महिलालाई पाठेघरको पीडा

पाठेघर खस्ने समस्याबाट पीडित हुने महिला ४५ प्रतिशत
पति र सासूससुराको डर तथा छिमेकीको लाजले समस्यालाई लुकाएर बस्दै आएको पाइएको छ
भीमबहादुर सिंह

जाजरकोट — जुनीचाँदे गाउँपालिका –१, काब्राकी ४० बर्षीया पानसरी रावत पाठेघर खस्ने (आङ खस्ने) समस्याबाट पीडित भएको २० वर्ष भयो । सोही गाउँपालिका–४, लुहादहकी ३९ वर्षीया सरा विष्ट १५ वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित छिन् ।

जाजरकोट अस्पतालमा सञ्चालित स्त्रीरोग विशेषज्ञ शिविरमा पाठेघर खसेको अप्रेसनपछि डिस्चार्ज भएका महिला । तस्बिर : भीमबहादुर

करिब वर्षसम्म कष्टकर जीवन बिताउन बाध्य उनीहरू दुबै नयाँ जीवन पाउन सफल भएका छन् । त्यस्तै सोही ठाउँकी लालसरा बस्नेतले १५ बर्षको पाठेघरकै पीडा विर्साउने मौका पाएकी छन् ।

यी दुई लगायत १४ महिलाले नि:शुल्क स्त्रीरोग विशेषज्ञ शिविरमा नयाँ जीवन पाउन सफल भएका हुन् । जाजरकोट अस्पतालमा २२ गतेदेखि संचालित उक्त शिविरमा ती महिलाले पाठेघर खस्ने समस्याबाट मुक्ति पाएका छन् । आठ दिनसम्म संचालन भएको शिविरमा कर्णाली विज्ञान प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. राजीव शाह लगायत चिकित्सकको टोलीले पाठेघर खस्ने महिलाको नि:शुल्क शल्यपक्रिया गरेको हो । शिविरमा दुई सय बढी महिलालाई स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान भएको छ । शिविरमा आएकामध्ये ४५ प्रतिशतलाई प्रजनन् सम्बन्धि समस्या देखा परेको डा. शाहले बताए । अधिकांशलाई पाठेघरकै समस्या देखिएको उनले बताए ।

Yamaha

पाठेघरको समस्या लिएर शिविरमा आएका यिनीहरू त उदाहरण मात्र हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जाजरकोटमा पाठेघर खस्ने समस्याबाट पीडित हुने महिला ४५ प्रतिशत छन् । यो समस्या किन र कसरी भयो ? यो रोगको उपचार हुन्छ, हुदैन ? भन्ने समेत पीडित महिलालाई जानकारी नहुँदा थप समस्या भएको डा. शाहले बताए । चार सन्तानकी पानसराले पहिलो पटक उक्त समस्याको उपचारका लागि शिविरमा आएको बताईन् । ‘पहिलो र दोस्रो सन्तान जन्माउदा थाहा नै भएन,’ उनले भनिन्, ‘पछिल्ला सन्तान जन्माउँदा थाहा त भयो तर, सबैलाई यस्तै होला भन्ने लाग्यो ।’ जिल्लामा नि:शुल्क शिविर बसेपछि उपचार गर्ने मौका पाएको उनले बताइन् । उनले १५ बर्षको उमेरमै विवाह गरेकी थिईन् । पाठेघर बाहिर निस्कने समस्याबारे घरमा पतिलाई समेत भन्न नसकेको उनले बताइन् ।

‘सानैमा विहे गरियो, सन्तान जन्माउन रोकथाम गर्ने उपायबारे थाहा नै भएन,’ उनले भनिन्, ‘ख्यालख्यालैमा चार सन्तान जन्मिए, युवा अवस्थामै पाठेघर खस्ने समस्याबाट पीडित भइयो ।’ पीडित महिला पति र सासु–ससुराको डर तथा छिमेकीको लाजले यति ठूलो समस्यालाई लुकाएर बस्दै आएको पाइएको छ । जिल्लामा प्रजनन् उमेरका ४५ प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको चिकित्सकको अनुमान छ । पीडित महिला कतिले लाज र अवहेलना होला भन्ने डरले, कतिलाई पतिले दोस्रो विहे गर्ला भन्ने डर, घरायसी काम कस्ले गर्ला भन्ने डर, चेतनाको कमी, बच्चाको स्याहारसुसार गर्न अप्ठेरो हुन्छ की भन्ने डर लगायतका कारणले समस्या लुकाउने गरेको पाईएको छ ।

