कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भेटिएनन् चोरिएका मूर्ति

एलपी देवकोटा

जुम्ला — चन्दननाथ मन्दिरबाट चोरी भएको मुख्य मूर्ति नभेटिएपछि नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । २७ घण्टा लगातार पूजापछि दत्तात्रयको नयाँ मूर्ति प्रतिस्थापन गरिएको हो ।

भेटिएनन् चोरिएका मूर्ति

मन्दिरबाट चोरी भएका मूर्तिमध्ये १८ थान मूर्तिहरू बेवारिसे अवस्थामा गुठिचौर गाउँपालिकाको देपालगाउँ जंगल जाने बाटोमा भेटिएका थिए । मूलमूर्ति नभेटिएपछि भारतको देरादुनबाट भवानी गिरी महाराजले ल्याएको मूर्ति प्रतिस्थापन गरिएको हो । मन्दिरमा शुक्रबारदेखि २७ घण्टे अखण्ड हवन पूजा गरियो ।

२०७२ मंसिर १० गते मन्दिरका सबै मूर्तिहरू चोरी भएका थिए । त्यसपछि यति लामो पूजा नभएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलसहित भक्तजनले विशेष पूजाआजा गरेपछि विधिपूर्वक नयाँ मूर्ति प्रतिस्थापन गरिएको हो । चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका सचिव रमानन्द आचार्यका अनुसार मन्दिरबाट चोरी भएका केही मूर्तिहरू बेवारिसे अवस्थामा फेला परे पनि मुख्य दत्तात्रयको मूर्ति अझैसम्म फेला परेको छैन । मुख्य मूर्तिबिनै मन्दिरमा पूजाआजा गरिँदै आएको उनले बताए । ‘पछि पुरानो मूर्ति भेटिएमा त्यसलाई नै राख्ने सर्तमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ,’ उनले भने ।

भारतबाट भवानी गिरी महाराजले आफ्नै खर्चमा दत्तात्रयको मूर्ति मन्दिरका लागि ल्याएपछि मन्दिरमा अखण्ड हवन पूजा गरेर मूर्ति राखिएको हो । जुम्लाका स्थायी बासिन्दा भवानी गिरी महाराज लामो समयदेखि भारतमा बस्दै आएका छन् । उनले दत्रात्तय र हनुमानको मूर्ति भारतबाट ल्याइएको जनाए । भारतका १४ जना पुजारीसहित उनी जुम्ला पुगेका हुन् ।

मन्दिरको मुख्य गाधीमा दत्तात्रयको मूर्ति राखिएको छ । मन्दिरमै बसेर आफ्नो बाल्यकाल बिताएका भवानी गिरी महाराजले मूर्ति चोरी भएको खबर पाएदेखि नै मन्दिरमा मूर्ति स्थापनाका लागि पहल गरिएको बताए ।

अहिले मन्दिरमा प्रतिस्थापनका लागि ल्याएका मूर्ति १६ किलोको छ । पुरानो मूर्तिसमेत १६ किलो तौलको थियो । पित्तलले बनाइएको मूर्तिको उचाइ ५० इन्च छ । त्यस्तै पछाडिको चौडाइ १८ इन्च र अगाडिको चौडाइ ३१ इन्चको रहेको चन्दनाथ मन्दिरले जनाएको छ । मन्दिरको मुख्य मूर्ति नभएपछि दैनिक विधिवत् पूजा गर्ने कार्य अलमलमा परेको थियो । मूर्ति चोरीको अनुसन्धानका लागि तत्कालीन डीआईजी नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली जुम्ला पुगेको थियो । तर, अहिलेसम्म पनि अनुसन्धानको नतिजा आउन सकेको छैन ।

प्रकाशित : वैशाख १६, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?