कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभिभावकत्व ग्रहण गर्ने लहर

एलपी देवकोटा

जुम्ला — यहाँका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकत्व लिने लहर चलेको छ । उच्च शिक्षा हासिल गरेका युवतीले विद्यालय भर्ना अभियानअन्तर्गत अभिभावकत्व ग्रहण गर्न थालेका छन् ।

अभिभावकत्व ग्रहण गर्ने लहर

स्थानीय मेनका पछाई विद्यालयबाहिर रहेका तिला गाउँपालिका ८ का ७ वर्षीय विजय बस्नेतलाई पहिलो पटक भर्ना गरेर उनको अभिभावक वनेकी छन् । बस्नेतलाई चन्दननाथ नमुना माविमा भर्ना गरिएको पछाईले बताइन् । गरिबी र अशिक्षाका कारण उनकी आमा दीपा र बाबु नरेश बस्नेतले छोरालाई विद्यालय पठाउन सकेका थिएनन् ।

पछाईले अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गरेपछि बस्नेतले पढ्न पाएका हुन् । ‘विजय मेरो लागि पहिलो सन्तान हो,’ विद्यालय भर्ना गर्दै अविवाहित पछाईले भनिन्, ‘औपचारिक शिक्षा प्राप्त गरेपछि भविष्यको बाटो निर्धारण गर्न उसलाई सहज हुनेछ ।’ अभिभावकमा चेतनाको अभाव, गरिबी र अशिक्षाका कारण विद्यालय शिक्षाबाट धेरै बालबालिका बाहिर रहेको उनको भनाइ छ ।

मुगु, सोरु गाउँपालिकाकी ८ वर्षीया बालिका भावना शाहीलाई पनि मेनका रेग्मीले विद्यालयमा भर्ना गराएकी छन् । रेग्मीले उनलाई चन्दननाथ नमुना माविको शिशु कक्षामै भर्ना गरिदिएकी हुन् । पहिलो पटक भर्ना भएका बालबालिकालाई पोसाक सहित आवश्यक पठनपाठनका सामग्री उपलब्ध गराइएको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार जुम्लामा ५ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । त्यस्तै, १० प्रतिशत किशोरीले बीचैमा विद्यालय छोड्ने गरेको तथ्यांक छ । सबैले अभिभावकत्व ग्रहण गर्दै विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउन सके जुम्लाका शतप्रतिशत बालबालिकाहरू विद्यालयमा हुने चन्दननाथ नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले बताए ।

प्रकाशित : वैशाख १३, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?