२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

समान काम असमान ज्याला

‘काम एउटै भए पनि ज्याला फरक हुँदा हाम्रो श्रमको सम्मान भएन’
विप्लव महर्जन

सल्यान — यहाँका महिलाले समान काम गरे पनि आफूहरूमाथि ज्यालामा विभेद भएको गुनासो गरेका छन् । मजदुरीदेखि विकास निर्माणका काममा कम ज्याला पाउँदै आएको बताए ।

समान काम असमान ज्याला

शारदा नगरपालिका १ की संगीता नेपाली, दीपा विक, रमेश थापा र विमला रोकाले वडा नं. १ र २ जोड्ने सडक निर्माणका क्रममा सँगै काम गरे । उनीहरूले गर्ने काम एउटै भए पनि महिला र पुरुषको ज्यालामा फरक थियो । सीपका आधारमा रकम तोक्ने गरेकाले आफूहरूले कम ज्याला पाएको नेपालीले बताइन् । उनले ठेकदार तथा स्थानीयले ज्यालामा बिभेद गर्दै आएको बताइन् ।

आफूले धेरै स्थानमा मजदुरी गर्दा समान ज्यालाको कुरा उठाए पनि कसैले मतलव नगरेको रोकाको गुनासो छ । उनले महिला र पुरुषमा दैनिक ज्यालामा दुई सयदेखि तीन सयसम्म फरक हुने गरेको बताइन् । पुरुषले मजदुरी गरेबापत दैनिक सात सय ज्याला पाए पनि आफूहरूले पाँच सय ५० मात्र पाउने गरेको गुनासो गरिन् । ‘असमान ज्यालाका कारण मर्कामा पर्दै आएका छौं,’ उनले भनिन्, ‘काम एउटै भएपनि ज्याला फरक हुँदा हाम्रो श्रमको सम्मान भएन ।’ उनले ठेकेदारले काममा बढी दवाव महिलालाई नै दिने गरेपनि पारिश्रमिक कम दिने गरेको बताइन् ।

खलंगामा मजदुरी गर्दै आएकी दीपा विकले समान ज्याला दिने भनेर सुरुमा काममा लगाए पनि ज्याला दिने बेलामा विभेद गर्ने गरेको बताइन् । उनले ज्याला कम हुँदा घर खर्च चलाउन मुस्किल भएको दु:खेसो पोखिन् । श्रमको सम्मान गर्न नसकेका कारण आफूहरू अन्य कामकाजमा जस्तै ज्यालामा समेत पछि परेको हिवल्चाकी निर्मला विकले बताइन् । काम गर्ने क्रममा पुरुषले भन्दा महिलाले बढी दु:ख पाउने उनको दाबी छ । विकास निर्माणका काममा ५० प्रतिशत सहभागिता अनिवार्य भनिए पनि महिलाहरू सधैं मारमा परेको उनको गुनासो छ ।

महिला अधिकारकर्मी सोभित बस्नेतले आफूहरूले समान ज्यालाबारे आवाज उठाउँदै आएको बताइन् । कुनै काम गर्नुअघि पहिले दररेट तोकिने भएकाले महिलालाई समस्या आएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २०, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?