कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठ हजारको स्वास्थ्य बिमा

हरि गौतम

रुकुम पश्चिम — जिल्लाका आठ हजार तीन सय ८३ जनाले स्वास्थ्य बिमा गरेका छन् । ६ स्थानीय तहका एक हजार आठ सय ७३ घरधुरीका आठ हजार तीन सय ८३ जनाले स्वास्थ्य बिमा गरेका हुन् । स्वास्थ्य बिमा बोर्डका अनुसार सबैभन्दा बढी चौरजहारी नगरपालिकावासीले स्वास्थ्य बिमा गरेका छन् ।

आठ हजारको स्वास्थ्य बिमा

आठ सय ९४ घरधुरीका चार हजार दुई सय २७ जनाले स्वास्थ्य बिमा गरे । १४ वडाको चौरजहारीको एउटा वडामा संकलन भएको विवरण जिल्ला सम्म आइपुगेको छैन । सानीभेरी गाउँपालिकाका २ सय ४७ घरका एक हजार दुई सय ३७ जनाले स्वास्थ्य बिमा गरेका छन् । सानीभेरीबाट पनि एउटा वडाको विवरण प्राप्त हुन बाँकी छ । मुसिकोट नगरपालिकाका तीन सय एक घरधुरीका आठ सय ७६ जना, बाँफिकोट गाउँपालिकाका एक सय ६० घरधुरीका सात सय ६७ जनाले स्वास्थ्य बिमा गरेका छन् ।


यसैगरी त्रिवेणी गाउँपालिकाका एक सय ५६ घरधुरीका ६ सय ९९ र आठबीसकोट नगरपालिकाका एक सय १५ घरधुरीका पाँच सय २७ जनाले स्वास्थ्य बिमा गरेका छन् । आठबीसकोट नगरपालिकामा रहेका १४ मध्ये ७ वडाको विवरण संकलन भैरहेको स्वास्थ्य बिमा बोर्ड रुकुमका संयोजक भरत खड्काले बताए । मुसिकोट नगरपालिकाको २, त्रिवेणी गाउँपालिकाको एउटा वडाको विवरण पनि संकलन भैसकेको छैन । रुकुम (पश्चिम) का ७३ वडामध्ये १२ वडाको विवरण संकलन हुन बाँकी छ ।


बिमा बोर्डले साविकको रुकुम अर्थात् रुकुम (पश्चिम) र पूर्वलाई एउटै जिल्ला मानेर काम गरिरहेको छ । रुकुम पूर्वमा पनि स्वाथ्य बिमा गर्ने काम जारी रहेको संयोजक खड्काले बताए । सिस्ने, भुमे र पुथाउत्तरगंगा गाउँपालिकाका सबै वडामा स्वास्थ्य बिमाको काम धमाधम भैरहेको भनाइ उनको छ । ३१ वडा रहेको रुकुम पूर्वको सबै विवरण केही दिनमा संकलन भैसक्ने जनाइएको छ ।


गत चैत १ गतेदेखि दुवै जिल्लामा स्वास्थ्य बिमा गराउन सुरु गरिएको थियो । दुवै जिल्लामा नि:शुल्क पनि स्वास्थ्य बिमा भैरहेको छ । अति गरिब घर परिवारको स्वास्थ्य बिमा नि:शुल्क बनाइदिने व्यवस्था छ । सरकारको नीतिअनुसार नै अति गरिब घर परिवार र तिनका सदस्यको स्वास्थ्य बिमा नि:शुल्क भैरहेको छ । डेढ महिनाको अवधिमा स्वास्थ्य बिमा गरेकाहरूको तथ्याङ्कलाई आधार मान्दा सन्तोषजनक तरिकाले स्वास्थ्य बिमा भैरहेको भनाइ संयोजक खड्काको छ ।


