कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्णालीमा लगानी भित्र्याउन प्रदेश सरकारको आग्रह

प्रकाश अधिकारी

सुर्खेत — मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजी क्षेत्रको सहयोग बिना कर्णाली प्रदेशको विकास असम्भव रहेको बताएका छन् ।

कर्णालीमा लगानी भित्र्याउन प्रदेश सरकारको आग्रह

कर्णाली चेम्बर अफ कमर्स र सुर्खेत चेम्बर अफ कमर्सको शनिबार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीको विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।


चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारको प्राथमिकता सार्वजनिक भईसकेको भन्दै मुख्यमन्त्री शाहीले कर्णालीमा लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह गरे ।


भौगोलिक विकटताले विकास गर्न गाह्रो भएपनि सबैले यहाँका प्रचुर सम्भावनालाई सदुपयोग गर्न सक्नुपर्ने बताए । ‘सानोतिनो लगानीले कर्णालीको विकास सम्भव छैन्, उनले भने, ‘हामीलाई अन्य प्रदेशभन्दा बढी बजेट त चाहियो नै, अधिकार पनि बढी नै चाहियो ।’


मुख्यमन्त्री शाहीले जडीबुटी, जलस्रोत, पर्यटन र खनिज पदार्थलाई सुदपयोग गर्न प्रदेश सरकारले आवश्यक कानुन तुर्जमा गर्न लागिरहेको जानकारी दिए । ‘भौगोलिक विकटतासँगै प्राकृतिक सुन्दरतालाई बेच्न सकियो भनेपनि कर्णाली सम्बृद्धिमा एउटा इट्टा थपिन सक्छ,’ उनले भने, ‘प्रदेश सरकार योजना बनाउँदैछ, हाम्रो योजनामा तपाईंहरु (निजी क्षेत्र) ले साथ दिनुहोस् ।’ आवश्यक परे लगानीकर्तालाई कर ‘फ्रि’ गर्न समेत सरकार तयार रहेको बताए ।


आर्थिक मामिला तथा कानुन मन्त्री प्रकाश ज्वालाले नेपाल चेम्बर अफ कमर्समा आबद्ध व्यवसायीलाई कर्णालीमा लगानी गर्न आह्वान गरे । ‘तपाईँहरुको लगानी डुब्दैन भन्नेमा ढुक्क हुनुहोस्,’ उनले भने, ‘सबैभन्दा बढी सुरक्षित प्रदेश यही छ, हुनेछ । त्यसैले यहाँको जलस्रोत, पर्यटन, खनिज र जडीबुटीको क्षेत्रमा लगानी गर्नुस् । राम्रै प्रतिफल पाउनुहुन्छ ।’


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले कर्णाली प्रदेश सरकारसँग आफूहरु हातेमालो गर्न तयार रहेको बताए । उनले चेम्बरको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन समेत माग गरे ।


मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगर–६ स्थित चेम्बर अफ कर्मशको सुर्खेत जिल्ला र कर्णाली प्रदेशको कार्यालय उद्घाटन गरेका थिए ।

प्रकाशित : जेष्ठ ५, २०७५ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?