ब्याजको लोभले ठगिए महिला

विप्लव महर्जन

सल्यान — ब्याजको प्रलोभनमा यहाँका ३५ महिला ठगिएका छन् । ४ जना महिलाले बैंकभन्दा बढी ब्याज दिने भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३५ जनालाई रकम निकाल्न लगाई ठगी गरेका हुन् ।

ब्याजको लोभले ठगिए महिला

शारदा नगरपालिका–१, श्रीनगरकी तिलकुमारी रावत, निर्मला बोहरा, कविता विक र शान्ता श्रेष्ठले महिलाबाट लाखौं रकम लिएका थिए । रकम ठगी गरेका चार महिलाले पीडितलाई ऋण निकाल्नसमेत सघाएका थिए । चार महिलाले ३५ जनाबाट एक करोड बढी ठगी गरेको प्रहरीको अनुमान छ । सम्पूर्ण कागजात आफैंले बनाएर महिलाबाट उनीहरूले रकम लिएका हुन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याजभन्दा दोब्बर दिने भन्दै उनीहरूले रकम ठगी गरेका हुन् । कर्जा निकाल्दा लाग्ने रकमसमेत चारै जनाले तिरिदिएको पीडित महिलाको गुनासो छ । अहिले विभिन्न बहाना बनाउँदै आफूहरूलाई रकम फिर्ता नगरेको महिलाको गुनासो छ । पीडितले ब्याज तिर्न कठिनाइ भएको तथा दैनिकजसो घरमा झगडा हुन थालेको गुनासो गरेका छन् ।

दार्मा गाउँपालिकाको ढाकाडामकी अनिता बाँठामगरले दुई वर्षअघि श्रीनगरकी तिलकुमारी रावतलाई सात लाख ५० हजार, कविता सार्कीलाई सात लाख ५० हजार, निर्मला बोहरा र शान्ता श्रेष्ठलाई एक/एक लाख ऋण दिएकी थिइन् ।

अहिले शारदा नगरपालिकाको श्रीनगरमा बस्दै आएकी बाँठामगरले विभिन्न माइक्रोफाइनान्स र लघुवित्तबाट ऋण निकाली ब्याज पाउने आशामा उनीहरूलाई १७ लाख रुपैयाँ दिएको भए पनि अहिलेसम्म फिर्ता नपाएको बताइन् । ‘ऋण निकालिदिएपछि आफैंले ब्याज तिर्ने भनेका थिए, तर एक वर्षदेखि वास्तै गर्न छाडे,’ बाँठामगरले भनिन् ।

४५ वर्षीया समुद्री भडेलले पनि घरजग्गा धितो राखेर तीन वर्षअघि निकालेको एक लाख ५० हजार तिलकुमारी रावतलाई दिइन् । जात्राको खर्च भनेर एक महिनाको लागि लिएको कर्जा रावतले फिर्ता नगरेपछि अहिलेसम्म तिर्न नसकेको भडेलको गुनासो छ । ‘न साँवा रकम पाइयो, न त ब्याज नै,’ उनले भनिन्, ‘मजदुरी गरेर बैंकलाई ब्याज तिरिराखेकी छु ।’

जोगदेखोला घर भएकी विन्दु विकले विजय, लक्ष्मी, नेपाल लघुवित्तबाट तीन लाख रुपैयाँ निकालिन् । बैंकभन्दा बढी ब्याज पाउने आशामा तिलकुमारीलाई एक लाख ५० हजार, शान्ता श्रेष्ठलाई ९० हजार, कविता सार्कीलाई ५० हजार दिइन् । ब्याज पाउने आशामा दिएको रकम उनले पनि अहिलेसम्म उनीहरूबाट फिर्ता पाउन सकेकी छैनन् ।

किसान, मिर्मिरे, स्वदेशी, चौतारी माइक्रोफाइनान्सबाट तीन लाख ५० हजार ऋण निकाल्न लगाएर लिएको दार्मा गाउँपालिका, पुखातकी सीता कामीले बताइन् । ‘रकम ननिकाल्दासम्म साथ छाडेनन्,’ उनले भनिन्, ‘रकम हातमा परेपछि अगाडि देखिन छाडेका छन् ।’ कर्जा निकाल्दा मासिक वचत आफूले नै गरिदिने, ब्याज र किस्ता सबै तिरिदिने र थप मासिक रकम दिने भनेको पीडित महिलाको भनाइ छ । ‘विश्वासमा रकम निकालेर दिइयो, अहिले सबै रकम फस्यो,’ तीन लाख रकम ठगिएकी कमला खत्रीले भनिन्, ‘ब्याज र ऋण तिर्न नसक्दा निकै समस्या भएको छ ।’ उनले गिट्टी कुटेर ब्याज तिर्न बाध्य भएको गुनासो गरिन् ।

चार महिलाले ग्रामीण क्षेत्रमा घर भई श्रीनगर बस्दै आएका र सोझा महिलाबाट लाखौं रकम ठगेको नेकपा मालेका अध्यक्ष बलबहादुर गिरीले बताए । पीडितका विषयमा वित्तीय संस्थासँग बैठक बसेर छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले बताए । केन्द्रीय तहले निर्णय नगर्दासम्म आफूहरूले केही गर्न नसक्ने उनको भनाइ छ । उनले महिलालाई न्याय दिन पहल गर्ने सहायक प्रजिअ टण्डनले बताए ।

प्रकाशित : वैशाख २९, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?