विभिन्न शिविर तथा स्वास्थ्य संस्थामा उपचार गर्न आएका ४५ प्रतिशत महिलाको समस्या नै पाठेघर खस्ने भएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए । पीडित महिलाले भन्न नमान्दा ठोस तथ्यांक सार्वजनिक हुन नसकेको उनले बताए । पति तथा सासूससुराको हिंसा, घरायसी कामको बोझ, गर्भवती समयमा गह्रौं भारी बोक्ने, कुपोषण, कम उमेरमै धेरै सन्तान जन्माउनुजस्ता क्रियाकलापले महिलामा पाठेघर खस्ने समस्या बढ्ने गरेको हो ।

जिल्लाभरि झन्डै ४० हजार प्रजनन् उमेरका महिला रहेको र बर्षेनी पाँच हजार बढीले सन्तान जन्माउने गरेको उनले बताए । जिल्लामा १५ देखि ८० वर्षसम्मका महिला पाठेघर खस्ने समस्याबाट पीडित बनेको उनले बताए । विभिन्न संघसंस्थाको सहयोगमा जिल्लाका एक हजार महिलाको पाठेघरको अप्रेशन भएको र पाँच सयले रिङ प्रेसरी राखेको प्रमख नेपालीले बताए । ‘यहाँका महिलाको अवस्था भयाभह छ,’ उनले भने, ‘पीडित महिलालाई परामर्श सेवा, रिङ प्रेसरी राख्ने कार्यमा ब्यापकता ल्याउन जिल्लामै नि:शुल्क र नियमित अप्रेशनको ब्यबस्था हुनुपर्ने देखिन्छ ।’ कर्णाली विज्ञान प्रतिष्ठान, जाजरकोट अस्पताल, आईएनएफ सुर्खेत, जिल्ला स्वास्थ्य कार्यालयलगायत सहकार्यमा स्त्रीरोग विशेषज्ञ शिविर आयोजना भएको उनले बताए ।

पाठेघरपीडितको गाउँमै उपचार
सल्यान (कास) –दार्मा गाउँपालिका र ओरेक नेपालको आयोजनामा पाठेघर खसेका तथा यौन रोगको समस्या भएका महिलाका लागि दुई दिने शिविर संचालन गरिएको छ । शिविरमा तीन सय बढी महिलाले पाठेघरका समस्याको उपचार गराएका छन् ।

विवाह गरेको एक बर्षमै पाठेघरको समस्याबाट पीडित बनेकी १६ वर्षीया कमला रावतले गाउँमै उपचार गराउन पाउँदा राहत भएको बताइन् । १७ बर्षको उमेरमा बिबाह गरेकी ६४ बर्षीया पबित्रा रोकाले सानो उमेरमा गर्भवती हुनु, स्याहारसुसार नपाउनु, कडा परिश्रम गर्नु लगायतका कारण आफू लामो समयदेखि पाठेघरको समस्याबाट पीडित भएको बताइन् । आर्थिक समस्याका कारण बाहिर जान नसकेको उनको भनाइ छ । ‘गाउँमै शिविर संचालन भयो, वर्षौपछि उपचार पाए,’ उनले भनिन्,‘गाउँमा अधिकांश महिलालाई पाठेघरको समस्या भएपनि लाज र बिभिन्न डरका कारण लुकाउनुपर्ने बाध्यता छ ।’

राप्ती अञ्चल अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. बिनोद सिंहले उपचारका लागि आएका धेरै महिलामा पाठेघर खस्ने समस्या देखिएको बताए । उनका अनुसार सानै उमेरमा बिबाह गर्ने, धेरै बच्चाबच्ची जन्माउने र सुत्केरी अबस्थामा स्याहार सुसार नपाउने लगायतका कारण ग्रामीण क्षेत्रका महिलामा यो समस्या बढ्दैछ ।

उनले दुई जनाको शल्यक्रिया गर्नुपर्ने अबस्था रहेको बताए । गाउँघरमा धेरै महिला पाठेघरको समस्याबाट पीडित भएकाले शिविर संचालन गरिएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । उनका अनुसार ६ वटै वडामा शिविर संचालन गरिने गाउँपालिकाको कार्यक्रम छ ।

प्रकाशित : वैशाख ३१, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

असिनाले २ करोड ६४ लाखको क्षति

हावाहुरीसहित परेको असिनाले तरकारी, फलफूल, गहुँ र जौ बाली नष्ट
तुलाराम पाण्डे

कालिकोट — भित्र्याउने बेलाको बालीमा परेको असिनाले कालिकोटमा २ करोड ६४ लाख रुपैयाँको तरकारी, फलफूल र अन्नबाली नष्ट गरेको छ । चैत्र २७ गते बेलुकी हावाहुरीसहित परेको असिनाले तरकारी, फलफूल, गहुँ र जौ बाली नष्ट गरेको जिल्ला विपद् ब्यवस्थापन समितिले जनाएको छ ।

समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमको अध्यक्षतामा बसेको बैठकले दुई नगरसहित तीन गाउँपालिकामा दुई करोड ६४ लाख ६७ हजार तीन सय ३४ रुपैयाँको बाली असिनाका कारण क्षति भएको ठहर गरेको हो ।

खाडाचक्र र रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकामा कृषि प्राविधिकको नेतृत्वमा राजनैतिक दल र संचारकर्मीसहित खटाएर क्षतिको विवरण संकलन गरेर राहतका लागि सरकारलाई सिफारिस गरिएको सहायक प्रजिअ राजकुमार दुलालले बताए । उनका अनुसार असिनाले सबैभन्दा बढी रास्कोट नगरपालिकामा ६५ लाख ३५ हजार , खाडाचक्र नगरपालिकामा ४३ लाख ७८ हजार, नरहरिनाथ गाउँपालिकामा ३२ लाख २ हजार, शुभकालिकामा १२ लाख १२ हजार र सान्नीत्रिवेणीमा गाउँपालिकामा १ करोड ११ लाख ३९ हजारको क्षति भएको विवरण आएको छ ।

रास्कोट नगरपालिकाले सुरुमा ९ करोडको तरकारी र फलफूल, ३ करोडको खाद्य बाली गरी १२ करोडको क्षति पुर्‍याएको विवरण आएपछि निमित्त प्रजिअ दुलालको अध्यक्षतामा बसेको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले क्षति एकिन गर्न ३ सदस्यीय टोली असिना प्रभावित क्षेत्रमा खटाएको थियो ।

विवरणअनुसार ५८ लाख ४७ हजार मूल्यको तरकारी, ६६ लाख ९को फलफूल, १ करोड ३० लाखको गहुँ र ३५ लाख १२ हजार रुपैयाँको जौ बाली नष्ट भएको छ । काट्ने बेलाको बाली असिनाले नष्ट गरेपछि किसानलाई छाक टार्न समस्या भएको खाडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘सिँचाई नहुने ठाउँको जमिन बाझै थियो,’ पाण्डेले भने, ‘बाली लगाएको ठाउँमा पनि किसानले भित्र्याउन पाएनन् ।’ उनले खाडाचm २, ३, ११ र ४ नं वडामा असिनाले बढी क्षति गरेको बताए ।

गत वर्ष १२ बोरा गहु उत्पादन गरेका खाडाचक्र ३ का कृषक मणिराम पाण्डेले असिनाले बाली नष्ट गरेपछि दुई बोरा पनि उत्पादन नभएको गुनासो पोखे । ‘वर्षभरी खाने अन्न एक घण्टाको असिनाले सोपेर (सोहोरेर) लग्यो,’ उनले भने, ‘खेतबारीमा दु:ख गरेको पनि खेरै गयो ।’

चैत १७ गते आएको असिनाले केही बाली झारेपनि २७ गतेकोले केही नराखेर पुरै नष्ट गरेको वडाध्यक्ष महावीर पाण्डेले बताए । उनका अनुसार ३ नंं वडाका तीन सय घरधुरीका सबैजसो कृषकले गहुँ, जौ र तरकारी बाली भित्र्याउन पाएनन् । असिनाले खाडाचक्रका वडा नं ३ ताडी, वडानं ११ बरातुु, बदालकोट र जिम्जेडी, वडा नं ४ दलित टोल, वडा नं १ र २ मान्म र पोरीपाल्न्नी, कालिका १ मा पर्ने छाती, नरहरिनाथका कोटवाडा, कुमालगाउ, रुप्सा लालु र माल्कोटका केही वडा, सान्नीत्रिवेणी गाउपालिकाका केही वडा, रास्कोट नगरपालिकाको केही वडामा परेको असिनाले पाकेको गहु, जौ, मसुरो र तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पाकेर भित्र्याउने बेलाको गहुँ र जौ बाली
पुरै सखाप भएकोले कृषकमा भोकमरीको चिन्ता छ । ‘बाली लगाउने बेला पनि पानी परेन,’ खाडाचक्र ३ की मेनकाकुमारी पाण्डे चौलागाईंले भनिन्, ‘खानेपानीको पाइपले दु:ख गरेर गहु छर्‍यौ । काट्ने बेला सबै असिनाले झार्‍यो ।’

कृषकले लगाएको फर्सी, गोलभेंडा, सिमी पनि पुरै असिनाले नष्ट गरेको छ ।

प्रकाशित : वैशाख ३१, २०७५ ११:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT