‘रानीखेत’को प्रकोपले हजारौं कुखुरा मरे

भीमबहादुर सिंह

जाजरकोट — रानीखेत रोगको प्रकोपका कारण स्थानीय किसानका हजारौं कुखुरा मरेका छन् । पशु सेवा कार्यालयमा भ्याक्सिन अभाव हुँदा रोगले धमाधम कुखुरा मरेपछि किसान मर्कामा परेका छन् । 

‘रानीखेत’को प्रकोपले हजारौं कुखुरा मरे

रोगका कारण एउटै किसानका ३ सय सम्म कुखुरा मरेका छन् । अण्डा दिने तथा हुर्केका २ सय लेस तथा स्थानीय जातका कुखुरा मरेपछि एकैपटक २ लाखको क्षति भएको स्थानीय किसान हरिबहादुर शाहीले बताए । यति ठुलो संख्यामा कुखुरा मर्दा समेत जिल्ला पशु सेवा कार्यालय वेखबर भएको उनले बताए । रोगको प्रकोपले भेरी नगरपालिकाको खलंगा, पिपे, स्याँला, रिसाङ्ग, बोहरा, इउरी, रावतगाँउ, कालेगाँउ, कुशेगाँउपालिकाको ढीमे दम्दाला, पैंक र नलगाड नगरपालिकाको कालीमाठी, दल्ली, खगेनकोट लगायत स्थानमा कुखुरा धामाधम मरेको शाहीले बताए ।


कुखुरामा सेतो तथा पातलो दिशा गर्ने र झोक्राउने लक्षण देखा परेको ५/७ घण्टामै मर्ने गरेको उनले बताए ।


रोग नियन्त्रणका लागि लाखोटा, एफ वान, आइटु लगायत भ्याक्सन अभाव हुदा कुखुरा मरेको डा ऋषीराम सापकोटाले बताए । जिल्लाभर उक्त भ्याक्सिन उपलब्ध हुन नसकेको डा. सापकोटाले बताए । जाजरकोटमा संचालित एग्रोभेटले पनि रानीखेत रोग बिरुद्धको भ्याक्सिन आपुर्ती नगर्ने हुदाँ समस्या भएको हो ।


पशु सेवा कार्यालयमा उक्त भ्याक्सिन खरीदका लागि बजेट अभाव रहेको उनले बताए । स्थानीय तहले कुखुरामा फैलिने रोग नियन्त्रणको लागि पहल नगरेको उनको भनाई छ । पछिल्लो समय जाजरकोटमा कुखुरा पालन ब्यवसाय फष्टाउदै गएको छ । खलंगामा मात्र साना ठुला गरी झण्डै २ सय कुखुरा पालन फर्म संचालनमा रहेको डा. सापकोटाले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?