कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

योजना बनाउँदै गाउँपालिका

एलपी देवकोटा

जुम्ला — तिला गाउँपालिकाले पाँच वर्षका लागि दीर्घकालीन योजनाको मस्यौदा तयार गरेको छ । गाउँपालिकाले कार्यपालिका सदस्य, गाउँसभा सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विषयगत कार्यालयका प्रमुख तथा विज्ञको भेलाले पञ्चवर्षीय आवधिक योजनाको मस्यौदा तयार गरेको हो ।

योजना बनाउँदै गाउँपालिका

गाउँपालिकालाई समृद्ध बनाउने गरी २०८० सालसम्मको दीर्घकालीन योजना बनाउन थालेको हो । ‘समृद्ध, सम्पन्नता, सुन्दरभूमि तिला, जैविक कृषि पर्यटन र पूर्वाधारको आधारशिला’ दीर्घकालीन दृष्टिकोणको नारासहित योजना तयार गर्न थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले भूगोल, जनसंख्या र सम्भावनालाई अधिकतम उपयोग गर्दै प्राकृतिक स्रोत, भौतिक पूर्वाधार र कृषि उत्पादनमा नमुना बनाउने योजना अघि सारेको छ ।


गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले समृद्धिका लागि सरकोकारवालाको धारणा समेटेर योजना बनाइएको बताइन् । उनका अनुसार विभिन्न क्षेत्रगत विकास तथा परिवर्तनलाई योजनामा समाबेश गरिएको छ ।


गाउँपालिकाले तयार गरेको मस्यौदा छलफल तथा सुझाव संकलनका लागि विभिन्न वडामा पठाइने अध्यक्ष रतननाथ योगीले वताए । वडा तहबाट आएको सुझावलाई समेटेर विज्ञहरूको टोलीले अन्तिम रूप दिने उनको भनाइ छ । ‘विज्ञ टोलीको सुझाव र तयार गरेको अन्तिम प्रतिवेदनका आधारमा दीर्घकालीन योजना कार्यपालिबाट पारित गरी क्रमश: कार्यान्वयनको चरणमा लगिनेछ,’ उनले भने ।


दीर्घकालीन योजना निर्माणका लागि आर्थिक विकास, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास तथा सुशासन समिति गठन गरिएको थियो । १ नम्बर वडाको रारामा दुई सय किमि क्षेत्रमा कृत्रिम पानी निकालेर ‘मिनी राराताल’ को सम्भाव्यता अध्ययन गर्ने, छाउपडीमुक्त र विभेदयुक्त गाउँपालिका बनाउने, प्रत्येक वडामा सडक विस्तार गर्नेलगायतका योजना समावेश गरिएको छ । त्यस्तै, पाँच सय व्यावसायिक उद्यमी उत्पादन गर्ने, सबै घरधुरीमा विद्युत् सुविधा पुर्‍याउने, नदै गुफा र त्रिवेणीधामको पूर्वाधार तयार गर्ने विषयलाई पनि योजनामा समेटिएको छ ।


त्यस्त,ै फापर, सिमी र आलुको पकेट क्षेत्र बनाउने, स्याउको भण्डारणका लागि सबै वडामा कोल्ड स्टोर स्थापना गर्ने, पाँच हजार हेक्टरमा घाँस उत्पादन गर्ने योजना समेटिएको गाउँपालिकाले जनाएको छ ।


टेलिफोनको पहंँुच विस्तार गर्ने, इन्टरनेट सेवा सर्वसुलभ बनाउने र एक गाउँमा एक सय घरधुरीको बस्ती विकासको अबधारणा समेत योजनामा समावेश छ । तिलाले जिल्लामै पहिलोपल्ट आवधिक दीर्घकालीन योजनाको मस्यौदा तयार पारेको हो ।

प्रकाशित : वैशाख २६, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?