असिनाले स्याउ सखाप

एलपी देवकोटा

जुम्ला — अविरल वर्षासँगै परेको असिनाले स्याउका दाना नष्ट गरेपछि व्यावसायिक स्याउ खेती गर्दै आएका यहाँका किसान मर्कामा परेका छन् । पातारासी गाउँपालिकामा हावाहुरीसँगैको असिनापानीले ठूलो परिमाणमा स्याउका दाना नष्ट गरेको छ ।

असिनाले स्याउ सखाप

क्षतिको विवरण संकलन भइरहेको गाउँपालिकाले जनाएको छ । एक सातादेखि साँझको समयमा मौसममा बदली भई पानी पर्ने गरेको थियो । मंगलबार साँझ परेको असिनाले हजारौं कृषकले लगाएको स्याउ खेती नष्ट गरेको पातारासीका किसान मीनबहादुर बुढाले बताए । ‘स्याउ बगैंचामा रहेका ९० वटा बिरुवामा फलेको सबै दाना असिनाले झार्‍यो,’ उनले भने, ‘लटरम्मै स्याउका दाना लागेको सबै रूखमा असिनाले फल र पात झारेको छ । अहिले नांगो बिरुवा मात्रै देखिन्छन् ।’

असिनाले स्याउका दाना झारेपछि स्याउ बेचेरै घरखर्च चलाउने किसान परिवारलाई समस्या भएको छ । असिनाले स्याउसँगै ओखर र आरुलाई असिनाले क्षति पुर्‍याएको छ । असिनाले स्याउमा ठूलो क्षति पुर्‍याएपछि जीविकोपार्जनमा समस्या हुने स्थानीय पूर्ण बोहराले बताए ।

‘स्याउबाट यसवर्ष राम्रो आम्दानी होला भन्ने आशा थियो,’ उनले भने, ‘असिनाले सबै दाना झारेपछि रुखमात्र बाँकी छन् । अब मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भयो ।’ स्याउखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका बुढाजस्तै पातारासीका हजारौं किसान चिन्तित बनेका छन् । असिनाले चौधबीस क्षेत्रका लाखौं स्याउ बोटका फूल, चिचिला र दाना झारेपछि त्यहाँ यो वर्ष स्याउ उत्पादन नहुने भएको छ । असिनाले मकै, आलु र गहुँबालीमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

‘असिनाले अन्नबाली पनि सबै नष्ट गर्‍यो । यहाँको मुख्य नगदेबाली स्याउमा पनि ठूलो क्षति पुर्‍यायो,’ उनले भने, ‘यसपालि खाद्यान्न अभाव हुने र स्याउ नष्ट भएपछि जीविकोपार्जनमा समस्या हुने देखिएको छ ।’ असिनापानीले स्याउबालीमा ९५ प्रतिशत क्षति पुगेको पातारासी गाउँपालिकाका कृषि संयोजक लक्षीराम महतले बताए । ‘असिनाले भर्खर फुल्दै गरेका फलफूलको सबै फूल र दाना झारेर नष्ट पारेको छ,’ उनले भने, ‘चौधबीसमा यस वर्षको स्याउ उत्पादन शून्यमा झरेको छ । यसले कृषकलाई मात्र नभई समग्र जिल्लालाई घाटा भयो ।’ उनले दैवीप्रकोप क्षेत्रमा बजेट विनियोजन नभएकाले किसानलाई राहत उपलब्ध गराउन नसकिने जानकारी दिए ।

प्रकाशित : वैशाख २०, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?