गर्दा एकअर्काको सहयोगले जीवन विताउने केटाकेटी अर्थात हुनेवाला पतिपत्नीको भन्दा उनीहरूका आफन्त र अभिभावकहरू हावी हुनु जस्तै हो । विद्यालय परिवर्तन गर्दा सही अर्थमा अभिभावकले बालबालिकाहरूको मनोभावनाहरूको सम्मान गर्नु जरुरी छ । उनीहरूका निम्ति हालको विद्यालय कस्तो छ ? दर्शनाको जस्तै प्यारो छ वा फरक ? बालबालिकाकाहरू रमाइरहेको विद्यालयबाट उनीहरूलाई अर्को विद्यालयमा भर्ना गराउनु र उनीहरूले नरुचाएर छोड्न खोजेको विद्यालयमा राखिराख्नु यी दुवै कुरा बालमनोविज्ञानको हिसाबले राम्रो हुँदैन ।

वरिष्ठ हाष्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो आत्मबृत्तान्त ‘महको म’ माआफ्नो विद्यालय तहको अध्ययनको स्तर भनेजस्तो नहुनुमा पटकपटक विद्यालय परिवर्तन गर्नुपरेको वास्तविकतालाई प्रमुुख कारणको रुपमा महसुस गरेका छन् । वास्तवमा सत्य कुरा हो पनि त्यही । विद्यालय पटकपटक परिवर्तन गर्दा बालबालिकाको धेरै समय साथीसागी र शिक्षकहरूसँग समायोजन गर्नका निम्ति खर्च गर्नुपर्दछ । कतिपय पुराना विद्यालयका कुरा बिर्सनका लागि र कतिपय नयाँ विद्यालयका कुरा सम्झनका लागि पनि समय खर्च गर्नुपर्छ । यसरी समायोजनमा समय बढी लगानी गर्नुको अर्थ तोकिएको पाठ्यक्रम र विषयवस्तुमा स्वभावैले समय कम लगानी हुन जान्छ र अध्ययनको स्तर कमजोर हुन जाने सम्भावना बढ्छ ।

त्यसैले सकेसम्म विद्यालयको विज्ञापन र अनावश्यक तामझाम होइन कि उसले प्रदान गरेको गुणस्तरीय शिक्षाको स्तरलाई पहिचान गरेर विद्यालयको पहिचान गर्नु राम्रो हुन्छ । सकेसम्म विद्यालय परिवर्तन गर्ने आवृत्तिलाई घटाउनु उपयुक्त हुन्छ । परिवर्तन गर्नै परे पनि आफ्नो होइन कि बालबालिकाको भावनालाई मध्यनजर राखी परिवर्तन गर्नु उपयुक्त हुन्छ । हामीले छानेको विद्यालय राम्रो छ तर बालबालिकाले त्यो कुरा स्वीकार नगरेपछि भर्नाभन्दा पहिले हामीले राम्रो भनेको विद्यालयको बालबालिकालाई अवलोकन गर्ने अवसर प्रदान गरेर ऊ आफैंले मन पर्‍यो भन्ने वातावरणको सिर्जना गर्न सक्नुपर्छ । यो पंक्तिकारको आसय विद्यालय परिवर्तन गर्नै हुन्न भन्ने होइन । सकेसम्म हाम्रा बालबालिका जहाँ छन्, उक्त विद्यालयलाई राम्रो बनाउने प्रयत्न गर्नुपर्छ । हाम्रो प्रयत्नले त्यो सम्भव भएन भने परिवर्तन त चाहिन्छ नै ।

(शाह सुर्खेतका जिल्ला शिक्षा अधिकारी हुन्)

Esewa Pasal

प्रकाशित : वैशाख १०, २०७५ ११:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

भरतपुर–बर्दघाट प्रसारण लाइन अलपत्र

३ वर्षअघि सकिनुपर्ने काम ५० प्रतिशतमात्रै भएको छ
नवीन पौडेल

परासी — दुई वर्षअघि विस्तार भइसक्नु पर्ने बर्दघाट–भरतपुर २२० केभी प्रसारण लाइन अझै अलपत्र परेको छ । ०७२ असारदेखि विस्तार काम रोकिएको छ । सम्झौताअनुसार ०७२ मंसिरमा सकिनु पर्ने थियो ।

