कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध गृहबाट ८ बालकको उद्धार

राजबहादुर शाही

मुगु — अवैध बालगृहबाट यहाँका आठ बालकलाई उद्धार गरिएको छ । अभिभावकबाट रकम असुलेर रूपन्देहीको बेलबासस्थित साहारा घर नामक अवैध बालगृहमा राखिएका ८ बालकलाई उद्धार गरिएको हो ।

अवैध गृहबाट ८ बालकको उद्धार

जिल्ला प्रशासन कार्यालय र महिला तथा बालबालिका कार्यालयको रोहवरमा सोमबार जिम्मा लगाइएको छ ।


खत्याडसैन गाउँका १४ वर्षीय रमेश रोकाया, पैखु गाउँका ८ वर्षीय हरिकृष्ण थापा, मुर्मा गाउँका ९ वर्षीय सर्जन रोकाया, खत्याड गाउँपालिकाका ६ वर्षीय प्रदीप बुढा, झयारी गाउँका १० वर्षीय सागर कार्कीलाई उद्धार गरिएको हो ।


त्यस्तै, ८ वर्षका सुबेर कार्की, मुर्मा गाउँका १२ वर्षीय लोकराज रोकाया र खत्याड गाउँपालिकाका ५ वर्षीय हेमराज बुढालाई उद्धार गरिएको छ । उनीहरूलाई केन्द्रीय बाल कल्याण समितिले अभिभावकको जिम्मा लगाउन हिमाली नवीन समाजको जिम्मामा दिएको थियो ।


उक्त बालगृहमा बालकहरूलाई कुटपिट गर्ने, नियमित खाना नदिने र नियमित पठनपाठन नगराउने गरेको पाइएको छ । कुटपिटको डरले बच्चाहरू रातको समयमा भागेपछि प्रहरीले भेटाएको थियो । प्रहरीले बालकल्यान समितिसँग समन्वय गरेपछि बालकको उद्धार गरिएको हो । उक्त बालगृहमा ३५ बालबालिका रहेको प्रहरीले जनाएको छ ।


२४ बालकलाई अभिभावकसँग पुन:स्थापना गराउन हिमाली नवीन समाजको जिम्मा लगाइएको छ । अरू १६ बालबालिका सिविन नेपालको सम्पर्कमा छन् । खाना नदिने र कुटपिट गर्न थालेपछि राति भागेर प्रहरीको सम्पर्कमा गएको पीडित रमेश रोकायाले बताए । कक्षा १२ सम्म पढाइदिने भन्दै सञ्चालक शंकर प्यासीले प्रत्येक अभिभावकबाट १५ हजारदेखि एक लाखसम्म रकम असुल गरेका थिए । जिल्लामा सडक सञ्जाल पुगेपछि बालबालिका सहरका अनधिकृत बालगृहमा लैजाने क्रम बढेको प्रहरीले जनाएको छ ।


चैतमा ९, फागुनमा ८ र माघमा ९ बालबालिकालाई उद्धार गरी अभिभावकको जिम्मा लगाएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । शिक्षाको नामका १० वर्षमुनिका बालबालिका ओसारपसार गर्ने कार्य बढिरेहको महिला विकास अधिकृत कृष्णाकुमार चन्दले बताइन् । यसको दोषी अभिभावक नै रहेको उनको भनाइ छ । आफ्ना छोराछोरीलाई पढाउन बालगृहमा लैजाने भनेर सिफारिस माग्दै हैरान गरेको उनले सुनाइन् ।


अनधिकृत बालगृहका सञ्चालक विभिन्न गाउँबस्तीमा पुगेर अभिभावकलाई फकाउने गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले बसबाट बालबालिका ओसारपसार गरेको भन्दै कडाइ गरेपछि गिरोहले पैदलमार्ग अपनाउने गरेका छन् । संलग्न गिरोहलाई कारबाही नगरेसम्म ओसारपसारको काम नरोकिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

प्रकाशित : वैशाख ११, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?