८५ लाख राजस्व संकलन

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाले १० महिनाको अवधिमा ८५ लाख बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष साउन महिनादेखि गत चैतसम्म नगरपालिकाले विभिन्न शीर्षकमा गरी ८५ लाख २२ हजार तीन सय सात रुपैयाँ संकलन गरेको छ ।

८५ लाख राजस्व संकलन

निर्वाचित भएको एक वर्षपछि नगरपालिकाले एक वर्षभरि गरेको कार्यहरूको समीक्षा प्रतिवेदनमा संकलन भएको राजस्वका बारेमा उल्लेख छ । नगर प्रमुख गोर्खबहादुर केसीले वडा, कर संकलन केन्द्र र नगरपालिकाबाट कर संकलन भएको बताए । उनका अनुसार नगरपालिकाका ९ शीर्षकबाट ४१ लाख ७९ हजार २ सय, १४ वडाबाट ३६ लाख ४१ हजार ५ सय ४४ र कर संकलन केन्द्रबाट सात लाख एक हजार ५ सय ६३ रुपैयाँ राजस्व संकलन भएको छ । आठबीसकोट नगरपालिका पछिल्लो पटक बनेको नयाँ नगरपालिका हो ।

नगरपालिकाले वडा कार्यालयबाट मालपोत, एकीकृत सम्पत्ति, सेवा शुल्क, व्यवसाय दर्ता, दण्ड जरिवाना, जडीबुटी, जीवजन्तु कर, मिलापत्र दस्तु र पञ्जीकरण शुल्क लिने गरेको छ । यस्तै, नगरपालिकाका झारमारे, घारीखोला, छेपारे, त्रिवेणी र सिमबजारमा स्थापना गरिएका कर संकलन केन्द्रबाट पनि नगरपालिकाले कर संकलन गरेको छ । निर्वाचित जनप्रतिनिधि आएलगत्तै नगरपालिकाले कर संकलक नियुक्त गरेर कर संकलन केन्द्र स्थापना गरेको थियो । यस्तै, नगरपालिका कार्यालय अन्तर्गत परीक्षा, शुल्क, बिड बिक्री, प्रशासनिक दण्ड, सेवा शुल्क, व्यवसाय दर्ता, प्राविधिक फाँट, शिक्षा शुल्क र यातायातबाट कर संकलन भएको छ ।

वडा कार्यालय, कर संकलन केन्द्र र नगरपालिकाका २१ शीर्षकमा सबैभन्दा बढी कर मालपोतबाट उठेको छ । १७ लाख रुपैयाँ १४ वडाबाट मालपोत करबापत जम्मा भएको भएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले एक करोड दुई लाख राजस्व संकलन गर्ने लक्ष्य किटान गरेको छ । आर्थिक वर्षका ३ महिना बाँकी रहेकाले लक्ष्य अनुसार नै राजस्व संकलन हुने विश्वासमा नगरपालिका छ । ‘हामीले लक्ष किटान गरेअनुसार नै राजस्व संकलन हुन्छ भन्नेमा हामी ढुक्क छौं,’ नगर प्रमुख केसीले भने, ‘हाम्रो राजस्व संकलनको दर आर्थिक वर्ष सकिने समय नजिकिँदै जाँदा बढेको पनि छ ।’ आठबीसकोट नगरपालिकाले एकीकृत सम्पत्ति कर पनि संकलन गरेको छ ।

कर्णाली प्रदेशमा नयाँ बनेको नगरपालिकामा एकीकृत सम्पत्तीकरण संकलन गर्ने आठबीसकोट नगरपालिका पहिलो र एक मात्रै नगरपालिका भएको दाबी नगर प्रमुख केसीले गरे । नगरपालिकाले एकीकृत सम्पत्ति कर बापत १० लाख ५६ हजार ८ सय ३ रुपैयाँ संकलन गरेको छ । एकीकृत सम्पत्ति कर संकलनको सुरुवातमा ठूलो चुनौतीका बीच सुरु गरिएको उनले बताए । ‘कर्णाली प्रदेशमा बनेका सबै नयाँ नगरमध्ये हामीले मात्रै एकीकृत सम्पत्ति कर लिइरहेका छौं, सरकारले आगामी वर्षदेखि सबैलाई अनिवार्य एकीकृत सम्पत्तीकरण संकलन गर्न भनेको छ तर हामीले सुरुवात गरिसकेका छौं,’ प्रमुख केसीले भने ।आठबीसकोट नगरपालिकाका जनप्रतिनधिहरूले २०७४ वैशाखको ५ गते जनप्रतिनिधिको हैसियतमा शपथग्रहण गरेका थिए । सोही दिनको अवसर पारी नगर प्रमुख केसीले एक वर्षको अवधिमा
आठबीसकोट नगरपालिकाकाले गरेको कामको समीक्षा प्रतिवेदन सार्वजनिक गरेका हुन् । निर्वाचित भएको भएको आर्थिक वर्षका २ महिना बाँकी भएकाले उक्त आर्थिक वर्षमा पनि नगरपालिकाभरका खोला खहरेमा, ३१ वटा काठे पुल निर्माण र १४ वटा वडाको कम्प्युटर सहितको व्यवस्थापन गरिएको उनले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?