‘सुरुको चरणमा हो, मानिसहरूले सजिलै बुझ्दैनन्, सम्झाउनुपर्छ तैपनि यो अवस्थालाई सन्तोषजनक मान्न सकिन्छ,’ संयोजक खड्काले भने । स्वास्थ्य बिमा धमाधम भैरहे पनि उपचारको समस्या हुन्छ कि भन्ने अवस्था आएको उनले बताए । स्वास्थ्य बिमाको उपचार गर्ने कतिपय अस्पतालमा डाक्टर नियमित नहुने तथा औषधि पनि पर्याप्त नपाइने हुनाले बिमितको उपचारमा कठिनाइ हुन्छ कि भन्ने भैरहेको उनको भनाइ छ । ‘यस विषयमा मैले केन्द्रमा पनि जानकारी गराइसकेको छु,’ खड्काले भने, ‘सधैं डाक्टरहरू नबस्ने र औषधि पनि नपाइएपछि बिमितले दु:ख पाउँछन् कि भन्ने हो ।’


घरमै भत्ता
सल्यान– शारदा नगरपालिकाले स्थानीयका घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । सुरक्षा भत्ताका लागि घण्टौं हिँडेर सदरमुकाममा आउनुपर्ने र सास्ती भोग्नुपर्ने गुनासो आएपछि घरमै गएर वितरण थालेको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले पछि पनि घरमै गएर सुरक्षा भत्ता वितरण गर्ने जनाएको छ । शारदा–१० जलुकेकी ७५ वर्षीया आइती कुँवरले घरमै सुरक्षा भत्ता पाएपछि चार घण्टा सदरमुकाम आउन नपरेको बताइन् । उनले घरमै सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिक र शारिरीक अशक्तता भएका व्यक्तिले अनावश्यक सास्तीबाट मुक्ति पाएको बताइन् ।


नगर प्रमुख सुरेश अधिकारीले वडा नंं १२ की ९१ वर्षीया चन्द्रा बुढालाई पहिलोपल्ट घरमै गएर सुरक्षा भत्ता उपलब्ध गराएर कार्यक्रमको सुरुआत गरे । ज्येष्ठ नागरिकका नाममा बैंकमा खाता खोलिए पनि आफूले प्रयोग गर्न नपाउने स्थिति आएपछि घरमै गएर रकम वितरण गरिएको अधिकारीले जानकारी दिए । ‘घरमै गएर भत्ताबापतको रकम सम्बन्धित व्यक्तिकै हातमा दिन थालिएको छ,’ उनले भने, ‘समयमै भत्ताको रकम उपलब्ध गराउने योजनालाई पनि अगाडि सारिएको छ ।’


विगतमा सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएकाले बंैकमा खाता खोल्ने व्यवस्था गरिए पनि प्रभावकारी हुन नसकेको उनको भनाइ छ । सदरमुकाममै घण्टौं हिँडेर आउनुपर्ने र बैंकमा लाइन लाग्नुपर्ने भएपछि ज्येष्ठ नागरिक र अपांगलाई समस्या भएको उनले बताए । ‘भत्ताका लागि सदरमुकाम गैरहनुपर्ने बाध्यता थियो,’ स्थानीय ज्येष्ठ नागरिक चन्द्रा बुढाले भनिन्, ‘चौमासिक रूपमा दिइँदै आएको भत्तालाई मासिक बनाए झन् सजिलो हुन्थ्यो ।’ उनले यसअघि तीन घण्टा हिँडेर सदरमुकाम जानुपर्ने समस्या थियो ।


बाग्चौरका रेशमबहादुर नेपालीले घरमै सुरक्षा भत्ता पाउँदा खुसी लागेको बताए । उनले सुरक्षा भत्ता बढाइए जीविकोपार्जनमा सजिलो हुने बताए । ‘सरकारले उपलब्ध गराउँदै आएको विभिन्न सेवा अझैसम्म सुलभ हुन सकेका छैनन्,’ उनले भने, ‘त्यसतर्फसमेत स्थानीय सरकारको ध्यान जान जरुरी छ ।’

प्रकाशित : वैशाख २६, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?