३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

अनार खेतीमा आकर्षण

विप्लव महर्जन

सल्यान — सुन्तला खेतीमा रोग र कीराको संक्रमण बढ्दै गएपछि यहाँका किसान त्यसलाई छोडेर अनार खेतीतर्फ आकर्षित भएका छन् ।

अनार खेतीमा आकर्षण

जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिले यहाँका करिब ५० हेक्टर क्षेत्रफलमा अनार खेती सुरु गरिएको छ । किसानले करिब २० हजार अनारका बिरुवा लगाएको कार्यालयले जनाएको छ । शारदा नगरपालिको खलंगा, साहुटोला, पिपलनेटा मार्के, मधना, त्रिवेणी गाउँपालिकाको लुहाम, काभ्रा र बाग्चौर नगरपालिकाको कोटमौलाका किसानले सुन्तला लगाएको जग्गामा अनार खेती गर्न थालेका हुन् । शारदा नगरपालिका ३, सिरुवारका बुद्धिराज विष्टले एक दशकअघि खाद्य बाली लगाउन छाडेर १२ रोपनी जग्गामा दुई सयभन्दा बढी सुन्तलाका बिरुवा लगाएका थिए । सुन्तलाबाट वार्षिक दुई लाख आम्दानी गर्ने उनले पछिल्लो समय सुन्तलामा विभिन्न रोगका प्रकोप देखिन थालेपछि अनार खेती सुरु गरेको बताए ।

सिरुवारकै ध्रुवराज विष्टले लामो समय ६ रोपनी जग्गामा सुन्तला खेती गरे । उनले सुन्तलाबाटै सिजनमा एक लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका थिए । रोगकै कारण सुन्तला मासिएपछि दुई वर्षदेखि उनले पनि अनार खेती सुरु गरेका छन् । रोगले गर्दा सुन्तला फल्नै छाडेपछि ‘मिर्दुला’ जातको सय बोट अनार लगाएको विष्टले बताए । अनार खेतीका लागि जिल्ला कृषिले सहयोग गरिरहेको छ । उनका अनुसार विषादी प्रयोग गर्दा पनि सुन्तला खेतीको रोग दुई वर्षसम्म नियन्त्रणमा आएन । ‘रोग नलाग्दासम्म सुन्तलाबाट राम्रो आम्दानी भएको थियो । तर पछिल्लो समय सुन्तला नै सखाप भयो,’ उनले भने, ‘अनार राम्रोसँग फस्टाउदै गएकाले यसबाट पनि राम्रै आम्दानी हुने आशा पलाएको छ ।’

सुन्तला खेतीलाई आयआर्जनको माध्यम बनाउँदै आएका थापागाउँका नरेन्द्र महर्जनले पनि अहिले बारीमा तीन सय बढी अनारका बोट लगाएका छन् । यो वर्षदेखि अनारले उत्पादन दिन थालेको उनको भनाइ छ । रोगले जिल्लाभरि दुई सय हेक्टर जग्गामा लगाएका सुन्तलामा क्षति पुगेको छ । यसबाट पाँच सय बढी किसान मारमा परेको वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले बताए । ‘सिट्रस ग्रिनिङ र ह्रास रोगले गर्दा दक्षिण–पश्चिम क्षेत्रमा फैलिएका जग्गामा लगाएको सुन्तलामा ठूलो क्षति पुग्यो,’ उनले भने, ‘रोगले सुन्तला नष्ट भएका ठाउँमा किसानले अनार लगाउन थालेका छन् ।’ शारदा नगरपालिकालाई अहिले अनार उत्पादनको पकेट क्षेत्र बनाउन थालिएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २८, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?