कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाठेघर खस्ने समस्या बढ्दै

भीमबहादुर सिंह

जाजरकोट — ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढ्दै गएको छ । समस्या न्यूनीकरणका लागि जाजरकोट अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ शिविर सुरु गरिएको छ । कर्णाली विज्ञान प्रतिष्ठान र आईएनएफ सुर्खेतको आयोजनामा शिविर आयोजना गरिएको हो ।

पाठेघर खस्ने समस्या बढ्दै

शिविरमा पाठेघर खसेका महिलाको नि:शुल्क अप्रेसनलगायत सेवा सञ्चालन हुनेछन् । शिविरको पहिलो दिन आइतबार दुई महिलाको आङ खसेको शल्यक्रिया भएको डा. अमिन शाहले बताए । जिल्लामा पाठेघर खस्ने समस्याबाट पीडित महिलाको संख्या बढी नै रहेकाले उक्त विशेषज्ञ शिविरको आयोजना भएको उनले बताए ।

महिलाहरू अप्रेसन तथा चेकजाँचका लागि शिविरमा आउने क्रम जारी रहेको डा. शाहको भनाइ छ । ‘पति तथा सासू/ससुराको हिंसा, घरयासी कामको बोझ, गर्भपती समयमा गह्रौ भारी बोक्ने, कुपोषण, कम उमेरमै बिहे गर्ने, धेरै सन्तान जन्माउनुलगायतका कारण पाठेघर खस्ने समस्याबाट पीडित महिलाको संख्या बढी छ,’ उनले भने, ‘पीडित महिलाहरू पति र सासू–ससुराको डरले तथा छिमेकीको लाजले आङ खस्ने समस्यालाई लुकाएर बस्दै आएको पाइएका छ । जिल्लामा प्रजनन् उमेरका ५० प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट पीडित भएका अनुमान छ ।’

लाज र अवहेलना, कतिलाई पतिले दोस्रो बिहे गर्ने त्रास, घरायसी कामको चाप, चेतनाको कमी, बच्चाको स्याहार सुसारमा समस्यालगायतले महिलाले पाठेघरको समस्या लुकाउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । महिलाले भन्न नमान्दा ठोस तथ्यांक सार्वजनिक हुन नसकेको डा. शाहले जनाए । जिल्लाभर झन्डै ४० हजार प्रजनन् उमेरका महिला छन् । बर्सनि पाँच हजारभन्दा बढीले सन्तान जन्माउने गरेका छन् । जिल्लामा १५ देखि ८० वर्षसम्मका महिला पाठेघर खस्ने समस्याबाट पीडित बनेको डा. शाहको भनाइ छ । विभिन्न संघसंस्थाको सहयोगमा जिल्लाका एक हजार महिलाको पाठेघरको अप्रेसन भएको र ४ सयले रिङ प्रेसरी राखेको शाहले बताए ।

कर्णाली विज्ञान प्रतिष्ठानले स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र स्वास्थ्य अनुसन्धानको कार्य गर्दै आएको रेक्टर डा. धर्मराज श्रेष्ठले बताए । स्वास्थ्य सेवा कार्यअन्तर्गत जाजरकोटमा विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरेको डा. श्रेष्ठको भनाइ छ । शिविरमा पाठेघर खसेका महिलाका लागि नि:शुल्क अप्रेसनलगायत सेवा सञ्चालन गरिएको छ । उनका अनुसार प्रतिष्ठानले जाजरकोट अस्पतालमा नियमित विशेषज्ञ सेवा सञ्चालनका लागि स्त्रीरोग विशेषज्ञलाई काजमा खटाउँदै आएको छ । शिविरमा रेक्टर श्रेष्ठ, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमख विर्षबहादुर शाही, दुई जना विशेषज्ञ चिकित्कसकसहित दर्जन स्वास्थ्यकर्मीको सहभागिता छ ।

प्रकाशित : वैशाख २४, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?