चीनको सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक एन्ड ट्रेड कम्पनी लिमिटेड (सीसीपीजीआई) ले असारदेखि प्रसारण लाइन निर्माण रोक्दा आयोजनाको भविष्य अन्योलमा परेको हो ।

निर्धारित समयमा काम नसकेको भन्दै विद्युत् प्राधिकरणले ठेकेदार कम्पनीलाई कुल लागतको १० प्रतिशत जरिवाना लगाउने निर्णय गरेको थियो । त्यसयता पटक–पटक काम रोक्दै आएको कम्पनीले असारबाट भने ठप्प पारेको हो । पुरानो रद्द गरेर नयाँ प्रक्रियामार्फत ठेक्का आहान गर्ने तयारी भइरहेको आयोजना प्रमुख ईश्वरीप्रसाद जयसवालले बताए । ‘अघिल्लो ठेकेदारले पटक–पटक बहाना बनाउँदै काम अवरुद्ध बनाएकाले सम्झौता तोडेका छौं,’ उनले भने, ‘अब छिट्टै सक्ने गरी नयाँ टेन्डर निकाल्छौं ।’ सन् २०१५ को डिसेम्बरसम्म पूरा हुनुपर्नेमा अहिलेसम्म ५० प्रतिशत पनि भएको छैन । आयोजनाका लागि ०७४ जेठ २६ सम्म समय थप गरे पनि ठेकेदारले उल्टै सामान महँगो भएको भन्दै सरकारसित क्षतिपूर्ति माग गरेर काम ठप्प पारेको थियो ।

सरकारले गत जेठ २१ गते सम्झौता रद्द गरेको थियो । कुल १ अर्ब २० करोड लगानीमा ७४ किलोमिटर प्रसारण लाइन विस्तार गर्ने योजना छ । त्यस क्रममा २ सय ४६ पोल निर्माण गर्नुपर्छ । जसमध्ये ७० पोल बनिसकेको छ । तार भने तान्न थालिएको छैन । निजी जमिनमा ३२ पोल निर्माण गर्न कानुनी तथा प्राविधिक समस्या देखिएको थियो । जग्गा अधिग्रहणमा पनि विवाद देखिएको छ । अधिग्रहण गर्नुपर्ने जग्गाको प्राधिकरणले मुआब्जा कम दिएको भन्दै स्थानीयले जिल्ला प्रशासनमा उजुरी दिएका थिए । उक्त उजुरीपछि गृह मन्त्रालयले काम अघि बढाउन निर्देशन दिएको थियो । तर काम सुरु हुनुको साटो ठेक्कै रद्द गर्नुपरेपछि अन्योल देखिएको हो ।

कानुनी र व्यावहारिक समस्या सुल्झिए पनि काम सुरु हुने निश्चित छैन । साना–ठूला विद्युत् आयोजना धमाधम बनेर राष्ट्रिय प्रसारणमा जोड्न आवश्यक छ । तर विभिन्न विवादले यस्ता आयोजना रोकिनु दु:खद् भएको अरुणखोलाका झवीन्द्र सिञ्जालीले बताए । ‘राष्ट्रियस्तरका ठूला आयोजनाको काममा अवरोधले लागत खर्च बढ्ने गर्छ,’ उनले भने, ‘ठेकेदारको इसारामा सरकारी संयन्त्र चल्दा ढिलाइ भयो ।’ चितवनको आँपटारीदेखि पश्चिम नवलपरासीको बर्दघाटसम्म अधिकांश वन क्षेत्र छन् । प्रसारण लाइन बनाउँदा धेरै रूख कटान गर्नुपर्छ । त्यसका लागि वन विभागबाट रूख काट्ने सहमति भएको छ । दुई वर्षअघि नवलपुरको अरुण खोलासम्म विभिन्न सामुदायिक र राष्ट्रिय वनका हजारौं रूख काटिसकिएको छ । प्राधिकरणले काटेका रूखको दोब्बर वृक्षरोपण सोही स्थानमा गर्नुपर्ने प्रावधान छ । अहिले सम्झौताअनुसार वृक्षरोपण भइसकेको छ । सबै अवरोध हटेका छन् ।

प्रकाशित : वैशाख १०, २०७५ १०:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT