१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मदिराले महिला हिंसा

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका ४ का ३० वर्षीय केशबहादुर विकले पत्नी शारदालाई विभिन्न आरोप लगाई कुटपिट गरे । विगतमा पनि उनले मदिरा सेवन गरी पत्नीलाई यातना दिने गरेका थिए । विगतमा कुटपिटको घटना लुकाउँदै आए पनि थामिनसक्नुभएपछि उनले दुई दिनअघि पतिविरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

मदिराले महिला हिंसा

त्रिवेणी ५, सल्लेखोलाका शेरबहादुर विकले ‘कान्छी’ ल्याएपछि जेठी पत्नी कमला र छोराछोरीलाई हेर्न छाडे । पालनपोषणका लागि आग्रह गर्दा पनि सहयोगको सट्टा उल्टै दुव्र्यवहार गरे ।

पतिको गलत नियतका कारण पीडित कमलाले बुधबार इलाका प्रहरी कार्यालयमा पालनपोषणको माग गर्दै उजुरी दिएकी छन् । यी दुई प्रतिनिधिमूलक घटना हुन् । जिल्लाका अधिकांश महिला घरेलु तथा सामाजिक हिंसाबाट पीडित हुँदै आएका छन् । विगतमा हिंसा लुकाएर बस्न बाध्य यहाँका महिला न्यायको खोजीमा छन् । उनीहरू पतिबाट मात्र नभई सासूससुरा र समाजबाट समेत पीडित हुँदै आएका छन् । अन्तरजातीय विवाह गरेकी शारदा नगरपालिका–८, मार्के, सिमखर्ककी निन्याउरी विकले १५ वर्षदेखि घरेलु हिंसाबाट पीडित भएको बताइन् ।

अन्तरजातीय विवाह गरेको भन्दै सासूससुराले घरभित्र पस्न नदिई कुटपिट गरी निकालेको र पतिले पनि छाडेर गएपछि उनी अहिले बिचल्लीमा छिन् । घर छिर्न नपाएपछि उनी अहिले सिमखर्कनजिकै सडकमा छाप्रो बनाएर बस्दै आएकी छन् । ‘सँगै जिउने–मर्ने कसम खाएर ल्याएका थिए, तर बाबुआमाको दबाबमा अलपत्र पारे,’ उनले भनिन् ।

सम्बन्धित निकायमा बारम्बार उजुरी गर्दा पनि न्याय नपाएको उनको गुनासो छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी भरतबहादुर विकले महिलामा सचेतना अभिवृद्धिसँगै घरेलु हिंसाका उजुरी आउने क्रम पनि बढेको बताए । ८० प्रतिशत महिला हिंसा मदिरा सेवनका कारण भएको उनको भनाइ छ । ‘मदिरा सेवन गरी घर जान्छन्, सामान्य विवादमा पत्नी कुट्छन्,’ उनले भने, ‘जिल्लामा सानै उमेरमा विवाह गर्ने, केही वर्ष नबित्दै सम्बन्ध बिग्रिँदा अर्को विवाह गर्ने, त्यही क्रममा जेठीलाई कुटपिट तथा दुव्र्यवहार गर्ने, मतलब नगर्ने समस्या बढी देखिएको छ ।’ यसलाई रोक्न अहिले मदिरा नियन्त्रण अभियान थालेको उनले बताए ।

चेतना अभावले महिला हिंसा नरोकिएको महिला विकासकी कर्मचारी रुक्मिना बस्नेतले बताइन् । पीडितलाई मौखिक रूपमा मेलमिलाप गर्न सहयोग गर्ने र अहिले गाउँपालिका, नगरपालिकामा पठाउने गरेकाले कार्यालयमा खासै तथ्यांक नरहेको उनको भनाइ छ ।

महिला अधिकारकर्मी शोभिता बस्नेतले महिला हिंसा विगतभन्दा धेरै बढेको र नियम–कानुनबारे थाहा पाएपछि न्यायका लागि आउने गरेको बताइन् । उनका अनुसार घरमा सामान्य झगडा भए पनि महिला कानुनी उपचारका लागि आउने गरेका छन् । ‘महिला हिंसाले अहिले विकृतिको रूप लिँदै गएको छ,’ उनले भनिन्, ‘सामान्य झगडालाई घरमै मिलाउन सकिने भए पनि ठूलो रूप लिई सम्बन्ध विच्छेद गर्न पछि पर्दैनन् ।’

हिंसा नियन्त्रणका लागि विगतमा विभिन्न प्रचारप्रसारका काम गर्दै आए पनि यसपालि नगर तथा गाउँपालिकाले बजेट नछुट्याएका कारण कार्यक्रम गर्न नसकेको र सरोकारवालासँग समन्वय नहुँदा जटिल रूप लिएको उनको भनाइ छ । जिल्ला अदालतमा वर्षभरि आउने मुद्दामध्ये ५० प्रतिशत महिला हिंसाका कारण सम्बन्ध विच्छेदको हुने गरेको स्रेस्तेदार गणेशकुमार गौतमले बताए ।

प्रकाशित : वैशाख २२, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?