कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘सुरक्षित सुर्खेत’ कार्ययोजना सार्वजनिक

नौवटै स्थानीय तहका टोलटोलमा प्रहरी

सुर्खेत — जिल्ला प्रहरीले ‘सुरक्षित सुर्खेत’ बनाउने लक्ष्यसहित आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरसहित समग्र जिल्लालाई पूर्ण रूपमा सुरक्षित बनाउने लक्ष्यसहित प्रहरीले वार्षिक रणनीतिक कार्ययोजना बनाएको हो ।

‘सुरक्षित सुर्खेत’ कार्ययोजना सार्वजनिक

जिल्ला प्रहरीले घरेलु हिंसा, सामाजिक अपराध, बालविवाह, लागूऔषध दुव्र्यसनी, सवारी दुर्घटनालगायतलाई मुख्य सुरक्षा चुनौतीको रूपमा लिएको छ ।

कार्ययोजनामा प्रहरीले जनचेतना अभिवृद्धि गर्नेदेखि टोलटोलमा प्रहरी परिचालन, घरदैलो अभियान सञ्चालन गर्नेसम्मका कार्यक्रम राखिएको छ । नौवटै स्थानीय तहका टोलटोलमा प्रहरी पुग्नेछ । टोलटोलमा प्रहरी परिचालन गरी त्यहाँका आपराधिक समस्या पहिचान गरिने कार्ययोजनामा उल्लेख छ ।

जिल्ला प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले सुरक्षा प्रभावकारी बनाउन नागरिक र जनप्रतिनिधिसँग सहकार्य गर्ने बताए । स्थानीय स्तरमा हुने अपराध न्यूनीकरणबिना सुरक्षित जिल्ला बनाउन नसकिने भन्दै उनले जनचेतनामूलक कार्यक्रमसँगै विशेष प्रहरी टोली परिचालन गर्ने योजना सुनाए । स्थानीयलाई शान्ति सुरक्षामा प्रत्यक्ष सहभागी गराउन टोल सुरक्षा समिति गठन गरिनेछ ।

स्थानीय तह, महिला सञ्जाल तथा युवा क्लबहरूको समन्वयमा प्रत्येक स्थानीय तहमा सात जनाको सुरक्षा समूह गठन गर्ने प्रहरी योजना छ । ‘साउन महिनासम्म वडादेखि टोलस्तरसम्म सुरक्षा समूह गठन गर्छौं,’ एसपी चतुर्वेदीले भने, ‘ती समूहले टोल, वडा र तहको सुरक्षा अवस्था, आगामी रणनीति तथा अनुसन्धान र मेलमिलापमा समेत मद्दत गर्नेछन् ।’ जिल्लामा लागूऔषध दुव्र्यसनी बढदै गएकाले न्यूनीकरणमा चुनौती थपिएको प्रहरीको भनाइ छ । युवाहरूलाई लागूऔषध दुव्र्यसनीबाट बचाउन तीव्र अनुसन्धान तथा नियन्त्रणमा प्रहरीसँग समन्वय गराउन विद्यालय, युवा समूह र स्थानीय तहसँग सहकार्य गरिनेछ ।

त्यस्तै, सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने लक्ष्य छ । प्रहरीले आपराधिक क्रियाकलापका बारेमा गोप्य सूचनाको समेत अपेक्षा गरेको छ । स्थानीय तहमा रहेका प्रहरी पोस्ट, एकाइहरूमा समेत जनशक्ति व्यवस्थापन गर्ने योजना छ । ‘नगरपालिका र गाउँपालिकामा जनशक्ति परिचालन गर्ने, इलाका प्रहरी कार्यालयमा जनशक्ति वृद्धि गरिनेछ,’ एसपी चतुर्वेदीले भने ।

प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सुर्खेतलाई सुरक्षित जिल्ला बनाउन नागरिक समाजको सहयोग अपरिहार्य रहेको उल्लेख गरे । आपराधिक गतिविधि समाजमै हुने भएकाले नागरिकहरू नै सचेत भएर सुरक्षित समाज निर्माणमा अग्रसर हुनुपर्ने बताए । उनले प्रहरी–नागरिक मिलेर सुरक्षित सुर्खेत बनाउने अभियान सफल पार्न आग्रह गरे ।

प्रकाशित : जेष्ठ १, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?