कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिक विद्यालय भरिभराउ

प्रकाश अधिकारी

सुर्खेत — दैलेख दुल्लूका राजेन्द्र अधिकारीले आफ्ना दुई छोराछोरीलाई वीरेन्द्रनगरको इगरब्रिज इंग्लिस बोर्डिङ स्कुलमा पढाइरहेका थिए । कक्षा ६ का दीपक र ७ मा अध्ययनरत शर्मिला इगरब्रिजमा कक्षाकै उत्कृष्ट विद्यार्थी हुन् ।

सामुदायिक विद्यालय भरिभराउ

उनले यसपल्ट जनमावि भर्ना गराए । ‘इगरब्रिजमा पढाइ राम्रै थियो, उही अंग्रेजी माध्यमबाट पढाइ हुने भए किन महंगो शुल्क तिरेर बोर्डिङमा पठाऊँ भनेर जनमाविमा भर्ना गराएको छु,’ अधिकारीले भने, ‘सरकारीमा यति राम्रो पढाइ छ, त्यसैले हामी बुझेका अभिभावकले सरकारी स्कुलमै भर्ना गर्नुपर्‍यो भन्ने लाग्यो ।’


जनमावि भर्ना भएका अछाम ढकारीका भरत थापा र देउमा थापा पनि निजी स्कुलकै विद्यार्थी हुन् । उनीहरूले गाउँकै बोर्डिङ स्कुलमा पढेका हुन् । वीरेन्द्रनगरमा होटल व्यवसाय सुरु गरेका भरत र देउमाका बुवा रणबहादुरले उही पढाइका लागि किन महंगो शुल्क तिर्ने भन्दै सरकारी स्कुलमै पढाउन थालेको प्रतिक्रिया दिए । महंगा निजी स्कुल पढाएका बालबालिकालाई यस वर्ष सामुदायिक स्कुल भर्ना गर्ने दैलेख, दुल्लूका राजेन्द्र र अछाम, ढकारीका रणबहादुर मात्र होइनन्, यस्ता अभिभावकहरू धेरै छन् । कर्णाली प्रदेशका ग्रामिण भेगका सामुदायिकमा विद्यार्थी घट्दो क्रममा रहे पनि राजधानी वीरेन्द्रनगरका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्दो छ ।


सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थीको आर्कषण बढ्न पुगेको हो । हाल जिल्लाका दर्जन बढी सामुदायिक विद्यालयहरूमा एकदेखि १० कक्षासम्म अंग्रेजी माध्यममा अध्यापन भइरहेको छ । जिल्ला शिक्षा विकास इकाइका अनुसार वीरेन्द्रनगरका सामुदायिक विद्यालयमा पढाइको गुणस्तर राम्रो रहेकाले विद्यार्थीको संख्या वर्षेनि ह्वात्तै बढेको छ । नेपाल राष्ट्रिय मावि गाग्रेताल, जनमावि वीरेन्द्रनगर, अमरज्योति नमुना मावि, श्रीकृष्ण संस्कृत तथा साधारण मावि, जनसेवा मावि घुस्रा, नेपाल राष्ट्रिय मावि करैखोलालगायतका विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । यसअघि निजी विद्यालय (बोर्डिङ) मा अध्ययन गर्ने विद्यार्थीसमेत सामुदायिकमा भर्ना भएका छन् ।


अमरज्योति नमुना माविका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले यसपटक भर्ना आवेदन दिएकामध्ये ८० प्रतिशत विद्यार्थी निजीबाट विद्यालयबाट आएको बताए । चालु शैक्षिक सत्रमा एक हजार दुई ७० विद्यार्थी भर्ना लिने स्कुलको उद्देश्य छ । कक्षा ६ देखि १२ सम्म सञ्चालित अमरज्योतिले १० कक्षासम्म अंग्रेजी माध्यममा पढाउने गरेको छ । भर्ना अभियान सुरु भएदेखि एक हजार बढी विद्यार्थीले आवेदन दिएका छन् । ‘सामुदायिक विद्यालय भनिए पनि सबैलाई समेट्न सकिएको छैन,’ उनले भने, ‘त्यसले गर्दा कोटाभन्दा बढी विद्यार्थी बढी आउँदा थेग्न गाह्रो भएको छ ।’


केही वर्ष अघिसम्म सामुदायिकमा विद्यालय पढाउन हिचकिचाउने अभिभावकसमेत निजी छाडेर सामुदायिकतर्फ आकर्षित भएका छन् । वीरेन्द्रनगरस्थित जन माविका प्राधानाध्यापक यामबहादुर श्रेष्ठले सबै कक्षामा अंग्रेजी माध्यमबाटै पढाउन थालेदेखि आकर्षण बढेको बताए । ‘विद्यार्थी बढी आएपछि आवेदन बन्द गरेका छौं,’ श्रेष्ठले भने, निजीको भन्दा सामुदायिककै शिक्षाको गुणस्तर राम्रो छ, हामीसंग सुर्खेतकै नामी कहिलएका बोर्डिङ्गले समेत प्रतिस्पर्धा गर्न सकेका छैनन् ।’ अंग्रेजी माध्यममा सञ्चालन गरेकै कारण केही सामुदायिक विद्यालय एसईईमा उत्कृष्टता हासिल गरेका छन् ।


सरकारले उच्च शिक्षामा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेपछि निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिकतर्फ पढ्न थालेका हुन् । जिल्ला शिक्षा विकास इकाइमा सूचना अधिकारी भोजप्रसाद लम्सालले दरबन्दी र दक्ष जनशक्ति अभावले धेरै विद्यालयमा अंग्रेजी शिक्षा सञ्चालन गर्न कठिनाइ भएको बताए ।

प्रकाशित : वैशाख १०, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?