कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

लिफ्ट प्रविधि मार्फत खानेपानी

हरि गौतम

रुकुम (पश्चिम) — चौरजहारी नगरपालिका–११, नेप्टेकाँडा गाउँमा ७ सय ८० मिटर तलको ठूलाखोला घारीटाकुरा मुहानबाट लिफ्ट प्रविधि मार्फत खानेपानी तानिएको छ । लिफ्टबाट २ सय ९१ भर्टिकलमा पानी तानिएको हो । नेप्टेकाँडाका ५२ घरधुरीमा चौबीसै घण्टा खानेपानी सुविधा पुगेको छ ।

लिफ्ट प्रविधि मार्फत खानेपानी

६२ वर्षीया पवित्री ओलीलाई तीनदेखि घर छाड्नुपरेको छैन । त्यसअघिको बाध्यात्मक दैनिकीबाट ओली अलग्गिएकी छन् । दैनिक कार्य सूचीमध्येको हरेक दिन बिहान साढे २ घण्टा हिँडेर पिठ्युँमा खानेपानी पानी बोक्नुपर्ने काम टाढा भएपछि उनले घर छाड्नु नपरेको हो ।

सोही ठाउँका ६७ वर्षीय नन्दराम ओलीले पनि दैनिक पिठ्युँमा पानी बोक्नुपर्ने सूची हटाइसकेका छन् । घरदेखि झन्डै एक किमि ओरालो झरेर पानी बोकेर ल्याउनुपर्ने बाध्यता टाढा भएपछि उनलाई सुखको महसुस भएको छ । नयाँ प्रविधिले नेप्टेकाँडामा खुसी ल्याइदिएको छ । ‘परापूर्वकालदेखि बोकेरै पानी खायौं, बोकेरै बस्तुभाउलाई खुवायौं,’ ओलीले भनिन्, ‘अब भने गाउँमै पानी आयो खुसीको सीमै छैन ।’

बाजेबराजुको पालादेखि नै तलबाट पानी बोकेरै ल्याउने गरेको उनको भनाइ छ । मान्छेले पिउनेदेखि गाईभैंसीका लागि पनि पिठ्युँमै बोकेर खुवाउने गरेका थिए नेप्टेकाँडावासीले । ‘हाम्रै पालामा यस्तो हुन्छ भन्ने सोचेकै थिएन, तलबाट माथितिर पानी आउने रै’छ,’ नन्दरामले भने, ‘हामी र हाम्रा छोरासम्मले पानीकै लागि ठूलो दु:ख पायौं, नातिपनातिका पालादेखि सजिलो हुने भयो ।’

हरेक वर्षका ८ महिना नेप्टेकाँडावासीका लागि आधा दिन पानी भर्नमै जान्थे । साउनदेखि असोजसम्म गाउँमै पानी पाइने भए पनि काक्तिकदेखि असार मसान्तसम्म भने उनीहरूले पिठ्युँमै पानी बोकेर आफू तथा बस्तुभाउलाई खुवाउने, लत्ताकपडा धुने, नुहाउने गर्नुपथ्र्यो । गाउँभन्दा माथि पानीको मुहान नभएकै कारण नेप्टेकाँडावासीले हरेक वर्ष दु:ख पाउँदै आए । पछिल्लो समय प्रयोग बढदै गएको लिफ्ट प्रविधिले अब नेप्टेकाँडामा बाह्रै महिना पानी आइरहने बनाएको छ ।

४० लाखभन्दा बढीमा गाउँमा पानी पुगेको ठूलाखोला घारीटाकुरा खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष बिर्खबहादुर ओलीले बताए । उनका अनुसार ३५ लाखमा लिफ्टका लागि आवश्यक सामग्री मात्रै खरिद गरिएकाले श्रमदान, पानी ट्यांकी निर्माण, सामग्री तथा बालुवा, गिट्टी ढुवानी सबै गरेर ४० लाख रुपैयाँभन्दा बढी नै खच भएको छ । एक घण्टा ओरालो हिँडेर गाग्रीमा पानी भरी उकालोमा डेढ घण्टा हिँड्नुपर्ने बाध्यता हटेकामा धेरै खुसी मिलेको भनाइ उनको छ ।

प्रकाशित : जेष्ठ १, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?