१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तुइनमुक्त बन्दै मुगु

मुगुमा अहिलेसम्म ६१ झोलुंगे पुल निर्माण
राजबहादुर शाही

मुगु — धमाधम झोलुङ्गे पुल निर्माण हुन थालेपछि जिल्लामा तुइन हराउँदै गएका छन् । एक वर्षयता कर्णाली नदी र अन्य खोलामा एक दर्जन बढी तुइन हटेका छन् । अहिले तुइन भेटाउन मुस्किल हुन थालेको छ ।

तुइनमुक्त बन्दै मुगु

सोरु गाउँपालिकाको सुम्लीगाउँका धने भण्डारीले करिब १० वर्ष तुइनबाटै दाउरा, घाँस र चौपाया ओहोरदोहोर गराए । तुइनको दु:ख सम्भँदा अहिले पनि उनी झस्किन्छन् । तुइनबाट आउजाउ गर्दा धेरै पटक औंलामा चोट लागेको उनले सम्झिए । सुम्ली कर्णाली नदीमा पुल बनेपछि जीवनयापन सहज भएको उनको भनाइ छ । ‘साउनको भेलमा तुइन तर्दा ज्यान बच्ला भन्ने आशा नै लाग्दैनथ्यो,’ उनले भने । जताततै पुल बनेपछि तुइनको दु:ख बिर्सन थालेको रुगागाउँका राजबहादुर सेजुवालले बताए । उनले पुलले स्थानीयको जनजीवन सहज बनाउन थालेको बताए । पुलले घाँसदाउरा गर्न र पशुचौपाया चराउन सुविधा भएको उनले जनाए । कर्णालीपारिका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत पुलले सहज भएको उनको भनाइ छ ।

मुगुमा अहिलेसम्म ६१ वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमले चालु आर्थिक वर्षमा ९ वटा पुल निर्माण गर्ने जनाएको छ । कार्यालयका अनुसार सन् २०१९ सम्म २६ वटा पुल निर्माण गरी जिल्लालाई तुइनमुक्त घोषणा गर्ने लक्ष्य छ ।

ग्रामीण विकास केन्द्रका कार्यक्रम निर्देशक जर्मन नेपालीका अनुसार आधुनिक प्रविधिका ‘सस्पेन्डेट’ ३७, ‘लोकल’ ४, ‘सस्पेन्सन’ ४ र स्टिल ट्रस ५ वटा निर्माण गरिएको छ । जिल्लामा पुल निर्माणमा करिब २६ करोड बढी रकम खर्च भएको उनको भनाइ छ । एउटा पुल निर्माण गर्न ढुवानी र ज्यालासमेत करिब ३५ देखि ४५ लाख खर्च हुने उनले बताए । पुल बनेपछि ६ हजार स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको छ ।

पुल निर्माणका क्रममा करिब ४१ प्रतिशत उपेक्षित वर्ग, दलित, महिला र जनजातिले रोजगारी पाएको कार्यक्रमले जनाएको छ ।

झोलुङ्गे पुलले गर्दा जिल्लाका ७५ प्रतिशत बस्ती र समुदायको सम्बन्ध जोडिएको छ । पुलको वारिपारि होटल र पसल थालेर स्थानीयले जीविकोपार्जनमा समेत सुधार गरेको छन् । सिपघाटमा पुल बनेपछि बजार विस्तार भएको र व्यापार व्यवसाय फस्टाएको सोरु गाउँपालिकाको सिप गाउँका छक्क बिष्टले बताए । ०३५ सालमा बनेको छायानाथ रारा नगरपालिकाको भट्टेचौर झोलुङ्गे पुल जिल्लाको पहिलो हो ।

सडक सुविधा पुगेपछि पुलको लढी, स्टिल पार्टलगायत सामग्री ढुवानीमा सजिलो भएको दुर्गम क्षेत्र विकास समितिका इन्जिनियर सरोज केसीले बताए । जिल्लामा सबैभन्दा लामो १ सय ५० मिटरको पुल खत्याड गाउँपालिकाको हयाङलु गाउँमा निर्माण गरिएको छ ।

उक्त पुलले मुगु र बाजुराको सम्बन्ध जोडेको छ । मुगुमा अन्य विकासका कामभन्दा पुल निर्माणले गति लिएको र राम्रो प्रगति देखिएको जिल्ला इन्जिनियर गंगाप्रसाद महत्तोले बताए । उनका अनुसार पुल बनेपछि दुर्गम बस्ती र सदरमुकामको सम्बन्ध जोडिएको छ भने स्थानीयलाई आउजाउमा सजिलो भएको छ ।

प्रकाशित : वैशाख २८, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?