कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘खेताला’ लगाएर परीक्षा

दोषीमाथि अदालतमा मुद्दा दर्ता
पक्राउ परे खेताला विद्यार्थी
६ महिनासम्म कैद र एक लाखसम्म जरिवाना हुन सक्ने
विदेशमा रहेकाले पनि खेताला लगाए
परीक्षाको निरीक्षण र अनुगमनमा लापरबाही
भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिका ४ का प्रकाश बोहरा जिल्ला अदालत जाजरकोटको तारेखमा छन् । सोही ठाउँकी निरुता बोहरा, खग्रेन्द्र बस्नेत, कुशे गाउँपालिका ७ की सिर्जना सिंह, शिवालय गाउँपालिकाका ७ का सन्देश विसी र गरीमा थापा तारेखमै छन् ।

‘खेताला’ लगाएर परीक्षा

त्यस्तै, बैजनाथ गाउँपालिका ८, बाँकेकी अनिता शाही र कृष्णकुमारी थापालाई पनि अदालतले तारेखमा राखेको छ । उनीहरू सबैलाई सट्टामा परीक्षा दिएको र दिन लगाएको अभियोगमा अदालतमा
मुद्दा दर्ता भएको हो ।

चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षामा प्रकाशले स्वास्थ्य तथा जनसंख्या शिक्षा विषयमा खग्रेन्द्रको खेताला परीक्षार्थी बन्दा पक्राउ परेका थिए । सट्टा परीक्षार्थी प्रकाश अमर ज्योति मावि नेवारे, सुर्खेतमा १२ कक्षामा अध्ययनरत विद्यार्थी हुन् ।

सोही विषयमा कल्पनाको सट्टा परीक्षा दिने निरुता र कुशे ३ की निर्मला नेपालीको सट्टा परीक्षा दिने सिर्जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । निरुता र सिर्जना त्रिभुवन मावि खलंगाका १२ कक्षाका विद्यार्थी हुन् । सट्टा परीक्षा दिन लगाउने बस्नेतद्वय सरस्वती मावि सिलिङचौर र नेपाली भगवती मावि अर्छानीका एक्जाम्टेट समूहका परीक्षार्थी हुन् । उनीहरूलाई प्रहरीले शिव व्यावसायिक माध्यमिक विद्यालय कालेगाउँ परीक्षा केन्द्रबाट नियन्त्रण लिएको थियो ।

बिसी सोही ठाउँकी गरिमा थापाको सट्टा गणित विषयको परीक्षा दिँदा पक्राउ परेका थिए । सट्टा परीक्षा दिने बिसी वीरेन्द्र मावि जुगाथापाचौरका १२ कक्षामा अध्ययनरत विद्यार्थी र थापा खड्गदेवी मावि शिवालयकी परीक्षार्थी हुन् ।

उनीहरू मावि जुगाथापाचौर परीक्षा केन्द्रबाट प्रहरीको नियन्त्रणमा परे । त्यस्तै, सब ओभरसियर पढ्दै गरेकी शाहीले कक्षा १२ को अनिवार्य अंग्रेजी विषयको वार्षिक परीक्षा कृष्णको सट्टा दिँदा प्रहरी नियन्त्रणमा जानुपर्‍यो । प्रहरीले सट्ट परीक्षार्थी शाही र दिन लगाउने कृष्णलाई त्रिभुवन मावि खलंगा केन्द्रबाट नियन्त्रणमा लिएको हो । अर्काको तर्फबाट परीक्षा दिने परीक्षार्थी र परीक्षा दिन लगाउनेलाई शिक्षा ऐनअनुसार सजायको माग दाबीसहित अदालतमा अभियोग दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए ।

शिक्षा ऐन २०२८ को दफा १७ (क) बमोजिम अर्काको तर्फबाट परीक्षा दिएको तथा दिन लगाउनेलाई ६ महिनासम्म कैद र एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान भएको आचार्यले बताए ।

उनीहरू प्रतिनिधि पात्र मात्र हुन् । जिल्लामा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा, ११ र १२ कक्षाको वार्षिक परीक्षामा खेताला परीक्षार्थीको बिगबिगी हुने गरेको छ । जिल्लाका अधिकांश परीक्षा केन्द्रमा दर्जनौं खेताला परीक्षार्थी फेला पारेका छन् । विदेशमा रहेकाले समेत खेताला लगाएर माध्यमिक तथा ११/१२ कक्षाको परीक्षा उत्तीर्ण गर्ने प्रचलन बढेको स्थानीय डम्बर सिंहले बताए । यस वर्ष दुवै परीक्षामा फेला परेका दर्जनौं खेतालामध्ये १०/११ जनालाई मात्र मुद्दा लगाइएको उनले बताए ।

यो पनि पहिलोपटक भएको उनको भनाइ छ । सट्टा लेख्ने तथा लेखाउने अधिकांशलाई केन्द्राध्यक्ष लगायतको मिलोमतोमा मुद्दा नलगाई गुपचुप पारिएको सिंहले बताए । २० माध्यमिक शिक्षा परीक्षा केन्द्र र ९ वटा राष्ट्रिय परीक्षा वोर्डका केन्द्रमा खेताला परीक्षार्थीको बिगबिगी भएको सिंहले जनाए ।

सम्बन्धित विद्यालयका प्रधानाध्यापक, अन्य शिक्षक, परीक्षार्थी, केन्द्राध्यक्ष लगायत पक्षको मिलोमतोमा खेताला परीथार्थी राख्ने कार्य हुने गरेको नागरिक समाजका अध्यक्ष केशवजंग शाहले बताए ।

परीक्षा आवेदन फारम भर्दा नै वास्तविक परीक्षार्थीको फोटो नराखेर खेतालाको फोटो राखेर प्रवेशपत्र बनाउने गरेको उनले जनाए । कतिले प्रवेशपत्र हराएको भन्दै खेतालाको फोटो टाँसेर अर्को बनाई परीक्षा दिन लगाएको उनको भनाइ छ ।

‘रजिस्ट्रेसन हुँदा एकको फोटो परीक्षा आवेदन भर्दा र दिंदा अर्कैको फोटो टाँस्ने अनि परीक्षा दिने,’ उनले भने, ‘कतिले त अर्कैको प्रवेशपत्रबाट पनि जाँच दिएको खुल्न आएको छ ।’ राष्ट्रिय परीक्षा बोर्डलगायत निकायको चरम लापरबाहीका कारण विभिन्न परीक्षामा खेतालाको बिगबिगी हुने गरेको शाहले जनाए । उनका अनुसार नियमित अनुगमन तथा निरीक्षण नहुँदा विकृति फैलिएको हो । ‘एकजना केन्द्राध्यक्षको भरमा सञ्चालन भएको परीक्षा कसरी मर्यादित हुन्छ ?,’ उनले भने, ‘राष्ट्रिय स्तरका परीक्षामा नियमन र निरीक्षण तथा अनुगमनको अभाव रहेको छ ।’

प्रकाशित : जेष्ठ ४, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?