१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बन्दै मुगु–हुम्ला लिंकरोड

प्रदेशको विकासका लागि वैदेशिक निकायसँग हातेमालो
कलेन्द्र सेजुवाल

सुर्खेत — बेलायत सरकारको सहयोगमा कर्णाली प्रदेशमा सडक पूर्वाधारले गति लिएको छ । बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डीएफआईडी) को अनुदान सहयोगमा मंगलबार मुगु–हुम्ला लिंकरोड निर्माणको घोषणा गरियो । डीएफआइडीका अनुसार ६५ किमि लामो उक्त सडक दुई वर्षभित्र सम्पन्न हुने गरी काम सुरु गरिएको छ ।

बन्दै मुगु–हुम्ला लिंकरोड

मुगुको छायाँनाथ रारा नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिकाको देउली जोड्ने उक्त सडकको लागत १५ दशमलव ५ मिलियन पाउन्ड (दुई अर्ब १७ लाख रुपैयाँ) छ । सडक निर्माण घोषणा कार्यक्रममा बोल्दै डीएफआईडीका एसिया विभाग निर्देशक रिचर्ड मोत्गोमेरीले लिंकरोड निर्माणपछि करिब सात–आठ हजार घरधुरी लाभान्वित हुने बताए । ‘पहाडी भूभागलाई देशका अन्य स्थानसँग जोड्ने यो सडक निर्माणको क्रममा ६ लाख व्यक्तिलाई ‘श्रमदिन’ प्रदान हुनेछ,’ मोत्गोमेरीले भने, ‘सडकले जनताको आयस्तरमा पनि व्यापक सुधार ल्याउनेछ ।’


सडक निर्माण घोषणा कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि बेलायत सरकारको सहयोग महत्त्वपूर्ण रहेको बताए । प्रदेश सरकारले निर्धारण गरेका विकासका प्राथमिकता र स्थानीय आवश्यकतालाई हेरेर विदेशी दातृ निकायलाई सहयोग गर्न उनले आग्रह गरे । ‘सहयोगी निकायलाई काम गर्ने उचित वातावरण बनाउने दायित्व प्रदेश सरकारको हो,’ उनले भने, ‘बेलायत सरकारले आफ्नो देशका लगानीकर्तालाई पनि लगानी गर्नका लागि प्रेरित गरोस् ।’

मुगु–हुम्ला लिंकरोडलाई पर्यटकीय सडकका रूपमा विकास गरी विकासको ‘मोडेल’ बनाउन उनले सुझाव दिए । बेलायत सरकारले ग्रामीण पहुँच कार्यक्रम (र्‍याप) अन्तर्गत कर्णाली प्रदेशमा अन्य सडक पनि निर्माण गरिरहेको छ । लिंकरोडका डेपुटी टिम लिडर रामप्रसाद थपलियाका अनुसार आगामी डिसेम्बरमा सम्पन्न हुने गरी कालीकोट, हुम्ला र मुगुमा पाँचवटा सडक निर्माण भइरहेका छन् । कालीकोटमा सान्नीगाड–स्युना–सीपखाना र जाजरकोट–राम्नाकोट सडक, मुगुमा गमगढी–धैना–धुलाचौर सडक र हुम्लामा सल्ली–सल्ला–दार्मा तथा गल्फाड–श्रीनगर–कालिका सडक निर्माण भइरहेका छन् । यसका साथै विभिन्न जिल्लामा गरेर तीन सय किलोमिटर सडक मर्मत भइरहेको उनको भनाइ छ ।


डीएफआईडीले सन् २००१ देखि र्‍यापमार्फत कर्णालीलगायत पिछडिएको क्षेत्रमा सडक निर्माण गरिरहेको छ । अहिले चलिरहेको र्‍यापको तेस्रो चरण हो । हालसम्म एक हजार ९३ किलोमिटर सडक निर्माण भइसकेको छ । लिंकरोडका फिल्ड प्रोजेक्ट म्यानेजर विष्णुराम विष्टले पहिले मजदुरबाट ट्रयाक खन्ने काम भएकोमा अब मजदुरका साथै डोजर/एक्साभेटरबाट काम गर्न लागिएको बताए । ‘मिश्रित श्रमशक्ति लगाएर काम गर्दा छिटोछरितो हुनुका साथै सडक स्तरीय पनि हुन्छ,’ उनले भने, ‘मुगु–हुम्ला लिंकरोड पनि तोकिएको समयमै सम्पन्न हुने विश्वास लिएका छौं ।’


बेलायत सरकारले कर्णालीमा सडकका साथै सिँचाइ र पुलमा पनि सहयोग गरेको छ । एक सय चारवटा पुल र ७७ वटा सिँचाइ आयोजना निर्माण भएका छन् । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशमा आन्तरिक आय न्यून भएको बताए । भौतिक पूर्वाधारमन्त्री खड्ग खत्रीले भौगोलिक रूपमा विकट कर्णालीमा पूर्वाधार संरचना निर्माणका लागि विस्तृत कार्ययोजना बनाएर अघि बढ्ने बताए । लिंकरोड निर्माण घोषणा भएपछि मुगु र हुम्लाका स्थानीय जनप्रतिनिधिले खुसी व्यक्त गरेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले सडक निर्माण हुने खबरले स्थानीयमा खुसीको सञ्चार भएको बताए । ‘बेलायत सरकारले कर्णालीजस्तो विकट प्रदेशको विकासमा सहयोग गर्नुले हामीलाई खुसी तुल्याएको छ,’ उनले भने, ‘यस्तो सहयोग निरन्तर रहोस् ।’


हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंले बेलायत सरकारको सहयोगमा लिंकरोड निर्माण हुने भएपछि उक्त सडक निर्माणका लागि गाउँपालिकाले छुट्याएको डेढ करोड रुपैयाँ बचत भएको बताए । ‘गाउँका जनताको मागअनुसार हामीले बजेट विनियोजन गरिसकेका थियौं,’ उनले भने, ‘अब सो सडक लिंकरोडमा परेपछि बजेट बचेको छ ।’

प्रकाशित : वैशाख १२, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?